+
+
Shares
सर्लाही–४ :

भूगोल बदलेका गगन र दल फेरेका अमरेशले कसरी माग्दैछन् मत ?

काठमाडौँको विरासत छाडेर सर्लाही–४ पुगेका कांग्रेस सभापति गगन थापालाई दल फेरेर रास्वपा पुगेका निवर्तमान सांसद अमरेशकुमार सिंहले चुनौती दिइरहेका छन्। गगन ‘एक वर्षभित्रै परिणाम दिने’ भन्दै मधेशको विश्वास जित्ने दाउमा रहँदा अमरेश भने ‘बालेन र घन्टी’ को लहरमा आफूलाई उभ्याउँदै ‘लोकल कार्ड’ फालिरहेका छन्। सर्लाही–४ को स्थलगत रिपोर्ट:

दुर्गा खनाल कृष्ण ज्ञवाली शैलेन्द्र महतो दुर्गा खनाल, कृष्ण ज्ञवाली, शैलेन्द्र महतो
२०८२ फागुन ९ गते २१:०२

९ फागुन, मलङ्गवा (सर्लाही) । सदरमुकाम मलङ्गवाबाट झन्डै १५ किलोमिटर दक्षिण भगवतीपुरबाट केही भित्र हिँडेपछि एउटा बस्ती आउँछ । स–साना एकतले बस्तीको भित्रैसम्मको गल्लीमा ढलान गरिएको बाटो छ । वरपर गुजमुज्ज बस्ती छ ।

त्यहीँको एक घरमा रातो टीका लगाएका एक दर्जन कार्यकर्ताहरू थिए । बाँकी अरू बस्तीका स्थानीयहरूसँग बसेर सर्लाही–४ का कांग्रेस उम्मेदवार गगन थापा एक पाका व्यक्तिको कुरा सुन्दै थिए । ती वृद्धले बस्तीका समस्याहरू सुनाइरहेका थिए ।

वृद्धको कुरा सुनिसकेपछि थापाले भने, ‘सर्लाही–४ र अरू मधेशका ३२ निर्वाचन क्षेत्र सुधारको जिम्मा लिन म यहाँ आएको हुँ । यो मेरो खुला चुनौती भयो- एक वर्षभित्रमा पनि यो क्षेत्रमा केही सुधार्न सकिनँ भने तपाईंहरूको प्रश्नको सामना गर्न पनि तयार छु । यहाँ काम गर्न सकिनँ भने राजनीतिक जीवनमा पनि मैले ठूलो मूल्य चुकाउनुपर्छ भन्ने थाहा छ ।’

छेवैमा रहेका ती प्रौढले तत्काल उनको त्यो अभिव्यक्तिलाई मैथिली भाषामा उल्था गरिदिए । अनि प्रश्न गरेका मतदाताले थापाको हात समाए, नमस्ते गरे । केही बेरको कुराकानीपछि कांग्रेस सभापति थापा त्यहाँबाट बिदा हुन लागे । वरपर कार्यकर्ताहरूले नारा लगाउन थाले, ‘नेपाली कांग्रेस– जिन्दावाद। अबकी बार– गगन सरकार ।’

०००

भवानीपुरको दक्षिण–पूर्वमा गगनले भोट मागिरहँदा त्यसको केही किलोमिटर पर हरकटवामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह घरदैलो गरिरहेका थिए ।

त्यहाँ उनी एकजना शुभचिन्तकको घरमा पुगे । मत मागे, अनि कार्यकर्ताहरूले हातमा बोकेको घन्टी बजाए। सिंहले कार्यकर्ताको हातमा बजिरहेको घन्टी देखाउँदै भने, ‘ठीक छ नि, बुझ्नुभो ?’

केही बेरमा घरबाट एक युवती आइन् । सिंहसँग मोबाइल नम्बर मागिन् । केही बेर कुराकानी गरिन्, अनि उनको मोबाइलमा ‘मिस्ड कल’ दिइन् र सेल्फी खिचिन् । उम्मेदवार सिंह छेवैको अर्को घरमा जानै लाग्दा कार्यकर्ताहरूले जोडजोडले नारा लगाए, ‘अबकी बार, बालेन सरकार । चुपचाप– घन्टी छाप । हरहर घन्टी– घरघर घन्टी ।’

यो क्षेत्रमा गगन र अमरेश मात्र होइन, मुख्य रूपमा अरू दुई उम्मेदवारहरूको पनि चर्चा छ– जसपा नेपालका रामेश्वर राय यादव र एमालेका अमनिशकुमार यादव ।

