११ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरेकाले अब कुनै पनि देशका सर्वोच्च संरचना जल्न नदिने दाबी गरेका छन् ।
सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
जेनजी आन्दोलन हुँदा आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन नगरेकाले देशका सर्वोच्च संस्थाहरू जलेको ओलीको भनाइ थियो ।
‘देश जल्यो । जल्दो रहेछ । एउटा मात्रै कारण हो हामीले नेशनल युथ फोर्स बनाएका थिएनौं । अब कहीँ केही जल्न पाउँदैन,’ ओलीले भने, ‘अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं ।’
शान्ति सुरक्षामा रखबारी गर्नका लागि युथ फोर्स बनाएको ओलीको भनाइ छ । ‘यो कुनै देखाउनका लागि मात्रै बनाइएको हैन,’ ओलीले भने ।
उनले सम्बोधनको क्रममा भने, ‘यो फोर्स एमालेको जनवर्गीय संगठन हो । यसले पार्टीका कार्यक्रम साकार पार्न काम गर्छ । नेकपा एमाले देशमा शान्ति चाहन्छ । एमालेले भन्छ– देश पहिलो । अरु कुरा भन्दा देश पहिले । त्यस मन्त्रलाई अघि राखेर फोर्सले अनुशासित ढंगले काम गर्छ । यो चुनावका लागि गठन गरिएको फोर्स होइन । सधैंका लागि हो ।’
राज्य संयन्त्रमाथि मात्रै जनता भर पर्न नहुने बताउँदै त्यसका लागि फोर्स गठन गरिएको ओलीको भनाइ छ ।
प्रतिक्रिया 4