News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप तथा इनोभेसन फोरम बैठकले नीतिगत सुधार र लगानीमैत्री वातावरण आवश्यक रहेको बताएको छ।
- महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति र वित्तीय पहुँच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ नहुने उल्लेख गरे।
- फोरम सभापति जुना माथेमाले उद्यमी–लगानीकर्ता प्ल्याटफर्म सुदृढ गर्दै जानुपर्ने र साझेदारी विस्तार आवश्यक रहेको जानकारी दिइन्।
५ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरम बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
बैठकले नेपालमा स्टार्टअप तथा इनोभेसन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकास कार्यक्रम प्राथमिकतामा राख्दै सहकार्य तीव्र बनाउनुपर्नेमा जोड दिएको छ ।
बैठकमा महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति तथा वित्तीय पहुँच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ हुन नसक्ने बताए ।
निजी क्षेत्र–सरकार सहकार्य बढाउनुपर्नेमा उनको जोड छ । उनले स्टार्टअपलाई बजार पहुँच, मेन्टरसिप र नियामकीय स्पष्टता उपलब्ध गराउन महासंघ सक्रिय रहने जानकारी दिए ।
उनले नवप्रवर्तनशील उद्यमका लागि तालिम, प्राविधिक सहयोग र इन्क्युबेसन सेवा अझ प्रभावकारी बनाइँदै लैजानुपर्नेमा जोड दिए ।
उपाध्यक्ष हेमराज ढकालले स्टार्टअप तथा इनोभेसन उद्यमलाई प्रोत्साहन गर्न कर तथा लगानी सम्बन्धी नीतिगत सहजीकरण आवश्यक रहेको उल्लेख गरे ।
उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला तथा युवा उद्यमशीलतालाई स्टार्टअप नीतिको केन्द्रमा राख्नुपर्ने बताउँदै समावेशी उद्यम वातावरण निर्माणका लागि क्षमता अभिवृद्धि र नेटवर्किङ कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखिन् ।
कोषाध्यक्ष भरतराज आचार्यले महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमलाई कमिटीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार गुप्ताले स्टार्टअप तथा इनोभेसन क्षेत्रमा नीतिगत सुधार भएको उल्लेख गरे ।
उद्यम विकासका सरकारी कार्यक्रम निजी क्षेत्रको सहकार्यमा अगाडि बढाइने उनले बताए । फोरम सभापति जुना माथेमाले फोरमका गतिविधि, साझेदारी विस्तार, स्टार्टअप शोकेस तथा नीतिगत संवाद कार्यक्रमबारे जानकारी दिँदै आगामी दिनमा उद्यमी–लगानीकर्ता प्ल्याटफर्म सुदृढ गर्दै जानुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया 4