+
+
Shares

एलन मस्कले फेरे योजना, मंगल ग्रहमा होइन चन्द्रमामा बसाउन चाहन्छन् शहर

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एलन मस्कले आगामी १० वर्षभित्र चन्द्रमामा सेल्फ ग्रोइङ सिटी बनाउने योजना सार्वजनिक गरेका छन् ।
  • मस्कले चन्द्रमामा पाइने स्रोत साधन प्रयोग गरी बस्ती विस्तार गर्ने र ब्रमाण्डको खोजमा सजिलो बनाउने बनाए ।

एलन मस्क अहिलेका सबैभन्दा धनाढ्य व्यक्ति हुन् । उनको कतिपय सोच सधैं यथार्थ र आम कल्पनाभन्दा बाहिरको हुने गरेको छ । जस्तो, उनी चीपमार्फत दिमाग बनाउने सोच्छन् । अन्तरिक्षमा गएर बस्ती बनाउने बताउँछन् ।

हालै मात्र उनले अर्को योजना सार्वजनिक गरे । जसअनुसार अबको १० वर्षभित्र चन्द्रमामा एउटा ‘सेल्फ ग्रोइङ सिटी’ बन्नेछ । अर्थात् उक्त शहरको विस्तारका लागि चन्द्रमामा पाइने स्रोत साधन नै प्रयोग हुनेछ । विश्वका ठूला कम्पनीहरू एक्स, टेस्ला र स्पेसएक्सका मालिक मस्कले यो योजना भने सामाजिक सञ्जाल एक्सबाटै सुनाएका हुन्।

त्यसअघि उनी र उनको कम्पनी स्पेसएक्स मंगल ग्रहमा बढी केन्द्रित थियो । तर, अब मंगल ग्रहमा नभएर उनीहरूको ध्यान चन्द्रमामा हुने भएको छ । तर मस्कले आफ्नो मन किन बदले? र उनले भनेको ‘सेल्फ ग्रोइङ सिटी’ के हो?

अब चन्द्रमा नै किन ?

अहिलेसम्म सेल्फ ग्रोइङ सिटीका लागि ब्लुप्रिन्टसहित कुनै औपचारिक वा विस्तृत योजना प्रस्तुत गरिएको छैन । यद्यपि एउटा भिजन छ, जुन मस्कले आफ्नो सामाजिक सञ्जालबाट शेयर पनि गरिसके ।

त्यस योजनाअनुसार चन्द्रमामा उनले एउटा स्थायी मानव बस्ती स्थापना गर्ने कुरा गरेका हुन् । ताकि चन्द्रमामा रहेका स्रोतसाधनको प्रयोग गरेर बिस्तारै बस्ती अथवा जीवन विस्तार गर्न सकियोस् । र, ब्रमाण्डको खोजमा थप सजिलो होस् ।

मस्कले यो लक्ष्य १० वर्षभन्दा कम समयमा हासिल गर्न सक्ने दाबी गरेका छन् । मंगल ग्रहको हकमा २० वर्षभन्दा बढी समय लाग्ने उनले बताउँदै आइरहेका थिए । यसैले पनि उनको ध्यान चन्द्रमा तिर गएको हुन सक्छ । त्यसबाहेक स्पेसएक्सका लगानीकर्ताहरूले पनि मस्कलाई मंगल ग्रहमा नभएर चन्द्रमामा प्राथमिकता दिन भनेका रिपोर्टहरू आएका थिए ।

यसमा उनको कम्पनी स्पेसएक्सको उद्देश्य स्पष्ट छ । उनीहरूले मानव चेतना र जीवन तारा अर्थात् ब्रमाण्डसम्म फैलाउन चाहन्छन् । तर, मस्कका अनुसार मंगल ग्रहको यात्रा सौर्यमण्डलका ग्रहहरू एकअर्काको सीधा रेखामा आउँदा मात्र सम्भव छ । र, त्यस्तो समय २६ महिनामा एक पटक मात्र आउँछ । यसले गर्दा मंगल ग्रहको यात्रा निकै लामो हुनेवाला छ ।

तर, चन्द्रमामा हरेक १० दिनमा एउटा रकेट पठाउन सकिन्छ । जुन करिक ४८ घण्टामा चन्द्रमामा पुग्न सक्छ । यहीकारण मस्कले म‌‌ंगल ग्रहको तुलनामा चन्द्रमामा बस्ती बसाउने योजना छिटो सकिने बताएका हुन् । मस्कले मंगल ग्रहमा पनि जान नछाड्ने तर त्यसका लागि सुरुमा चन्द्रमा जानु पर्ने उनको बुझाइ देखिन्छ ।

के भन्छ वैज्ञानिक जगत ?

बेलायतको सरे विश्वविद्यालयमा स्पेस एप्लिकेसन्स, एक्सप्लोरेसन र इन्स्ट्रुमेन्टेसनका वरिष्ठ लेक्चरर डाक्टर सुङ्गबु लिम स्पेसएक्सको चन्द्रमामा बेस बनाउने योजना ‘साइन्स फिक्सन’ नभई ‘महत्वाकांक्षी’ बताउँछन् ।

उनका अनुसार चन्द्रमाको माटोको प्रयोग गरेर अक्सिजन, पानी र निर्माण सामग्री बनाउने कुरा सैद्धान्तिक रूपमा मात्र सकिन्छ । आफैंमा निर्भर हुने शहर चन्द्रमामा बनाउनु धेरै टाढाको लक्ष्य भएको लिम बताउँछन् । तर त्यो हुन सक्छ भन्नेमा उनी आशावादी देखिन्छन् । त्यसका लागि सबै एकैपटक नभएर चरणबद्ध रुपमा हुने उनी बताउँछन् ।

डाक्टर लिम जस्तै अन्य विज्ञहरू मस्कको यो कुरामा आशावादी नै रहेको देखिन्छ । तर, मस्कले भनेको समयसीमा भने अत्यन्त महत्त्वकांक्षी भएको उनीहरूको बुझाइ छ ।

बढ्दो प्रतिस्पर्धा

त्यसमा पनि अहिले चन्द्रमामा बस्ती बसाल्ने कुराहरूमा प्रतिस्पर्धा पनि देखिएको छ । किनकि जसरी अमेरिकनहरू त्यस दौडमा लागि परेका छन्, चिनियाँ वैज्ञानिकहरू पनि उसैगरी लागि परेका छन् ।

त्यस्तै व्यक्तिव्यक्ति अथवा कम्पनीकम्पनी बीच पनि यो दौड देखिन्छ । अमेरिका-चीन बाहेक भारत, रुस, जापान जस्ता देशहरू समेत यो दौडमा देखिन्छन् । तर, नासाको १९७२ को अपोलो १७ मिसनपछि कसैले पनि चन्द्रमाको सतहमा पाइला राखेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?