News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को फागुन महिनामा ५१ हजार १ सय ९२ टन एलपी ग्यास आयात भएको छ, जुन पछिल्लो तीन महिनाको उच्चतम हो।
- माघ महिनामा मागभन्दा झन्डै ३ हजार २ सय टन कम ग्यास आयात भएको र नेपाल आयल निगमले २८ फागुनदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिरहेको छ।
- साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २ सय ८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको तुलनामा १० हजार १ सय ८७ टन बढी हो।
८ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मुख्य जाडो महिनाहरूमा खाना पकाउने एलपी ग्यास आयातमा कमी आउँदा त्यसको असर बजारमा कायमै छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आव फागुनमा मात्रै ५१ हजार १ सय ९२ टन ग्यास नेपाल भित्रिएको छ, जुन पछिल्लो तीन महिनाकै उच्च आयात हो ।
यसअघि माघमा ४६ हजार २ सय ८५ टन र पुसमा ४७ हजार ४ सय ६० टन आयात भएको थियो ।
आयात कमीसँग पश्चिम एसियामा जारी तनावका कारण उपभोक्ताले ग्यास पाउन सकिरहेका छैनन् । नेपाल आयल निगमले २८ फागुनदेखि आधा सिलिन्डर ग्यास बेचिरहेको छ ।
सामान्यतया जाडो महिनामा ग्यास खपत उल्लेख्य बढ्ने र यो समयमा मासिक माग करिब ४९ हजार ५ सय टन पुग्ने गर्छ । तर, चालु आव पुस र माघमा भएको आयात हेर्दा बजार मागभन्दा कम ग्यास भित्रिएको देखिन्छ ।
विशेषगरी माघमा मागको तुलनामा झन्डै ३ हजार २ सय टन कम ग्यास आयात भएको छ ।
गत आव २०८१/८२ को तुलनामा पनि यस वर्षका यी महिनामा ग्यास आयात अवस्था केही कमजोर देखिएको छ । गत वर्ष पुसमा ४७ हजार ६ सय ८३ टन आयात भएकोमा यस वर्ष सोही महिनामा २ सय २३ टन कम आएको छ ।
त्यसैगरी गत वर्ष माघमा ४८ हजार ८ सय ८४ टन ग्यास भित्रिएको थियो, जसको तुलनामा यस वर्ष माघमा २ हजार ५ सय ९९ टनले आयात खुम्चिएको देखिन्छ ।
यद्यपि, फागुनमा भने आयातको चित्र फेरिएको छ । गत वर्ष फागुनमा ४७ हजार ७ सय ५४ टन ग्यास आयात भएकोमा यस वर्ष सोही महिना ३ हजार ४ सय ३८ टन वृद्धि भई ५१ हजार १ सय ९२ टन भित्रिएको छ ।
समग्र आठ महिना (साउनदेखि फागुन) को तथ्यांक विश्लेषण गर्दा आयातको कुल परिमाण गत वर्षको तुलनामा बढेको छ । चालु आव फागुन मसान्तसम्म कुल ३ लाख ७२ हजार २ सय ८२ टन ग्यास आयात भएको छ ।
यो गत वर्ष सोही अवधिको तुलनामा १० हजार १ सय ८७ टन बढी हो । गत वर्ष फागुन मसान्तसम्म कुल ३ लाख ६२ हजार ९५ टन ग्यास भित्रिएको थियो ।
प्रतिक्रिया 4