+
+
Shares

गृहमन्त्रीलाई भेटेर राप्रपाले माग्यो दुर्गा प्रसाईंको रिहा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १७:१३

५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विनासर्त अविलम्व रिहा गर्न माग गरेको छ ।

पार्टीको प्रतिनिधिमण्डलले मंगलवार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर रिहाको माग गरेको हो ।

कार्यसम्पादन समितिका सदस्य निरञ्जन थापाले प्रसाईंको पक्राउ संविधानसम्मत नभएको भन्दै विनाशर्त रिहा गर्न अनुरोध गरेको जानकारी दिए । उनका अनुसार नेताहरू गृहमन्त्री अर्याललाई मौलिक हकको प्रयोग गरेकै आधारमा पक्राउ गरी नजरबन्दमा राख्नु उचित नहुने धारणा राखेका थिए ।

‘गृहमन्त्रीज्यूलाई भेट्न हामी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एउटा प्रतिनिधिमण्डल हामी आएका थियौँ । दुर्गा प्रसाईंजीलाई नजरबन्दमा राख्ने जुन काम भएको छ त्यो नेपालको संविधानसम्मत छैन, मौलिक हकको प्रयोग गर्दाखेरी यसरी जेलमै बस्नुपर्ने कुरा उचित होइन भनेर भन्यौं,’ उनले भने ।

जवाफमा गृहमन्त्री अर्यालले प्रसाईंविरुद्ध प्रहरी अदालत गइसकेको उल्लेख गर्दै अदालतबाटै मुद्दाको टुङ्गो लाग्ने बताएको थापाले जानकारी दिए ।

‘उहाँले निर्वाचन आयोगको आग्रहअनुसार उहाँलाई प्रक्राउ गरिएको भन्दै अदालतबाटै टुंगोमा पुगिने जवाफ दिनुभयो,’ उनले भने ।

निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा गत माघ १९ गते प्रसाईंलाई पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशन अनुरुप माघ २५ मा हाजिरी जमानीमा छुटेका थिए । निर्वाचन आयोगका पत्रका आधारमा पक्राउ परेका प्रसाईंमाथि चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?