१२ फागुन, धनगढी । कैलालीको गोदावरी नगरपालिका–३ बस्ने नरमाया तामाङ (४५) को अत्तरिया बजारमा खाजा पसल छ । नरमाया दैनिक सयौं मान्छेसँग भेट्छिन् । तर, मानिसहरू चुनावी कुरा भने खासै गदैनन् ।
कैलाली क्षेत्र नम्बर ४ मा चुनाव प्रचारप्रसार गर्न आउने प्राय: उम्मेदवारले आफ्नो एजेन्डा सुनाउँछन् । नरमायालाई भने चुनाव जिताएर पठाएपछि कसैले काम गर्लान् भन्ने पत्यार नै लागेको छैन । ट्राफिक चोक नजिकै पर्ने लालटिन बजारमा समेत बसोबास रहेकी उनी अहिलेसम्म टोलमा खानेपानी सुविधा नपुगेकोमा प्रश्न गर्छिन् ?
‘पटक–पटक नेताहरूलाई जिताएर पठाइसक्यौं तर टोलमा खानेपानीको व्यवस्था छैन,’ उनले भनिन्, ‘फेरि विकास गर्छौं भनेर भोट माग्न नेताहरू आइराखेका छन् । मलाई उनीहरूको कुरामा पत्यार लागेको छैन ।’

श्रीमान्–श्रीमतीसहित नरमायाको घरबाट यो चुनावमा १२ जनाले मतदान गर्दैछन् । विगतका चुनावमा पनि घर सल्लाह गरेरै मत हाल्दै आएको बताउने उनले यो पटक भने अहिलेसम्म कुराकानी नभएको सुनाइन् । ‘विगतमा पनि घरमै सल्लाह गरेर मत हाल्थ्यौं । यो पटक पनि त्यही गर्छौं,’ उनले भनिन् ।
कैलाली–४ बाट नेकपा एमालेका केन्द्रीय उपमहासचिव लेखराज भट्ट, नेपाली कांग्रेसका गोरखबहादुर विष्ट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हरिराम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खेमराज कोइरालासहित १६ जना उम्मेदवार छन् ।

विगतमा यसै क्षेत्रबाट चुनावमा हारजित बेहोर्दै आएका एमाले उपमहासचिव भट्टको क्षेत्र भएकाले पनि कैलाली–४ लाई चासोका साथ हेरिएको छ । प्राय: सबै उम्मेदवारले ठूला सभा, समारोह गरेका छैनन् । उनीहरू घरदैलो अभियानमार्फत मत मागिरहेका छन् ।
उम्मेदवार र नेताहरू घरघर पुगे पनि मतदाताले भने अहिले नै मुड बनाएको देखिँदैन । २०४८ सालदेखि मतदान गर्दै आएका गोदावरी नगरपालिका–१ का जयराम डगौरा थारू (५६) पनि तिनैमध्येका एक हुन् । उनको घरमा पनि २० जना मतदाता छन् तर अहिलेसम्म चुनावबारे कुराकानीसमेत भएको छैन ।

‘नेताहरू आउँछन् । मत माग्छन् । तर हामीले अहिले कुनै निर्णय गरिसकेका छैनौं,’ थारूले भने, ‘टोल–समाजसँगको सरसल्लाहअनुसार मत हाल्छौँ ।’
उनीहरू टोलकै मान्छे भेला भएर मतबारे निर्णय लिँदै आएका छन् । थारूले विगतमा एमाले, कांग्रेस, माओवादी लगायतका सबै दलका उम्मेदवारलाई मत दिएको पनि सुनाए ।
तर, भत्किएको बाटो मर्मत गर्ने र उचित ढल निकासको व्यवस्था पनि कसैले नगरेकोप्रति थारु रुष्ट छन् । ‘मत त सबैलाई हालिएकै हो नि । तर केही सुविधा पाएनौं । भत्किएको बाटो बनेको छैन । ढल निकास नहुँदा बर्खामा समस्या खेप्नुपर्छ,’ थारूले भने ।
ठूला छैनन् मतदाताका अपेक्षा
सुदूरपश्चिम प्रदेश सरकारले गोदावरीलाई प्रदेशको राजधानी घोषणा गरेको पनि ७ वर्ष भइसक्यो । तर निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन । राजधानीको निर्णय कार्यान्वयन ल्याउनुपर्ने मत यहाँका मतदाताको छ ।
गोदावरी नगरपालिका–२ तेघरीकी प्रगति अवस्थी (३६) पनि नेताहरूसँग ठूलो अपेक्षा नभएको सुनाउँछिन् । चौथो पटक मतदान गर्ने तयारीमा रहेकी अवस्थीले नेताहरूको चुनावमा आश्वासन दिने तर काम नगर्ने प्रवृत्ति देखिएको बताइन् ।

