+
+
Shares

सडक दुर्घटना कम गर्न मुख्य दलका योजना : प्राधिकरण बनाउनेदेखि जीपीएस ट्र्याकिङसम्म

सरकार चलाउने लक्ष्य राखेर चुनावमा होमिने क्रममा दलले हरेक निर्वाचनमा आकर्षक नारा समेट्छन् । तर, कार्यान्वयनमा चुक्दा पुन: सडकमा यस्ता घटना दोहोरिने गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक दुर्घटना न्यूनीकरणका लागि रास्वपाले जीपीएस ट्र्याकिङ, डिजिटल जरिवाना प्रणाली र एआई ट्राफिक क्यामरा लागू गर्ने घोषणा गरेको छ।
  • नेपाली कांग्रेसले सडकलाई दुर्घटनारहित बनाउन सडक डिजाइन, यातायात परीक्षण र स्मार्ट ट्रान्जिट प्रणाली लागू गर्ने योजना बनाएको छ।
  • नेकपा एमालेले सडकमा ट्रमा सेन्टर र सीसी क्यामराद्वारा निगरानी गरी दुर्घटना न्यूनीकरण गर्ने र सार्वजनिक यातायात पुनर्संरचना गर्ने योजना प्रस्तुत गरेको छ।

११ फागुन, काठमाडौं । मुलुकमा बढ्दो सडक दुर्घटनाले यात्रुको निरन्तर ज्यान लिइरहँदा राज्य निरीह देखिएको छ ।

सरकार चलाउने लक्ष्य राखेर चुनावमा होमिने क्रममा दलले हरेक निर्वाचनमा आकर्षक नारा समेट्छन् । तर, कार्यान्वयनमा चुक्दा पुन: सडकमा यस्ता घटना दोहोरिने गरेका छन् ।

आगामी निर्वाचनमा समेत दलहरूका घोषणापत्रमा सार्वजनिक यातायात सुधार र सवारी दुर्घटना न्यूनीकरणमा आकर्षक नारा तथा कार्यक्रम समेटिएका छन् ।

मुख्य राजनीतिक दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा एमालेले दुर्घटना न्यूनीकरणका केही योजना घोषणापत्रमा समेटेका छन् । नेपाली कम्युनिस्ट पार्टीले भने सडक पूर्वाधार निर्माणका योजना समेटे पनि दुर्घटना न्यूनीकरणमा पार्टीको योजना घोषणापत्रमा राखेको छैन ।

रास्वपा : प्राधिकरण बनाउँछौं, पहिलो वर्षै दुर्घटना दरमा भारी गिरावट

रास्वपाले लामो दुरीको बस सेवामा सिन्डिकेट र कार्टेलिङ पूर्णत: अन्त्य गर्ने घोषणा गरेको छ । उसले भनेको छ, ‘हामी नागरिकलाई स्वच्छ प्रतिस्पर्धा र सुरक्षित गुणस्तरीय सेवा दिने छौं ।’

ठूला सहरी क्षेत्रमा नगर बस सेवा चुस्त, सुरक्षित, आरामदायी र भरपर्दो बनाउन एउटै प्राधिकरणको व्यवस्थापन अन्तर्गत केन्द्रिकृत टिकट एवं शुल्क वितरण प्रणाली लागु गर्ने रास्वपाले उल्लेख गरेको छ ।

विद्युतीय बस उपयोग बढाउन भन्सार सहुलियत दिने र काठमाडौं उपत्यका लगायत तराईका मुख्य करिडोरमा सार्वजनिक यातायात विकासको दीर्घकालीन गुरुयोजना बनाउने घोषणा रास्वपाले गरेको छ ।

सडक सुरक्षा प्रविधिसँग जोड्दै सबै सार्वजनिक यातायातका साधनमा जीपीएस जडान गरी ट्र्याकिङ गर्ने, एआईमा आधारित ट्राफिक क्यामरा, डिजिटल जरिबाना प्रणाली, गति र लेन अनुशासनमा कडाइ गरी पहिलो वर्षमै दुर्घटना दरमा भारी गिरावट गराउने रास्वपाको घोषणा छ ।

