७ फागुन, काठमाडौं । नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न पहिलो आमनिर्वाचनको स्मरणमा आज निर्वाचन दिवस मनाइँदै छ ।
वि.सं. २०१५ साल फागुन ७ गते सुरु भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको उक्त निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको ऐतिहासिक थालनीका रूपमा लिइन्छ ।
यसै अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभकामना सन्देश जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान मिति आउन १४ दिन मात्र बाँकी रहेका बेला निर्वाचन दिवस मनाउन पाउनु विशेष अर्थपूर्ण भएको उल्लेख गरेका छन् ।
आवधिक निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाको अनिवार्य र स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले मताधिकारमार्फत व्यक्त हुने जनअभिमतले शासन प्रणालीलाई पुनर्ताजगी दिने र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हुने बताएका छन् ।
‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनले जेनजी विद्रोहपछिको असहज अवस्थालाई लोकतान्त्रिक प्रक्रियामार्फत सही मार्गमा ल्याउने उनले विश्वास व्यक्त गरे ।
भण्डारीले निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै निर्वाचन प्रक्रियामा सहभागी सबै पक्षलाई कानूनबमोजिम निर्वाध रूपमा क्रियाशील हुन आह्वान गरेका छन् । सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई निर्वाचन प्रक्रियामा अवरोधबिनै सहभागी हुने अधिकार रहेको उल्लेख गर्दै यसमा कुनै पनि प्रकारको बाधा पुर्याउन नहुने स्पष्ट पारे ।
प्रमुख निर्वाचन आयुक्त भण्डारीले राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्र रूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र मतदातालाई सुरक्षित वातावरणमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सहभागी हुने वातावरण बनाउन सबै सरोकारवालासँग अपिल समेत गरेका छन् ।
प्रतिक्रिया 4