७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षक–प्रध्यापकलाई राजनीति गर्नबाट पूर्णरुपमा निषेध गर्ने बाचा गरेको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ को बाचा पात्र सार्वजनिक गर्दै रास्वपाले विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गर्ने बाचा गरेको हो ।
‘विश्वविद्यालय र विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गर्नेछौं । शिक्षक तथा प्राध्यापकहरूको राजनीतिक आबद्धतालाई पूर्णतः निषेध गर्नेछौँ,’ बाचापत्रमा भनिएको छ ।
शैक्षिक संस्थाभित्र दलगत राजनीतिक कार्यक्रम पूर्ण रूपमा निषेध गर्ने बाचा रास्वपाले गरेको छ । ‘विद्यार्थी सङ्गठनमार्फत हुने अराजकता, तोडफोड, जबरजस्ती बन्द र शैक्षिक वातावरणमा अवरोध सृजना गर्ने गतिविधिलाई नियन्त्रण गर्न शैक्षिक संस्थाभित्र दलगत राजनीतिक कार्यक्रम पूर्ण रूपमा निषेध गर्नेछौं,’ बाचा पत्रमा उल्लेख गरिएको छ ।
विद्यार्थीको विचार अभिव्यक्ति, नेतृत्व विकास र रचनात्मक सहभागितालाई प्रोत्साहन गर्न गैर–दलीय, प्राज्ञिक विद्यार्थी प्रतिनिधित्व प्रणाली विकास गर्ने घोषणा रास्वपाले गरेको छ ।
सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रतिस्पर्धात्मक क्षमतामा आमूल सुधार ल्याउन आगामी दुई दशकसम्म उल्लेख्य लगानी थप्दै गुणस्तर वृद्धि गर्ने उल्लेख रास्वपाले गरेको छ ।
रास्वपाले निजी क्षेत्रले दिँदै आएको शिक्षालाई सार्वजनिक शिक्षाको पहुँच र गुणस्तरको परिपूरकका रूपमा स्वीकार गर्ने भएको छ ।
‘निजी शैक्षिक संस्थाहरूको शुल्क संरचना, सेवा मापदण्ड, शिक्षक योग्यता, पूर्वाधार र शैक्षिक परिणामको आधारमा नियमन तथा अनुगमन प्रणाली सुदृढ गर्नेछौं,’ बाचा पत्रमा भनिएको छ, ‘शिक्षालाई नाफामुखी भन्दा सेवामुखी क्षेत्रका रूपमा व्यवस्थित गर्दै समान अवसर, पारदर्शिता र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्नेछौं ।’
नमुना समावेशी विद्यालय बनाउने घोषणा रास्वपाले गरेको छ । ‘बालबालिकाको ‘सिक्न पाउने अधिकार’ लाई अक्षुण्ण राख्न हरेक प्रदेशमा कम्तीमा एक अत्याधुनिक नमुना समावेशी विद्यालय स्थापना गर्दै देशभरका सबै विद्यालयलाई क्रमशः पूर्णतः पहुँचयुक्त र समावेशी बनाउनेछौं,’ रास्वाले बाचा गरेको छ ।
अटिजम र न्युरोडाइभर्सिटी लगायत अपाङ्ता भएका बालबालिकाका लागि अत्यावश्यक अकुपेसनल, स्पिच र बिहेवियरल थेरापी जस्ता ‘होलिस्टिक सेवा’ विद्यालय हाताभित्रै प्रदान गर्ने घोषणा रास्वपाले गरेको छ ।
शिक्षकहरूलाई विशेष सिकाइ आवश्यकता पहिचान र शिक्षणका लागि उच्चस्तरीय तालिम, अभिभावक सहायता कार्यक्रम सञ्चालन गर्ने बाचा गरेको छ ।
शिक्षकलाई शिक्षाको मेरुदण्डका रूपमा स्वीकार गर्दै योग्यता, क्षमता, निरन्तर पेशागत विकास र स्पष्ट जवाफदेहितामा आधारित प्रणाली लागू गर्ने बाचा गरेको छ ।
प्राज्ञिक नियुक्तिहरू तथा शिक्षक छनोट, पदोन्नति र मूल्याङ्कन प्रक्रिया पारदर्शी र मेरिट–आधारित बनाउने घोषणा गरेको छ ।
मौलिक सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न ’गुरु-चेला’ परम्परामा आधारित विशेष छात्रवृत्ति र तालिम कार्यक्रममार्फत सांस्कृतिक पुनर्जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
उच्च शिक्षालाई प्रतिस्पर्धी, अनुसन्धानमुखी बनाउने घोषणा गरेको छ । नेपाली विद्यार्थी उच्च शिक्षाको खोजीमा विदेश गइरहेकाले रोक्नका लागि नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षा हब बनाउन सकिने उल्लेख गरेको छ ।
विदेशी डिग्री कार्यक्रमहरू सञ्चालन गर्न सरल बनाउने, विदेशी अध्यापक र विद्यार्थीहरूका लागि भिसा उपलब्ध गराउने बाचा रास्वपाले गरेको छ ।
प्रतिक्रिया 4