+
+
Shares

प्रवासी नेपालीको अभिमत : चुनावपछि सक्षम नेतृत्व आओस्, स्वदेशमै रोजगारी मिलोस्

आसन्न निर्वाचका विषयमा केन्द्रित रहेर विभिन्न देशमा रहेका नेपालीसँग मनिषा चम्लागाईँले गरेको कुराकानी ।

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०८२ फागुन १० गते ७:१४

१० फागुन, टोकियो । योपल्टको चुनाव देशभित्र जति लागेको छ, त्यतिकै माहोल प्रवासमा पनि बनिरहेको छ । जापानका विभिन्न शहरमा बस्ने नेपालीहरुले स्वदेशमा भइरहेको चुनावी प्रचार अभियानलाई नजिकैबाट नियालेका छन् ।

आफू भोट हाल्न सहभागी हुन नपाए पनि देशको भविष्य निर्माणसँग जोडिएको चुनावमा उनीहरुले मतको साटो अभिमत जाहेर गरेका छन् ।

आगामी फागुन २१मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निर्वाचन नजिकिँदै जाँदा भोट माग्न उम्मेदवार आ-आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै प्रतिनिधिसभा भंग भएको थियो । त्यसपछि बनेको अन्तरिम सरकारले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी लिएको छ ।

यसपटकको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ । जेनजी आन्दोलनको प्रभाव, नेपाली कांग्रेसले पाएको नयाँ नेतृत्व, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह बीचको राजनीतिक समीकरणका कारण निर्वाचनलाई थप रोचक बनाएको छ ।

देशभरबाट १८ वर्ष उमेर पूरा गरेका मतदाताहरु निर्वाचन प्रक्रियामा सहभागी हुँदै आएका छन् । तर, यही उमेर समूहभित्रका लाखौं नेपाली अध्ययन, रोजगारी तथा विभिन्न सीप प्रशिक्षणका सिलसिलामा विदेशमा रहेका कारण मतदान अधिकार प्रयोग गर्नवाट वञ्चित छन् ।

मतदानबाट वञ्चित भएपनि विदेशमा रहेका नेपालीले विवेक प्रयोग गरेर निर्वाचनमा सहभागी हुन सक्ने छन् । सामाजिक सञ्जाल विदेशमा रहेका नेपालीको अभिव्यक्ति मञ्च बनेको छ । कतिपय अवस्थामा सामाजिक सञ्जालमा उनीहले व्यक्त गरेका विचारले स्वदेशमा रहेका मतदाताको निर्णयमासमेत प्रभाव पार्ने गरेको देखिन्छ ।

यो निर्वाचन केवल सत्ता हस्तान्तरणको प्रक्रिया मात्र नभई राजनीतिक स्थायित्वको रुपमा स्थापित भएको छ । जेनजी आन्दोलनमा उठेका राजनीतिक मुद्दा, सुशासनप्रतिको जनचासो र नेतृत्व परिवर्तनको अपेक्षाले निर्वाचनमा कस्तो भूमिका खेल्ला र प्रवासमा रहेका नेपाली कस्ता उम्मेदवार निर्वाचित हुनुपर्छ भन्ने चाहान्छन् ?

यिनै विषयमा केन्द्रित रहेर विभिन्न देशमा रहेका नेपालीसँग मनिषा चम्लागाईँले गरेको कुराकानी ।

डा.दिपेन्द्र ढकाल,

अनुसन्धान सहायक प्राध्यापक, चिवा विश्वविद्यालय जापान

फागुन २१ मा हुने निर्वाचनमा निर्वाचन परिवेक्षकका रुपमा काम गर्न नेपाल जाने तयारीमा छु । अहिले विदेशमा बसेका नेपालीहरु चुनावका लागि नेपाल फर्कने क्रम बढ्दो छ । यसले विदेशमा रहेका नेपालीहरु देशको भविष्यप्रति संवेदनशील र जिम्मेवार रहेको देखाउँछ ।

जेनजी आन्दोलन पछि देशले अर्को मोड लियो । भलै, यसका सकारात्मक र नकारात्मक पक्ष होलान् । अझ भन्ने हो भने जेनजी आन्दोलनले देशको राजनीतिक प्रणलीलाई झक-झकायो । नेपालका ठूला राजनीतिक दलहरुमा परिवर्तनको दबाब देखियो । नेपाली कांग्रेसमा गगन थापा जस्ता नेता नेतृत्वमा आउनुले दलभित्र आमुल परिवर्तन आएको सन्देश दिन्छ । त्यस्तै नेकपा एकाले, नेपाल कम्युनिष्ट पार्टीभित्र पनि संगठनात्मक संरचनामा परिवर्तन गर्नुपर्ने, युवालाई प्राथमिकता दिनुपर्ने बहस बढेको छ ।

