+

लिग २ को तयारीका लागि महत्त्वपूर्ण हुनेछ जय ट्रफी

२०८२ फागुन  १० गते १८:०२ २०८२ फागुन १० गते १८:०२

जय ट्रफीमा राष्ट्रिय टोलीकै अधिकांश खेलाडीहरू पनि खेलिरहेका छन् । त्यसकारण पनि जय ट्रफीलगत्तै हुन लागेको आईसीसी क्रिकेट विश्वकप लिग २ ओडिआई सिरिजको तयारीका लागि यसलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

लिग २ को तयारीका लागि महत्त्वपूर्ण हुनेछ जय ट्रफी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले टी-२० विश्वकपपछि काठमाडौंमा भइरहेको जय ट्रफीमा राष्ट्रिय खेलाडीहरूको सहभागितामा खेलिरहेको छ।
  • जय ट्रफीपछि नेपालले मार्च १० देखि यूएई र ओमानसँग हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओडिआई सिरिज खेल्नेछ।
  • नेपालले यूएईमा भएको लिग २ शृंखलामा चारवटै खेल हारेर खराब प्रदर्शन गरेको छ र हाल आठ टोलीमध्ये सातौं स्थानमा छ।

१० फागुन, काठमाडौं । नेपाली क्रिकेट टोली भर्खरै टी-२० विश्वकपमा सहभागी भएर नेपाल फर्किएको छ । नेपाल फर्किएपछि पनि नेपाली टोली क्रिकेटमा भने व्यस्त छ ।

नेपालको एकमात्र बहुदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी यतिबेला काठमाडौंमा भइरहेको छ । पीएम कपमा शीर्ष ४ मा परेका टोलीहरू यसमा प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यसमाथि पनि नेपाली राष्ट्रिय टोलीकै अधिकांश खेलाडीहरू यसमा खेलिरहेका छन् । राष्ट्रिय खेलाडीहरू पनि खेलिरहेकाले अब जय ट्रफीलगत्तै हुन लागेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएई र ओमानसँगको ओडिआई सिरिजको तयारीका लागि अर्थपूर्ण रूपले पनि हेरिएको छ ।

नेपाली टोली ओडिआई फर्म्याटमा लयमा देखिएको छैन । ओडिआईभन्दा टी-२० विश्वकपमा बढी केन्द्रित रहनुपरेकाले नेपाली टोली एकदिवसीय विश्वकपको मुख्य आधार लिग २ क्रिकेटमा खराब अवस्थामा छ ।

नेपालले पछिल्लोपटक यूएईमा खेलेको विश्वकप लिग २ शृंखलामा खराब प्रदर्शन गर्दै चारवटै खेलमा पराजित भएको थियो । नेपाल, युएई र अमेरिका सम्मिलित एकदिवसीय सिरिजमा नेपाल ब्याटिङ, बलिङ, फिल्डिङ सबै क्षेत्रमा कमजोर देखिँदा अंकविहीन हुनुपर्‍यो ।

हाल नेपाली टोली २० खेलबाट १२ अंक जोडेर आठ टोलीमध्ये सातौं स्थानमा छ । नेपालले अब १६ खेल खेल्न बाँकी जसमध्ये अब हुन लागेको ४ सहित अर्को ४ खेल घरेलु मैदानमै हुने तय छ । बाँकी ८ खेल नेपालले घरबाहिर नै खेल्नेछ ।

लिग २ का लागि फाइदा

जय ट्रफीका खेलहरू काठमाडौंकै दुई मैदान- त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा भइरहेका छन् । जय ट्रफी सम्पन्न भएपछि लिग २ को नेपाल-ओमान-यूएई सम्मिलित ओडिआई शृंखला पनि यिनै दुई मैदानमा हुनेछन् ।

घरेलु मैदान त्यसमाथि पनि प्रतियोगिताकै अगाडि लामो फर्म्याटको खेल खेलिरहेकाले नेपाली खेलाडीलाई अब केही समय टी-२० लाई थाती राखेर ओडिआईमा लय फर्काउन यसले मद्दत पुग्नेछ ।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान रहिसकेका पवन अग्रवाल पनि लिग २ अघि जय ट्रफी हुनु राम्रो भएको बताउँछन् । ‘यसले फाइदा पुग्छ । टु डे म्याच भइरहेको छ अनि नेसनल प्लेयर नै खेलिरहेका छन् । हामीलाई वानडेमा खेल्नुछ त्यसैले धेरै नै राम्रो हो’ अग्रवालले अनलाइनखबरसँग भने ।

पवन अग्रवालले यस्ता प्रतियोगिताहरू अझै धेरै आयोजना गरिनुपर्ने कुरामा जोड दिएका छन् । ‘यस्तो प्रतियोगिताले नै हामीलाई लामो फर्म्याटमा खेल्न मद्दत गर्छ । त्यसैले यी प्रतियोगिताहरू अझै धेरै हुनुपर्छ’ उनले भने ।

अब तत्काल टी-२० प्रतियोगिताहरू नभएकाले नेपाललाई ओडिआई फर्म्याटमा केन्द्रित हुने अवसर छ ।

किन गुमिरहेको छ ओडिआईमा लय ?