‘अहिले नयाँ–पुराना सबै दल आएका छन् । चुनावमा आश्वासन दिने, जितेपछि फर्केर पनि नआउने नेताहरूको प्रवृत्ति छ,’ अवस्थीले भनिन्, ‘नयाँले पनि सत्तामा पुगेपछि उस्तै व्यवहार गर्लान् नि ।’ शिक्षा, स्वास्थ्य, खानेपानी र सडक लगायतका विकासका योजना लिएका उम्मेदवारलाई मत दिने पक्षमा उनी छिन् ।
सोही टोलका बहादुरसिंह मल्ल (५०) पनि घरदैलोमा आउने नेताका एजेन्डा सुन्छन् । सबै दलका एजेन्डा राम्रा भए पनि चुनाव जितेर गएपछि काम नगर्ने परिपाटीले कसैमाथि पनि विश्वास गर्ने ठाउँ नभएको उनी बताउँछन् ।

तर, मताधिकार प्रयोग गरेर उनीहरूमध्ये राम्रो व्यक्ति छान्ने पक्षमा मल्ल छन् । खानेपानीको समस्या छ । ‘बिजुली बत्ति पनि त्यस्तै छ । गोदावरी खोलाले बर्खामा बस्ती डुबाउँछ,’ मल्लले भने, ‘यहाँ समस्यै समस्या छन् । समाधान कसले गरिदिने ? नेताहरू आउँछन्, जान्छन् तर काम गर्दैनन् ।’
तेघरीकै लक्ष्मी भट्ट (३८) भने युवाहरू बेरोजगारी समस्याले थिचिएकोले स्वदेशमै रोजगारको व्यवस्था हुनुपर्ने माग राख्छिन् । घर छेउको सडक कालोपत्रे नहुँदा वर्षातका बेला सास्ती खेप्नुपर्ने उनले बताइन् ।

छिमेकी कल्पना महरा (४०) का दुई सन्तान छन् । श्रीमान् विगत २२ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका छन् । देशमै रोजगारी नभएको कारण श्रीमान् विदेशिनु परेको उनको भनाइ थियो । उनले रोजगारी नपाइने भन्दै प्लस टु पढिरहेको छोराले बीचमै पढाइ उनको दुखेसो छ ।
‘२२ वर्षदेखि भारतमै काम गरेर परिवार पाल्नु परेको छ,’ उनी भन्छिन्, ‘विकास र रोजगारी दिने, भ्रष्टाचार नगर्ने उम्मेदवारलाई मत दिन्छौँ ।’
शिवशंकर टोलका स्थानीयको त झनै साना माग छन्– ५० मिटर सडक कालोपत्रे र नाली व्यवस्थापन । २०७४ र २०७९ सालमा मत हाले पनि टोलको ५० मिटर सडक कालोपत्रे र व्यवस्थित गर्न कसैले ध्यान नदिएको स्थानीय दुर्गा विष्ट (४०) को गुनासो छ ।

‘विकास होला भनेर मत दिएको हो । तर भएन,’ उनले सुनाइन्, ‘हामीलाई दु:ख दिइरहेको यो ५० मिटर सडक बनाइदिनेलाई यो पटक मत दिने हो,’ धेरैजसो परिवार अहिले पनि ऐलानी जग्गामा बसिरहेकाले लालपुर्जा पाउनुपर्ने माग पनि उनीहरूको छ ।
गाउँघरमा पुगिरहेका उम्मेदवारहरूले स–साना समस्या पनि समाधान गर्ने प्रतिबद्धतासहित मत मागिरहेका छन् ।
यो क्षेत्रमा २०७९ सालमा कांग्रेसका वीरबहादुर बलायरले चुनाव जितेका थिए । बलायरले २६ हजार २७५ मत ल्याएर जित्दा प्रतिद्वन्द्वी एमालेका लेखराज भट्टले २२ हजार ६६३ मत पाएका थिए ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) कि कैया चौधरीले ६ हजार २३३, रास्वपाका गोविन्द भट्टले दुई हजार २३० र राप्रपाका जयबहादुर धामीले एक हजार ४०० मत पाएका थिए ।
प्रतिक्रिया 4