नेपाल कम्युनिस्ट पार्टीबाट जसपा नेपालमा प्रवेश गरेर उम्मेदवार बनेका रामेश्वर राय पनि गाउँबस्तीहरूमा भोट मागिरहेका छन् । उनको मुद्दा छ– मधेशको प्रतिनिधित्व मधेशकै जनताले गर्नुपर्छ ।

एमालेका अमनिशकुमार यादवको कथा भने भिन्न छ। त्यो कथामा पुग्नुअघि यो ठाउँको चुनावी इतिहास केलाउनुपर्छ ।

प्रचारका आ–आफ्नै शैली

तीन पटकसम्म निर्वाचित भएको ठाउँ काठमाडौँ–४ छाडेर नेपाली कांग्रेसका सभापति गगन थापा मधेश झरेर उम्मेदवारी दिएको ठाउँ हो– सर्लाही–४ । जहाँ, लगातार तीन पटक नै निर्वाचित अमरेशकुमार सिंह उम्मेदवार छन् ।

दुई पटक नेपाली कांग्रेसबाट निर्वाचित सिंहले अघिल्लो पटक भने कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर नै निर्वाचन जितेका थिए । त्यसबेला उनले कांग्रेसले टिकट नदिएकोले स्वतन्त्र उम्मेदवारी दिएको तर चुनाव जितेपछि कांग्रेस नै हुने हो भन्दै मत मागेका थिए । तर यसपटकको चुनावमा उनी कांग्रेसतिर आएनन् । उम्मेदवारी मनोनयनको केही दिनअघि मात्रै रास्वपामा प्रवेश गरेर सर्लाही–४ बाट उम्मेदवार बने ।

एक त, कांग्रेस सभापतिले उम्मेदवारी दिएको ठाउँ, अर्कोतर्फ रास्वपा उम्मेदवार सिंह प्रतिस्पर्धी भएकाले सर्लाही–४ लाई मतदातालाई मात्रै होइन, मुलुकभर नै चासो छ ।

मलङ्गवा, वरपरका चोक र चियापसलहरूमा अरू ठाउँको होइन, सर्लाही–४ कै चर्चा हुने गर्छ । खासगरी कांग्रेस र रास्वपाका कार्यकर्ताहरू ‘माहोल हेरेर आऔँ’ भन्दै घरदैलो हेर्न जाने गरेका छन् ।

रास्वपा उम्मेदवार सिंहको तुलनामा थापाका शुभचिन्तक एवं कार्यकर्ताहरू अन्यत्रबाट मलङ्गवा पुगेर एक/दुई ठाउँ उनको घरदैलोलाई साथ दिएको देखिन्थ्यो । अन्यत्रको तुलनामा सर्लाही–४ मा ‘उम्मेदवार पर्यटन’ पनि फस्टाएको छ ।

दुवैजनाको मत माग्ने शैली पनि फरक–फरक छ । कांग्रेस उम्मेदवार थापाले वरपर दुई/चार घरका मतदाताहरूलाई एउटा चोकमा भेला पार्छन् । उनीहरूको आकाङ्क्षा र माग भन्न लगाउँछन् अनि सङ्क्षिप्त रूपमा आफ्नो कुरा बताउँछन् ।

गगनलाई मधेशको माटोमा आफूलाई प्रमाणित गर्ने चुनौती छ भने अमरेश सिंहलाई दल बदलेर पुरानै विरासत जोगाउनुपर्ने बाध्यता। साथमा रामेश्वर रायको ‘पहाड भर्सेस मधेश’ भाष्य र रातो पासपोर्ट काण्डमा मुछिएका शिवपुजनका छोराको ‘जेन–जी’ इन्ट्रीले सर्लाही–४ को चुनाव माहोलमा रौनक थपेको छ।

उनले सुन्ने र बोल्ने क्रममा स्थानीय शुभचिन्तक सँगै रहन्छन् र अनुवादकको काम गर्छन् । त्यसपछि मतदाताहरूसँग भेटघाट गर्ने, हात मिलाउने, सेल्फी खिच्ने काम गरेर बिदा हुन्छन् । देशका अन्य भागमा पनि प्रचारप्रसार र आमसभामा जानुपर्ने भएकाले उनले तीन/चार दिनमा सबै बस्तीहरूमा पुगेर घरदैलो सकाउने रणनीति लिएका छन् ।