नेपाली क्रिकेट टोलीले नयाँ प्रशिक्षक स्टुरअर्ट लको आगमनपछि स्कटल्यान्डमा खेलेको लिग २ शृंखलापछि पुनरागमनको संकेत गरेको थियो ।

ल आउनुअघि १२ खेलमा ६ अंक मात्र जोडेर नेपाल तालिकाको पुछारमा थियो । उनको आगमनपछि जुनमा स्कटल्यान्डमा भएको लिग २ शृंखलामा नेपालले राम्रो प्रदर्शन गर्दै दुई बलिया प्रतिद्वन्द्वी स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको शृंखलामा ३ खेल जित्यो ।

सोही किसिमको नतिजा यूएईमा पनि दोहोर्‍याउने लक्ष्य राखेको नेपालले खराब प्रदर्शन गर्‍यो । यूएई र अमेरिकासँगको शृंखलामा नेपालले ४ वटै खेल हार्‍यो ।

लगातार टी-२० क्रिकेटमा सक्रिय हुनु र एकदिवसीय क्रिकेटमा धेरै धयान नदिँदा नेपालले ओडीआईमा लय समात्नै सकिरहेको छैन ।

पूर्वकप्तान अग्रवालले लामो फर्म्याटबाट छोटोमा खेल्न सहज हुने बताउँदै टी-२० मा दिएजति ध्यान अब ओडिआईमा पनि दिनुपर्ने बताएका छन् ।

जय ट्रफीको महत्व

जय ट्रफीलाई नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि नै महत्वपूर्ण रूपमा लिइन्छ । भविष्यमा टेस्ट मान्यता पाउनका लागि यसले मद्दत पुग्छ ।

पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनले जय ट्रफी नेपालको घरेलुदेखि अन्तर्राष्ट्रियसम्मको विकासका लागि धेरै राम्रो भएको बताए । ‘टेस्ट राष्ट्रहरूले रेड बल क्रिकेटलाई नै प्राथमिकता दिन्छन् । टेस्ट मान्यता पाउने हो भने ग्रासरुटदेखि नै रेड बल क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनी भन्छन् ।

यस्तै पूर्वकप्तान पवन अग्रवालले जय ट्रफी लामो फर्म्याटको प्रतियोगिताका लागि अपरिहार्य घरेलु क्रिकेट प्रतियोगिता रहेको र आगामी दिनमा यसलाई थप विस्तार गर्नुपर्ने बताएका छन् ।

पवन अग्रवाल

‘अहिलेको अवस्थामा जय ट्रफी मात्र छ, यसले नै हाम्रो लङ्गर फर्म्याटका लागि हेल्प गरेको छ । यसलाई अझै विस्तार गर्नुपर्छ अनि आगामी दिनमा यस्ता प्रतियोगिता अझै धेरै आयोजना हुनुपर्छ’ अग्रवालले भने ।

पूर्वखेलाडीकै भनाइबमोजिम नेपाली ग्रासरुट क्रिकेटको विकासका लागि जय ट्रफीले मात्र भने पुग्दैन । बहुदिवसीय प्रतियोगिताहरूको संख्या बढाएमा वा सहभागी टिमहरूको संख्या पनि बढाउन सकेको अवस्थामा थप खेलाडीलाई एक्सपोजर प्राप्त हुनेछ भने यसले लामो फर्म्याटमा खेल्ने बलियो टोली निर्माणका लागि पनि सहयोग पुग्नेछ ।

विश्वकपको सुपर ८ नपुग्दा घाटा

नेपाली टोलीले आईसीसी टी-२० विश्वकपको सुपर ८ मा स्थान बनाउन सकेन । समूह चरणमा इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग लगातार हार बेहोरेको नेपाली टोलीले अन्तिम खेलमा स्कटल्यान्डलाई हराएर सान्त्वना जित बोकेर घर फर्केको थियो ।

नेपाल इंग्ल्यान्डसँग जितको निकै नजिक पुगेर पराजित भएको थियो । त्यसपछि आत्मविश्वास कम हुँदा इटलीसँग पनि पराजित हुन पुग्यो । यदि दुई खेल जित्न सकेको भए सुपर ८ मा पुग्ने बलियो सम्भावना रहन्थ्यो ।

सुपर ८ मा पुगेको अवस्थामा नेपाली टोली सन् २०२८ को टी-२० विश्वकपका लागि सोझै छनोट हुन सक्थ्यो । त्यसो हुँदा नेपालले छनोटदेखिको तयारीका लागि टी-२० मा केन्द्रित हुनुपर्ने बाध्यता हट्ने थियो र धेरै समय ओडिआईमा दिन पाइन्थ्यो । यहाँनेर नेपाललाई त्यो कुरामा पनि घाटा लागेको छ ।

अब नेपालले अर्कोपटक पनि छनोट चरण पार गरेर टी-२० विश्वकप खेल्नुपर्नेछ । त्यसका लागि तयारी पनि केही अघिदेखि नै गर्नुपर्ने हुन्छ र ओडिआईको तयारीमा फेरि पनि त्यसको असर पुग्न सक्छ ।

***

नेपाल, ओमान र यूएईबीचको लिग २ शृंखला आगामी मार्च १० (फागुन २६) देखि सुरु हुँदैछ । नेपालले पहिलो खेल मुलपानीमा ओमानसँग फागुन २६ मा खेल्नेछ भने फागुन ३० मा यूएईसँग कीर्तिपुरमा खेल्नेछ ।

यस्तै चैत २ मा ओमानसँग कीर्तिपुरमा खेल्नेछ भने चैत ४ मा यूएईसँग कीर्तिपुरमै खेल्नेछ ।

जय ट्रफी क्रिकेट नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय