+
+
Shares

विद्यार्थीहरू सिर्जनशील, उत्तरदायी र प्रतिस्पर्धी नागरिक बन्नुपर्छ : उपकुलपति वाग्ले

६ शिक्षासेवी पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १८:२०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँ विश्वविद्यालयका उपकुलपति अच्युतप्रसाद वाग्लेले शिक्षा राष्ट्र निर्माणको आधारशिला भएको बताए ।
  • एलआरआई विद्यालयको ३८औँ वार्षिकोत्सवमा ६ जना शिक्षाविद्हरूलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ।
  • अपाङ्गता भएका बालबालिकालाई शिक्षामा ल्याउन ग्रिन तारा चाइल्ड हेभेन स्कुललाई ३ लाख रुपैयाँको यशोधरा पन्त शिक्षा सम्मान प्रदान गरिएको छ।

१२ फागुन, काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयू) का उपकुलपति अच्युतप्रसाद वाग्लेले शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र नभई राष्ट्र निर्माणको आधारशिला भएको बताएका छन्।

कलंकीस्थित एलआरआई विद्यालयको ३८औँ वार्षिकोत्सव कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले विद्यार्थीहरूलाई सिर्जनशील, उत्तरदायी र प्रतिस्पर्धी नागरिक बन्न प्रेरित गरे। उनले गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा नैतिक मूल्यमान्यतासहितको शिक्षाको आवश्यकतासमेत औँल्याउँदै विद्यालयको पहलको प्रशंसा गरे।

सोही समारोहमा देशका विभिन्न भागमा रहेर शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने ६ जना विशिष्ट शिक्षाविद्हरूलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। पुरस्कृत हुनेहरूमा काभ्रेका उदिम पन्त, कैलालीका पदमसिंह कुँवर र प्रेमनिधि ओझा, ललितपुरका भोलानाथ ओझा, काठमाडौँका अनुमोदन केसी तथा पोखरा (कास्की) का किरण सापकोटा रहेका छन्।

शिक्षा विकास, विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण तथा विद्यार्थीको समग्र विकासमा उनीहरूले खेलेको भूमिकाको कदर गर्दै उक्त सम्मान अर्पण गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दिपक जोशीले जानकारी दिए ।

यसैगरी, अपाङ्गता भएका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन र उनीहरूको पठनपाठनमा उल्लेखनीय योगदान पुर्‍याएबापत गोकर्णेश्वर नगरपालिका–९ स्थित ‘ग्रिन तारा चाइल्ड हेभेन स्कुल’ लाई ३ लाख रुपैयाँ राशिको ‘यशोधरा पन्त शिक्षा सम्मान’ प्रदान गरिएको जोशीले जानकारी दिए ।

कार्यक्रममा खेलकुद, पत्रकारिता र पठनसंस्कृति विकासमा योगदान पुर्‍याउने तीन जना व्यक्तित्वलाई जनही २५ हजार रुपैयाँ राशिको ‘लोकेन्द्रबहादुर चन्द पुरस्कार’ बाट सम्मान गरिएको छ।

खेलकुदमार्फत अनुशासन र नेतृत्व विकासमा योगदान पुर्‍याएबापत डायमन्ड स्पोर्ट्स एकेडेमीका सञ्चालक कुमार राई, पत्रकारिता क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएबापत पत्रकार ईश्वर ढकाल र शैक्षिक प्रकाशनमार्फत योगदान पुर्‍याएबापत ‘कलेज रिडर्स’ का संस्थापक जितेन्द्र घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

वार्षिकोत्सवको अवसर पारेर विद्यालयले आन्तरिक रूपमा उत्कृष्ट कार्य गर्ने शिक्षक, कर्मचारी तथा शैक्षिक सत्रभर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई समेत नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?