‘म यहाँ आफ्नो कुरा भनिरहेको छु। अलिकति भाषाको कारणले मैले कतिपय उहाँहरूसँग संवाद गर्न केही असहज छ’, उनले अनलाइनखबरसँग भने, ‘मलाई यहाँका दिदीबहिनीहरूका कुराहरू उहाँहरूसँगै बसेर सुन्न मन छ। त्यसमा केही भाषिक समस्या चाहिँ छ।’

देशव्यापी पार्टीको चुनावी अभियानमा पनि कुनै न कुनै रूपमा जोडिनुपर्ने भएकाले क्षेत्रका प्रत्येक मतदाताकहाँ पुग्न गगनलाई केही हतारो छ। यता अमरेशकुमार सिंहलाई प्रचारप्रसारमा हतारो छैन । किनकि उनी पार्टीको मूल नेतृत्व नभएकाले आफ्नो क्षेत्रमै मतदातासँग मत मागिरहने पर्याप्त समय छ ।

उनलाई मतदाताहरूसँगको संवादमा समस्या छैन । स्थानीय भाषामा नै कुरा गर्छन् । उनको साथमा रहने रास्वपा कार्यकर्ताहरू भने केही चर्को सुनिन्छन्, देखिन्छन्। घन्टी बजाउनेदेखि नाराबाजीमा उनीहरू ज्यादा सक्रिय छन् ।

चुनावी तामझामको मामिलामा दुवै उम्मेदवार समान शैलीमा छन् । झन्डायुक्त गाडीका साथसाथै उनीहरू शुभचिन्तकहरूका करिब आधा दर्जन गाडीहरूको लस्करसँगै हुन्छन् । निर्वाचन आयोगले पर्चा–पम्प्लेट प्रयोग नगर्ने भने पनि बस्तीहरूमा पम्प्लेटहरू सबै उम्मेदवारले प्रयोग गरिरहेकै छन् । उनीहरूको घरदैलो कोणसभा र भाषणभन्दा पनि मतदाताहरूसँगको भेटघाट र छलफलमा केन्द्रित छ ।

उस्तै मनोविज्ञान

चुनावी तामझामको मामिलामा उम्मेदवारहरू उस्तै मनोविज्ञानमा छन् । एक–अर्कालाई निकटतम प्रतिस्पर्धी ठानेका उनीहरूले त्यसलाई व्यक्त गर्ने शैली भने फरक छ । शुक्रबार केही ठाउँको घरदैलो अवलोकन गर्दा थापाले स्थानीय स्तरमा सम्बोधन गर्नुपर्ने विषयवस्तु र त्यसमा आफ्नो लगावको कुरा गरे। र, उनले यदाकदा मात्रै राष्ट्रिय मुद्दा उठाए ।

रास्वपा उम्मेदवार सिंहले भने स्थानीय मुद्दा त उठाउँछन् नै, त्यसमा एउटा अर्को मुद्दा पनि थपिएको छ । त्यो हो– गगन थापाको सर्लाही आगमन ।

उनले स्पष्ट रूपमा नै काठमाडौँबाट झरेर सर्लाही–४ मा उम्मेदवारी दिने थापाको कदममाथि नै प्रश्न उठाउने गरेका छन् । र, सर्लाही–४ का लागि आफू उपयुक्त हुँ भन्न अमरेश छुटाउँदैनन् ।

घरदैलोमा कांग्रेस सभापतिले प्रधानमन्त्रीको पदमाथि आफ्नो दाबेदारीमा त्यति धेरै बोलेनन्, बरु एजेन्डाबाट त्यसको सङ्केत गरे । तर रास्वपाका सिंहले प्रधानमन्त्रीमा बालेनको दाबेदारीलाई कार्यकर्ता र चिह्नमार्फत जोडतोडका साथ मतदातामाझ प्रभाव पार्न खोजेको देखिन्थ्यो ।

गगन आउँदा रामेश्वरको के छ राय ?

यो क्षेत्रमा कांग्रेस सभापति र अमरेश सिंहको चर्चाका बीचमा जसपाका रामेश्वरराय यादव र एमालेका अमनिश यादवका पनि पर्चा–पम्प्लेट पर्याप्त छन् । उनीहरू पनि घरघर केन्द्रित अभियानमा छन्। रामेश्वर राय विगतमा मन्त्री भइसकेका व्यक्ति हुन् ।

माओवादी पार्टीमा आबद्ध रहेका उनी चुनावअघि जसपा छिरेका थिए । उनी नेकपा सर्लाही–३ मा उठ्ने तयारी गरेका थिए । तर उक्त क्षेत्रमा नेकपाले नेता नारायणकाजी श्रेष्ठलाई उठाउने निर्णय गर्‍यो ।

नेकपाका एक नेताका अनुसार, राष्ट्रिय सभामा अन्य दलसँगको गठबन्धन भएर सांसद जित्ने पक्का भएको अवस्थामा रामेश्वर रायले राष्ट्रिय सभामा जाने चाहना पार्टीभित्र राखेका थिए ।

मतदातासँग जसपाका उम्मेदवार रामेश्वरराय यादव ।

त्यसैले चुनावअघिदेखि नै नारायणकाजीले सर्लाही–३ का लागि तयारी गरेका थिए । तर राष्ट्रिय सभामा चुनावी गठबन्धन नहुने भएपछि गत निर्वाचनमा नेकपाका कोही पनि निर्वाचित हुने अवस्था रहेन ।

राष्ट्रिय सभामा जान बाटो बन्द भएपछि रामेश्वर सर्लाही–३ मै उठ्न खोजेका थिए । तर श्रेष्ठलाई दिएपछि उनले पार्टी छोड्ने निर्णय गरे र सर्लाही–४ मा उम्मेदवारी दिए ।

उनी अहिले गगन र नारायणकाजी श्रेष्ठ दुवै सर्लाही प्रवेश गरेको विषयमै प्रश्न गरिरहेका छन् ।

‘हामीले गुलामी मानसिकता छोड्नुपर्छ। गगन थापा को हो? सर्लाहीका जनतालाई झुट दिएर हुँदैन । यो क्षेत्रकै माटोमा जन्मेको प्रतिनिधित्व हुनुपर्छ’, उनले आफ्नो पेजमा राखेको एउटा अन्तर्वार्तामा भनेका छन्, ‘नारायणकाजी श्रेष्ठ वा गगन थापा पहाडका नेता पहाडमा हुनुपर्छ । हामी यहाँ हुनुपर्छ । प्रतिनिधिसभामा पनि मधेशको अनुहार देखिनुपर्छ ।’

पहाडको मान्छे पनि तराई झरेर तराईको प्रतिनिधित्व गर्छु भन्न थाल्यो भने मधेशको प्रतिनिधित्व नै घट्ने र त्यो मधेशको हितविपरीत हुने उनको धारणा छ । त्यसैले भोट माग्दा उनले यही कुराबाट मतदाता कन्भिन्स गर्न खोजेका छन्। मधेश आन्दोलनका उपलब्धिहरू जोगाउन पनि मधेशीको प्रतिनिधित्व हुनुपर्ने उनको धारणा रहने गरेको छ ।

दिदीलाई ‘डमी’ बनाएर अमनिशको नारा : अबकी बार, जेन-जी सरकार

सर्लाही–४ को भूगोलमा अर्को पनि एउटा नारा लागिरहेको छ– ‘अबकी बार, जेनजी सरकार’। यो जेनजी सरकारको नारा हो एमालेका अमनिशकुमार यादवको । उनी २७ वर्षका भए । त्यसैले सर्लाही–४ मा उनको जितको माहोल बनाउन तय गरिएको नारा हो ‘जेनजी सरकार’ ।

यस क्षेत्रमा उनको चर्चा उनको बुवा शिवपुजन राय यादवका कारण भइरहेको छ । शिवपुजनले २०६४ सालको संविधानसभा चुनाव जितेका थिए । तर उनी रातो पासपोर्ट काण्डमा मुछिए । उनी उम्मेदवारी दिन अयोग्य रहेकाले उनले आफ्ना सन्तानहरूलाई उम्मेदवार बनाउँदै आएका छन् । त्यसैले यसपटक उनले आफ्ना छोरालाई एमाले प्रवेश गराएर टिकट दिलाए । कानुनी रूपमा उम्मेदवार अमनिश भए पनि खास उम्मेदवार शिवपुजन नै हुन् ।

स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी र एमालेका अमनिशकुमार यादव । उनीहरू दिदीभाई हुन् ।

उनले आफ्नै छोरी मधुमाला कुमारीलाई अहिले पनि स्वतन्त्र उम्मेदवार बनाएका छन् । मधुमालाको उम्मेदवारी अहिले अमनिशका लागि भोट माग्न सहज बनाउनका लागि दिइएको शिवपुजनले बताउँदै आएका छन् ।

२०७९ सालको चुनावमा शिवपुजनले छोरी मधुमालालाई तत्कालीन माओवादीबाट उम्मेदवार बनाउन चाहेका थिए । तर माओवादीले मधुमालालाई टिकट दिएन। त्यसपछि मधुमालाले स्वतन्त्र उम्मेदवारी दिँदा १४ हजारभन्दा बढी मत ल्याइन् ।

त्यही मतको बलमा अहिले शिवपुजनले एमालेबाट आफ्नो छोरालाई उम्मेदवार बनाए । अहिले पनि विगतको आफ्नो भोट कायम रहेको शिवपुजनले बताउने गरेका छन् । शिवपुजनको सर्लाही–४ मा करिब १०–१२ हजार मतको भोट बैङ्क रहेको चाहिँ सर्लाहीमा भेटिएका धेरैले बताउने गर्छन् । व्यक्तिगत क्षमताकै भोट यति रहेको अवस्थामा पार्टी सङ्गठनको भोट पनि थपिँदा जित्ने दाबी गर्छन् ।

चुनावी दबङ्ग र सुरक्षा चिन्ता

सर्लाही–४ को विगतको चुनावी इतिहास राम्रो छैन । त्यसैले यो क्षेत्र अहिले पनि अत्यन्त सुरक्षा संवेदनशील क्षेत्र हो । मतदाताको मत मात्रै होइन, चुनावी दबङ्ग र बाहुबल प्रयोग हुने अत्यधिक सम्भावना भएकोले यहाँ अन्तिम समयमा कुनै त्यस्तै घटना होला कि भन्ने चासो पनि देखिन्छ । तर दक्षिणी सीमा क्षेत्रसम्मै नेपाली सेनासहितको सुरक्षा टोली चाहिँ छ ।

सुरक्षा अधिकारीहरूका अनुसार, भारतसँग सीमा जोडिएको त्यो ठाउँमा सीमापार घुसपैठको जोखिम पनि ज्यादा हुन्छ । उम्मेदवारहरू घरदैलोमा जाँदा सशस्त्रदेखि नेपाल प्रहरी र उनीहरूका ‘निर्वाचन प्रहरी’ समेत वरपर चनाखोपूर्वक नजर लगाइरहेका देखिन्थे ।

सर्लाही–४ किसानहरूको बाहुल्य रहेको क्षेत्र हो । त्यहाँका अधिकांश किसानहरूले उखु खेती लगाउँछन् र नजिकैको चिनी मिलमा बेच्छन्। त्यसबाहेक तरकारी खेती र अन्नबाली पनि त्यहाँका किसानहरूको आयस्रोतको आधार हो । सर्लाही टमाटरका लागि चर्चित छ, जहाँको उत्पादन काठमाडौँसम्म खपत हुन्छ ।

धनकौल, रामनगर, बलरा, गोडैटा गाउँपालिकाका सबै भाग त्यहाँ पर्छन् । विष्णु गाउँपालिकाको १ देखि ४ नम्बर वडा, बरहथवाको १, २, ३, ४, १३, १४, १५ अनि बसबरियाको १, २ र ३ पनि सर्लाही–४ मा पर्छ ।

एक लाख २१ हजार मतदाता रहेको यो क्षेत्रमा अघिल्लो पटक ६४ प्रतिशत भोट खसेको थियो । त्यहाँ अघिल्लो पटक अमरेशकुमार सिंहले करिब २० हजार मत ल्याउँदा कांग्रेसका नागेन्द्रकुमारले करिब १८ हजार भोट पाएका थिए ।

स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले करिब साढे १४ हजार भोट ल्याएकी थिइन्, जो पूर्वसभासद शिवपुजन यादवकी छोरी हुन् । जसपाका राकेशकुमार मिश्रले करिब ६ हजार र बहुजन एकता पार्टीका राजाराम पासवानले करिब पाँच हजार मत पाएका थिए ।

अघिल्लो पटकको समानुपातिक प्रणालीको अवस्था हेर्ने हो भने सर्लाही–४ मा कांग्रेसले सबैभन्दा बढी १६ हजार मत ल्याएको थियो । त्यसपछि जनमत पार्टीले साढे १२ हजार मत पाएर दोस्रो भएको थियो। यहाँ माओवादी र एमालेले करिब–करिब साढे ९ हजार सेरोफेरोमा मत पाएका थिए । त्यहाँ अघिल्लो पटक समानुपातिकमा रास्वपाले १२ सय भोट मात्रै पाएको थियो ।

तस्वीरहरू : कमल प्रसाईं/अनलाइनखबर

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?