६ फागुन, मुस्ताङ । मुस्ताङमा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी चहलपहल सुरु भएको छ । बेसी झरेका मतदाता निर्वाचनका लागि फर्किन थालेपछि मुस्ताङमा चुनावी चहलपहल बढ्न थालेको हो ।
केहीदिन अघिसम्म जाडो छल्न मतदाता बेसी झरेकाले उम्मेदवार पनि मतदाता रिझाउन बेसीमै व्यस्त थिए । चुनाव नजिकिँदै गएपछि मतदाता लेक उक्लिनथालेपछि उनीहरूसँगै उम्मेदवार पनि लेक आउन थालेका छन् ।
बेसी झरेका कतिपयले बेसीमै घुम्ती व्यापार सञ्चालन गर्छन् । माथिल्लो मुस्ताङका दुई स्थानीय तहका ८० प्रतिशत बढी मतदाता बेसी झरेका थिए । तल्लो मुस्ताङका पनि ५० प्रतिशत बढी मतदाता बेसी झरेका थिए ।
जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समितिलगायतले निर्वाचन तयारीलाई तीव्रता दिइरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । निर्वाचन तयारीका लागि हालसम्म पाँच वटै स्थानीय तहका मतदानस्थलमध्ये ९० प्रतिशत मतदानस्थलको स्थलगत अवलोकन गरिसकेको उनले बताए ।
‘मौसमले साथ दिएमा निर्वाचन सम्पन्न गराउन केही अप्ठ्यारो पर्दैन, मौसम प्रतिकूल भएमा आयोगको निर्देशन अनुसार काम गर्छौँ,’ उनले भने ।
निर्वाचनका लागि जिल्ला सुरक्षा योजना तयार भइसकेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन् । उनका अनुसार निर्वाचन सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालित भइसकेका छन् ।
२३५ नेपाल प्रहरी र २६६ निर्वाचन प्रहरी गरी ५०१ सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । सशस्त्र प्रहरीले सशस्त्र र निर्वाचन प्रहरी गरी २०० बढी सुरक्षाकर्मी खटाएको छ । निर्वाचनका लागि यहाँका ३९ मतदानस्थलमा २४० जना कर्मचारी र ८६ जना स्वंयसेविक खटाइने जनाइएको छ । –रासस
प्रतिक्रिया 4