+
+
Shares

सिंगापुरबाट सुनिल पौडेलको खाता विवरण झिकाउन विशेष अदालतको आदेश

विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको खाताहरुको विवरण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १७:४८

१२ फागुन, काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको खाताहरुको विवरण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

पौडेलले सरकारी उपकरण र सफ्टवेयर खरिदका क्रममा सिंगापुरमा घुस लिएको र त्यो रकम सिंगापुरको बैंकमा राखेको दाबीसहित अख्तियारले वैशाख, २०८१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यही मुद्दाको सुनुवाइपछि विशेष अदालतले खातापाताको विवरण नै पेस गर्न आदेश दिएको हो ।

नेपाल र सिंगापुरबीच पारस्परिक कानुनी सहायता आदानप्रदान सम्झौता भएको थिएन । तर अख्तियारले सुनिलको घरमा खानतलासी गर्ने क्रममा सिंगापुरको सबै विवरण भेटाएको थियो । विशेष अदालतले पारस्परिक कानुनी सहायताको सम्झौता नभएको अवस्थामा सिंगापुरबाट ती विवरण पाउन सम्भव छ कि छैन भनी कानुन मन्त्रालयसँग जवाफ समेत मागेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासको आदेशमा भनिएको छ, ‘विवरण प्राप्त हुन सक्ने भए विवरण र विवरण प्राप्त हुन नसक्ने भए सोही बमोजिमको जबाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट यथासक्य छिटो जवाफ मगाउनू ।’

विशेष अदालतले सिंगापुरको बैंक खातामा भएको खाता र रकमको विवरण झिकाउन नेपाल राष्ट्र बैंकलाई समेत आदेश दिएको छ । उसले सिंगापुरको केन्द्रीय बैंकको सहयोग र समन्वयमा युनाइटेड ओभरसिज बैंक लिमिटेडबाट विवरण मगाउनु भनेको हो ।

विभिन्न सरकारी ठेक्कापट्टाको घुसबापतको रकम सिंगापुरमा बुझेर बैंकमा बचत गरेको आरोपमा अख्तियारले ९ वैशाख, २०८१ मा सुनिल पौडेल र अनिल पौडेल‍विरुद्ध गैरकानुनी सम्पत्तिआर्जनको भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

नेपाल र सिंगापुरमा गरी २४ करोड ९४ लाख रुपैंया सम्पत्ति जोडेको दाबीसहित अख्तियारले त्यो मध्येको २३ करोड ७५ लाख रुपैंया गैरकानूनी रुपमा भ्रष्टाचारबाट कमाएको दाबी गरेको थियो ।

अख्तियारले आरोपपत्रमा भनेको थियो, ‘आफू कार्यकारी प्रमुख भएका निकायहरुमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीहरुसँग मोलमोलाई गरी गैरकानूनी कमिसन लिई विदेशी बैङ्कमा रकम जम्मा गर्ने र त्यस्तो रकम स्वदेशमा र विदेशमा रहेका आफन्तमार्फत विभिन्न क्षेत्रमा लगानी गरेको भेटियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?