+
+
Shares

संसारकै तीव्र गतिको लिफ्ट, ४३ सेकेण्डमै चढ्छ ९५ तला

यी लिफ्टको अधिकतम गति प्रतिमिनेट १२०० मिटर अर्थात झन्डै ७२ किमि प्रतिघण्टा रहेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको ग्वांझाउ सिटिएफ फाइनान्सियल सेन्टरमा ५३० मिटर अग्लो १११ तला गगनचुम्बी भवन सन् २०१६ मा सञ्चालनमा आएको थियो।
  • त्यस भवनमा जडान गरिएका दुईवटा लिफ्ट संसारकै तीव्र गतिका छन् जसको अधिकतम गति प्रतिमिनेट १२०० मिटर छ।

जब सन् २०१६ मा चीनको ग्वांझाउस्थित ग्वांझाउ सिटिएफ फाइनान्सियल सेन्टर सञ्चालनमा आयो त्यसबेला त्यो गगनचुम्बी भवन उक्त शहरको सबैभन्दा अग्लो भवन बनेको थियो ।

५३० मिटर अग्लो उक्त भवननमा जमिनमाथि १११ तला र जमिनमुनि ५ तला छन् । त्यो तथ्यांकले नै सबै मानिसलाई चकित पार्थ्यो। तर भवनको त्यो उचाइभन्दा त्यसमा जडान भएका दुईवटा तीव्र गतिका लिफ्ट झनै सनसनीपूर्ण समाचारका शीर्षक बने ।

जापानी कम्पनी हिटाचीले जडान गरेका ती लिफ्ट यतिधेरै तीव्र गतिमा चल्छन् कि यसले भुइँतलाबाट केवल ४३ सेकेण्डमै ९५औँ तलासम्म पुर्‍याउँछ । त्यसको गतिबाट प्रभावित भएर मानिसहरूले भन्ने गर्छन्- यो त लिफ्ट होइन, रकेट हो !

संसारकै तीव्र गतिको लिफ्ट

यो गगनचुम्बी भवनमा जम्माजम्मी ९५ वटा लिफ्ट छन् । त्यसमध्ये २८ वटा डबल–डेकर, १३ वटा हाई–स्पिड र बाँकी मध्यम तथा कम गतिका लिफ्टहरू रहेका छन् ।

तीमध्ये दुईवटा एक्सप्रेस लिफ्ट चाहिँ विशेष छन् । किनकि ती लिफ्टहरू संसारकै सबैभन्दा तीव्र गतिका लिफ्ट हुन् । यी लिफ्टको अधिकतम गति प्रतिमिनेट १२०० मिटर अर्थात झन्डै ७२ किमि प्रतिघण्टा रहेको छ।

यसअघि ताइवानको ताइपेइ १०१ नामक गगनचुम्बी भवनमा जडित तोसिबा कम्पनीको लिफ्टसँग उक्त कीर्तिमान थियो। ताइपेइको उक्त लिफ्टको अधिकतम गति करिब ६१ किमि प्रतिघण्टा रहेको छ।

कसरी हासिल भयो लिफ्टको उच्च गति ?

वास्तवमा त्यतिधेरै तीव्र गतिको लिफ्ट बनाउनु सजिलो थिएन । इन्जिनियरहरूले पातलो डिजाइनका स्थायी चुम्बकयुक्त मोटर, हल्का ट्र्याक्सन मेसिन र हावाको प्रतिरोध घटाउने क्याप्सुलजस्तो एरोडाइनामिक क्याबिन प्रयोग गरेर विशेष प्रकारले उक्त लिफ्ट बनाएका छन् ।

तर यी एक्सप्रेस लिफ्टको चुनौती केवल गति मात्रै थिएन, सुरक्षा पनि थियो। आपतकालीन अवस्थामा तीव्र गतिमा दौडिरहेको लिफ्ट रोक्दा अत्यधिक घर्षण उत्पन्न हुन्छ। त्यसैले यी लिफ्टमा ३०० डिग्री सेल्सियससम्म ताप सहन सक्ने विशेष ब्रेक प्याड जडान गरिएको छ।

आउँदैन कानमा समस्या

यति तीव्र गतिमा लिफ्टमा माथि चढ्दा सामान्यतया मानिसको कान ‘पप’ हुन्छ । तर यहाँ त्यो समस्या पनि छैन । यी लिफ्टहरू प्रेसराइज्ड क्याबिन भएका छन् । जसले स्वचालित रूपमा हावाको चाप समायोजन गर्छ । केवल ४३ सेकेन्डको यात्रामा नै सम्बन्धित यात्रु बिस्तारै वातावरणसँग अभ्यस्त हुन्छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?