चितवनको जस्तै ब्लुबस अन्य सहरमा विस्तार गर्ने र काठमाडौंका जस्तै बस बिसौनी देशभरि बनाउने समेत रास्वपाको घोषणा छ ।

सडक दुर्घटनारहित बनाउँछौं : कांग्रेस

कांग्रेसले घोषणापत्रमा सडकलाई दुर्घटनारहित, बाह्रैमास चल्ने र स्थानीय तहको केन्द्रसम्म बनाउने भनेको छ । सडक दुर्घटना कम गर्न सडकको डिजाइन र निर्माणबाटै सुरक्षाका उपायलाई उच्च प्राथमिकतामा राखी सडक स्तरीकरण, यातायात साधन परीक्षण एवं सवारी चालकको निगरानी प्रणाली विकास गर्ने घोषणा कांग्रेसले गरेको छ ।

राष्ट्रिय सडक सूचना प्रणाली एप निर्माण गरी यात्रु तथा सवारी चालकलाई हरेक सडकको वास्तविक समयको अवस्था ख्याल गरी खासगरी सवारी चाप, दुर्घटना, प्राकृतिक विपद् तथा निर्माणका कारणले हुने अवरोध र पुन: सञ्चालनको समयबारे सूचना प्राप्त हुने व्यवस्था मिलाइने समेत कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

संस्थागत सामाजिक उत्तरदायित्व परिचालन गरी देशका सबै सडक तथा गल्लीमा सबै सडक उज्याला अभियानका रूपमा सौर्य बत्ती जडान तथा मर्मत सम्भारका लागि निजी क्षेत्रलाई आह्वान गर्ने योजना कांग्रेसको छ ।

कांग्रेसले यातायात कानुन समयानुकूल संशोधन र परिमार्जन सहित शक्तिशाली यातायात प्राधिकरण स्थापना र तहगत समन्वय संरचना निर्माण गर्ने भनेको छ ।

यातायात सेवा सञ्चालन आधुनिकीकरण योजना कांग्रेसको छ । सडक अवस्था र फरक भौगोलिक परिस्थितिका आधारमा फरक–फरक प्रकृतिका सवारीसाधन प्रयोग हुने गरी आवश्यकताका आधारमा मात्र रुट अनुमति दिई व्यवस्थित यातायात प्रणालीको विकास गरिने समेत उल्लेख छ ।

कांग्रेसले एक वर्षभित्र सार्वजनिक यातायातमा स्मार्ट ट्रान्जिट प्रणाली लागु गर्ने भनेको छ । सडक प्रयोग र यातायात सुधार गर्न सबै सवारी चालकको नागरिक चेतना र सवारी साक्षरतामा काम गर्ने समेत कांग्रेसले बताएको छ ।

निश्चित दुरीमा ट्रमा सेन्टर–सीसी क्यामराबाट निगरानी : एमाले

नेकपा एमालेले सडक सुरक्षाका सबै उपाय अवलम्बन गरी दुर्घटना न्यूनीकरण गर्ने भनेको छ । सडकमा निश्चित दुरी र अन्तरालमा पेट्रोलिङ गर्ने र निश्चित दुरीमा ट्रमा सेन्टर सुविधा प्रबन्ध गर्नेसमेत एमालेको घोषणा छ ।

सहरी क्षेत्रमा पैदलयात्रुको सुरक्षाका लागि सडकपेटी उपयुक्त प्रबन्ध गरिने समेत उल्लेख गरिएको छ । सूचना प्रविधिमा आधारित एकीकृत र विद्युतीय भाडा प्रणाली विकास गरी कार्यान्वयन गर्ने भनेको एमालेले सार्वजनिक यातायात पुनर्संरचना गर्ने भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?