अहिलेको निर्वाचनमा देखा परेको अर्को प्रवृत्ति सामाजिक सञ्जालको प्रभाव हो । उम्मेदवारको राजनीतिक विचारधारा, अनुभव, विज्ञता भन्दापनि सामाजिक सञ्जालमा भएका फ्यान फलोअर्सको संख्या नै लोकप्रियताको मापन बनेको देखिन्छ । जसकारण राजनीतिक चेत भएका सक्षम उम्मेदवार ओझेलमा परे माहोल थप भद्रगोल हुने हो कि भन्ने जोखिम बढेको छ ।

त्यसैले विदेशमा भएका हरेक नेपालीले आफ्नो गाउँघरका पाँच जना मतदातालाई आफ्नो क्षेत्रका उम्मेदवारको क्षमता, नीतिगत स्पष्टताबारे बुझाउन सके त्यसले चुनावी परिणाममा उल्लेखनीय प्रभाव पार्न सक्छ । यसरी हेर्दा प्रवासी नेपालीहरु सामाजिक चेत फैलाउने प्रभावशाली माध्यम बन्न सक्छन् ।

मतदाताले पार्टीको अन्धसमर्थन भन्दा माथि उठेर उम्मेदवारको राजनीतिक दृष्टिकोण, योग्यतालाई प्राथमिकता दिएको खण्डमा सक्षम उम्मेदवार निर्वाचित हुन्छन् । जसले नीतिगत स्थिरता, सुशासन र विकासको गति बढ्ने सम्भावना बलियो हुन्छ । अर्को तर्फ विदेशमा रहेका नेपालीलाई देश फर्कन प्रेरित गर्छ ।

प्रतिमा बर्देवा, कुवेत

देश निर्वाचनको संघारमा छ  । राजनीतिक दलहरु विकास, रोजगारी र समृद्धिको नारा लिएर घरदैलोमा छन् । तर, यही समयमा लाखौँ युवायुवती रोजगारीका लागि खाडी मुलुक विदेशिनुपर्ने यथार्थ हामीसँग छ ।

स्वदेशमै रोजगारीको अभाव, अस्थिर आर्थिक अवस्था, अवसर सीप विकासको कमीका कारण म जस्तै हजारौँ महिला आफ्ना बालबच्चा छाडेर विदेशिन बाध्य छन् । म पनि दुई वर्षकी छोरी नेपालमा छाडेर विगत ८ महिनादेखि कुवेतमा छु । सानी छोरीलाई काखबाट झिकेर टाढा राख्नु कुनै आमाको रहर होइन । यो बाध्यता हो, देश भित्र अवसर नपाएको पीडा हो ।

जसको मुख्य कारण देशको राजनीतिक अवस्था नै हो । त्यसैले यो निर्वाचनबाट अनुहार मात्र नफेरिउन्, देशमा अवसरको स्थिति पनि फेरियोस् । देशमा नै रोजगारी सिर्जना भयो भने अहिले विदेशमा रहेका आमाबुवाहरु क्रमश : फर्किनेछन् । टुटेका परिवार फेरि एक ठाउँमा भेला हुनेछन् । त्यसैले पार्टीभन्दा माथि उठेर देशको दीर्घकालीन हितलाई सोचेर मतदान गर्न म मेरो परिवारलाई अनुरोध गर्दछु ।

युवराज घिमिरे, पोर्चुगल

चुनावी माहोलले यतिबेला नेपाल तातेको छ । तर देशको भविष्य केवल नेपालभित्र बस्नेहरुले मात्र बोकेका छैनन् । हामीजस्ता लाखौँ नेपाली विदेशका विभिन्न मुलुकमा पसिना बगाइरहेका छौँ । मेरो बुझाइमा अब नेतृत्व बुवाहरुको पालाको सोचबाट बाहिर निस्कनुपर्छ । नयाँ पुस्ताले जिम्मेवारी लिनुपर्छ, जसले समय, प्रविधि र प्रवासी नेपालीको पीडा बुझोस् ।

म पोर्चुगलमा बस्छु । यहाँ एउटा सामान्य जन्मदर्ता बनाउनका लागि लाखौँ खर्च गरेर नेपालसम्म पुग्नुपर्ने अवस्था छ । दुतावास मार्फत सहजरुपमा सेवा पाउन नसक्नु दु:खद हो । विदेशमा बस्ने नेपालीलाई पनि नेपालकै नागरिक ठानेर सेवा दिने प्रणाली आजसम्म विकास हुन सकेको छैन । प्रवासमा नै बसेर पनि देशका आधारभुत सेवा सुविधा सहज रुपमा पाउने वातावरण बनाउने, डिजिटल र चुस्त प्रणाली लागू गर्ने नेतृत्वले नै अब चुनाव जितोस् भन्ने चाहाना छ ।

शर्मिला शर्मा, कोलोराडो अमेरिका

नेपाललाई अब सत्ता जोगाउने होइन, देश बनाउने मानसिकता भएको नेतृत्व चाहिएको छ । देशलाई नीति आधारित र राष्ट्रहितलाई पहिलो प्राथमिकतामा राख्ने नेतृत्वको खाँचो छ । हामीलाई उमेरले मात्र होइन सोचले युवा नेतृत्व चाहिएको छ । जसले टेक्नोलोजीको सही उपयोग गर्न सकोस् । शिक्षा सुधारको मार्गचित्र प्रस्तुत गरोस्, कृषिमा आधुनिकीकरण र उद्योग विकासका लागि स्पष्ट योजना ल्याउनु पर्ने जिम्मेवारी अबको सरकारलाई छ ।

हामीले वर्षैँ देखि देश विकासका नारा सुन्दै आएका छौँ । अब भने नारा होइन परिणम चाहिन्छ । अब सडकमा सुधार देखिनुपर्छ । स्वास्थ्य सेवा सुलभ हुनुपर्छ । युवाले आफ्नै देशमा सम्मानजनक रोजगारी पाउनुपर्छ । त्यसैले अब सत्ता बचाउने मात्र नभएर देश बनाउने उम्मेदवार रोज्ने समय आएको छ ।

धन दंगाल, सियोल कोरिया

नेपालमा हुन गइरहेको निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र होइन । यो देशको भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसर पनि हो । हामी दक्षिण कोरियामा श्रम, अध्ययन र व्यवसायमा संलग्न नेपालीहरू, देशबाट टाढा रहे पनि मातृभूमिप्रतिको हाम्रो जिम्मेवारी, माया र चासो उत्तिकै गहिरो छ ।

परदेशको अनुभवले हामीलाई एउटा स्पष्ट सत्य सिकाएको छ—विकास केवल नाराले सम्भव हुँदैन । यसको लागि सुशासन, पारदर्शिता, उत्तरदायित्व र दीर्घकालीन दृष्टिकोण आवश्यक हुन्छ । दक्षिण कोरियाले छोटो समयमा हासिल गरेको आर्थिक समृद्धि र प्रविधिगत प्रगति अनुशासित नेतृत्व, स्पष्ट नीति र नागरिकको सक्रिय सहभागिताको परिणाम हो । यही उदाहरणबाट प्रेरणा लिँदै नेपालले पनि सुशासन र विकासको बाटो मजबुत बनाउन सक्नेछ भन्ने हाम्रो विश्वास छ ।

निर्वाचन लोकतन्त्रको उत्सव हो । तर त्यो उत्सव तब मात्र सार्थक हुन्छ, जब मतदाताको मतको सम्मान गरिन्छ । चुनाव निष्पक्ष र पारदर्शी हुन्छ । साथै निर्वाचित प्रतिनिधिहरू जनताप्रति उत्तरदायी रहन्छन् । आज नेपालका हजारौँ युवाहरू रोजगारीको अभावका कारण विदेशिन बाध्य छन् । हामीमध्ये धेरैजना वर्षौँदेखि परदेशमा पसिना बगाइरहेका छौँ । तर हाम्रो मन सधैँ मातृभूमिसँग जोडिएको छ ।

हाम्रो चाहना स्पष्ट छ—आगामी नेतृत्वले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सुदृढ स्वास्थ्य सेवा, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो प्राथमिकता बनाओस् । यस्तो नेपाल निर्माण होस्, जहाँ युवाहरू अवसरका लागि विदेशिन बाध्य नहुन्, बरु आफ्नै देशमा सम्मानजनक भविष्य निर्माण गर्न सकुन् ।

हामी परदेशी नेपालीहरू रेमिटेन्समार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका छौँ । तर हाम्रो भूमिका केवल आर्थिक सहयोगमा सीमित छैन; हामी लोकतान्त्रिक मूल्य, पारदर्शिता र उत्तरदायी शासनको अपेक्षा राख्ने सचेत नागरिक पनि हौँ । त्यसैले आगामी निर्वाचनमा मतदाताले दलभन्दा नीति, नाराभन्दा कार्ययोजना, र व्यक्तिभन्दा इमानदारी र क्षमता चयन गर्नु आवश्यक छ ।

हामी कोरियाबाट नेपालको समृद्धि, स्थायित्व र सुशासनको हार्दिक कामना गर्दछौँ ।

आगामी निर्वाचनले नयाँ आशा, विश्वास र सकारात्मक परिवर्तनको ढोका खोलोस् यही हाम्रो सन्देश हो ।

लेखक
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?