+
+
Shares

निर्वाचन लक्षित गर्दै आयल निगमले बढायो ग्यास आयात, एकैदिन भित्रियो १३८ बुलेट

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते ११:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले आगामी निर्वाचनलाई मध्यनजर गरी खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको छ।
  • कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भारतीय आयल कर्पोरेसनबाट यस वर्षकै सबैभन्दा बढी १३८ बुलेट ग्यास नेपालतर्फ प्रस्थान गरेको जानकारी दिनुभयो।
  • निर्वाचन अवधिमा ग्यासको अभाव हुन नदिन निगमले ग्यास आयातको परिमाणमा उल्लेख्य वृद्धि गरेको र आपूर्ति व्यवस्थालाई नियमित बनाएको छ।

१३ फागुन, काठमाडौं । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको बताएको छ ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न निगमले ग्यास आयातको परिमाणमा उल्लेख्य वृद्धि गरेको कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।

कार्यकारी निर्देशक भट्टका अनुसार भारतीय आयल कर्पोरेसनबाट नेपालका लागि मंगलबार यो वर्षकै सबैभन्दा बढी ग्यास लोड भई नेपालतर्फ प्रस्थान भएको छ ।

हिजो मंगलबार मात्रै विभिन्न ग्यास डिपोहरूबाट कुल १३८ बुलेट ग्यास लोड भएको निगमले जनाएको छ । यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिण्डर बराबर हो ।

निगमका अनुसार बरौनी डिपोबाट ३६ बुलेट, मथुराबाट ३६, पारादीपबाट ४०, दुर्गापुरबाट २४ र हल्दियाबाट २ बुलेट गरी कुल १३८ बुलेट ग्यास नेपालका लागि लोड भएको छ ।

कार्यकारी निर्देशक भट्टले निर्वाचन अवधिमा ग्यासको अभाव हुन नदिन निगम सचेत रहेको र आपूर्ति व्यवस्थालाई नियमित बनाइएको बताए ।

‘हामीले निर्वाचनलाई ध्यानमा राखेर उच्च परिमाणमा ग्यास आयात गरिरहेका छौं,’ भट्टले भने, ‘निर्वाचनको समयमा पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउनेछन्, आपूर्तिका सम्बन्धमा ढुक्क हुन आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?