News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।
- शाहले पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको र नयाँ उद्योगहरू खुल्न नसकेको बताए।
- उनले नयाँ फ्याक्ट्री खोल्न १० वटा नेतालाई ढोग्नुपर्ने र चन्दा आतंक सुरु हुने व्यवस्था अन्त्य गर्न पार्टीले काम गर्ने उल्लेख गरे।
१२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
मंगलबार सुनसरीको इटहरीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताएका हुन् । पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउँदै उनले खाने तेलदेखि मरमसलासम्मका उद्योग भएपनि नयाँ उद्योगहरु भने खुल्न नसकेको बताए ।
‘हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, यहाँ उब्जाउ गरेर पनि पैसा कमाउन सकिन्छ । किराँतहरुको आस्थाको केन्द्र मुकुलुङ, खुवालुङ जस्ता ठाउँहरुलाई ७७ वटै जिल्लाका नेपालीले आस्था राख्न पाउन् । समस्याहरु धेरै छन्, समस्या पनि यहीँ छ,’ उनले भने, ‘समस्या र समाधानलाई भेटाउने काम भएको छैन, त्यो भेटाउने काम गर्न चाहन्छ, हाम्रो पार्टीले । देशकै पहिलो उद्योग कलकारखाना भएको ठाउँ हो । यहाँनेर खानेतेलदेखि मरमसलाका फ्याक्ट्री, उद्योगहरू छन् । तर जुन बेलामा ती उद्योगहरु खुले, त्यसपछि नयाँ उद्योगहरू खुलेका छैनन् ।’
उनले थपे, ‘नयाँ फ्याक्ट्री खोल्नुपर्यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ । अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ । त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक सुरु हुन्छ, अब त्यो पर्दैन । त्यो नपर्नेपरि व्यवस्था बनाउन चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी ।’
प्रतिक्रिया 4