नेकपा एमालेका नेता घनश्याम खतिवडा चौथो पटक मोरङ क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा गर्दैछन् । तीन पटक प्रतिस्पर्धा गर्दा एक पटक (२०७४) मा विजयी भएका उनी अहिले चुनावी अभियानमा छन् । खतिवडासँग निर्वाचनका विषयमा अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी :
तपाईँको घरदैलो अभियान कस्तो चलिरहेको छ ?
हामी जनतासँग घरदैलो कार्यक्रममा छौँ । चार वटा पालिकाको यो क्षेत्र कुलझोराको पुछारदेखि माथि भेडेटारसम्म पर्छ । सबै घरमा जान सम्भव छैन । हामीले टोल-टोलमा र खासगरी चोक-चोकमा जनताहरूसँग भेट्ने गरी आह्वान गरेर काम गरिरहेका छौँ ।
घरदैलो हामीले ४ गतेदेखि गरेका हौं । घरदैलो अभियानले मलाई धेरै उत्साहित बनाएको छ । धेरै जनताहरूका आशा, अपेक्षाहरू हामीलाई फिल्डमा पनि राखिदिनुभएको छ, मागपत्रको रूपमा पनि राख्नुभएको छ ।
यी सबै कुराहरूलाई लिएर नेकपा एमाले ‘सुखी नेपाली र समृद्ध राष्ट्र निर्माण’ को अभियानमा प्रतिबद्धतापत्रका साथ हामी अगाडि आएका छौँ । मैले एक जना सांसदको हिसाबले भोलि प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहँदा यो क्षेत्रका जनताका आवाज, समस्याहरू संसद् भित्र लान्छु भनेर मैले प्रतिबद्धता जाहेर गरेको छु । जनसमर्थनको लहर बढिरहेको छ ।
अन्य उम्मेदवार साथीहरूभन्दा मैले यही क्षेत्रमा हुर्किएर राजनीति गरेको, यहाँका चोक-चोक, टोल-टोलहरू र हरेक बस्तीहरूका समस्याहरू ज्ञातव्य भएको हिसाबले यो हाम्रो प्रतिनिधि हुनसक्छ भनेर जनताले मलाई अनुमोदन गर्नु हुनेछ।
विगतमा एकचोटि म अनुमोदित भएर छानिएर प्रतिनिधिसभामा जाँदा यो क्षेत्रका विकास निर्माणका कुरालाई सहजीकरण गर्नेदेखि मैले नीति निर्माण, कानुन निर्माणका तहमा खेलेका भूमिकाहरूलाई जनताले केही सुधार गर्दै यी विषयसमेत थप्दै अगाडि जानुपर्छ भनेर सुझाव पनि दिइरहनुभएको छ ।
जेन्जी मुभमेन्ट पछाडि एमाले उम्मेदवारहरूलाई घरदैलो गर्न समस्या भयो भन्ने सुनिराखेका छौँ । तपाईँले कस्तो अनुभूति गर्नुभएको छ ?
मैले त्यस्तो अनुभूति गरेको छैन । मलाई फूलमाला, अबिर लगाएर जनताले चोक-चोकमा स्वागत गर्नुभएको छ । यहाँ मैले कसैलाई घरदैलोमा डिस्टर्ब गर्नुपर्ने छैन । मलाई कसैले डिस्टर्ब गर्नुपर्ने आवश्यकता पनि देख्दिनँ । किनभने, म यही क्षेत्रमा जनताको बीचमा जन्मिएर हुर्किएको हो ।
राजनीतिक कलङ्क मसँग छैन । म इमान, निष्ठा र आदर्शको राजनीति गर्ने मान्छे हो । मैले जितमा उन्माद पनि देखाइनँ, हारमा निराशा र कुण्ठा पनि बोकिनँ ।
मैले निर्वाचन हारेर पनि हेरेको छु, जितेर पनि काम गरेको छु । त्यसले गर्दा मलाई त्यस्ता कुराले कुनै उतारचढाव ल्याउँदैन र जनताको बीचमा जानका लागि कुनै त्यस्तो अप्ठ्यारो पनि छैन ।
जनतासँग म सांसद हुँदा गरेका कुरा पनि छन् र सांसद नहुँदा पुर्याए योगदान पनि । म आचारसंहिता भित्र रहेर, जनतासँगको सामिप्यतामा रहेर घरदैलो र चुनावी अभियानलाई निरन्तर अगाडि बढाइरहेको छु ।
राजनीतिमा युवाको कुरा अलि बढी उठिरहेको छ । तपाईंले युवाको नेतृत्व विकासमा ब्रेक लगाउनु भयो भन्ने गुनासो पनि सुनियो नि ?
युवाको कुरा राजनीतिमा उठ्नुपर्छ । हामी पनि युवा भएरै वयस्क भएको हो । मान्छेको भावनाको कुरा हो । म ६३ वर्ष पुगेँ, तर मेरो जोस र जाँगर ३६ वर्षको युवाको जत्तिकै छ । र, युवा स्पिरिटका साथ म अगाडि छु, त्यही ढङ्गको सोचाइका साथ अगाडि छु । युवा भन्ने कुरा उमेरको हिसाबले हुँदैन, भावना र कर्मको हिसाबले हुन्छ भन्ने कुरामा म विश्वास गर्छु ।
नयाँ नेतृत्वमा ब्रेक भएको छैन । स्थानीय पालिकाका साथीहरू काम गरेर आइरहनुभएको छ । मैले चुनाव लडिरहँदा एक पटक जितेँ, दुई पटक हारेँ । अहिले मैले जितेर काम गर्ने कुराको प्रतिबद्धता छ ।
कति पल्ट को दोहोरियोभन्दा पनि नेकपा एमाले पार्टीले चुनावमा टिकट दिने एउटा सिस्टम छ । त्यो सिस्टम भनेको तलका कमिटीले सिफारिस गर्छ, केन्द्रीय कमिटीले निर्णय गर्छ । तलका कमिटीले पनि मलाई सिफारिस गरेको छ, केन्द्रीय कमिटीले निर्णय पनि गरेको छ । अनि मैले चाहिँ टिकट पाइनँ उसले चाहिँ पायो भनेर कोही एमाले पङ्क्तिको साथीहरू असन्तुष्ट पनि हुनुहुन्न ।
सबै साथीहरू एक मनका चुनावमा लागिरहनु भएको छ। यो हाम्रो नेकपा एमाले पार्टीलाई अलि गलत ढङ्गले प्रचार गर्न चाहने तत्वहरूको खेल मात्रै हो । ठिक काम गर्यो भने दोहोरिन्छ, गलत काम गर्यो भने एकैचोटी जान पनि सक्छ । मैले ठिक काम गरेको छु, त्यसले गर्दा दोहोरिएर आएको छु ।
तपाईंले आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई देख्नुभएको छ ?
अहिले यहाँ नेपाली कांग्रेससँग नै मुख्य प्रतिस्पर्धा हुन्छ । म जहिले पनि मैत्रीपूर्ण म्याच खेल्ने खेलाडी हो निर्वाचनमा । हामीले स्वस्थ निर्वाचन गर्नुपर्छ, निष्पक्ष निर्वाचन गर्नुपर्छ । त्यसबाट आउने परिणामलाई सबैले स्वीकार्नुपर्छ भनेर अन्य उम्मेदवारहरूसँग पनि कुरा गरिरहेको छु । उहाँहरूसँग पनि शिष्टता भित्र बसेर चुनाव प्रचारमा जाउँ भन्ने छ ।
प्रतिक्रिया 4