+
+
Shares

मोरङ ३ : लालपुर्जाको पर्खाइमा चार दशक

मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा उनी जस्ता हजारौँ मतदाता छन्, जो वर्षौंदेखि लालपुर्जाको सपना बुनेर बसेका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ फागुन १४ गते ६:५९
घरदैलोमा एमाले उम्मेदवार इरान राई । राईसँग मतदाताले सुकुमबासी समस्या समाधान गर्न माग गरेका थिए ।

१३ फागुन, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१० मनकामना टोलका ५५ वर्षीय जीवन राईका कपाल र दाह्री फुल्न थालिसके । तर युवा अवस्थामै देखेको जग्गा धनीपुर्जा पाउने सपना पूरा भएको छैन । उनको परिवार यो टोलमा बसेको ४६ वर्ष पुग्यो ।

२०३६ सालदेखि बसोबास गर्दै आएका राईले जग्गाको धनीपूर्जा पाउनका लागि नधाएको सरकारी अड्डा छैन । उनले हात पारेको भनेको बसोबासको निस्सा मात्र हो । उनले जोतभोग गरिरहेको माटोको धनीपुर्जा भने अर्कै व्यक्तिको नाममा छ ।

‘२०३६ सालदेखि हाम्रो बसोबास हो, अरूले नै हाम्रो जग्गाको धनीपुर्जा निकालेको छ भन्छन्,’ उनले भने, ‘मेरो जग्गाको धनीपुर्जा अर्कैको नाममा छ, जग्गाधनी धेरै छन् ।’ आफ्नो नाममा जग्गा नहुँदा उनी धनीपुर्जा प्रयोग गरेर प्राप्त हुने सुविधाबाट बञ्चित छन् ।

जीवन राई प्रतिनिधि मात्रै हुन् । मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा उनी जस्ता हजारौँ मतदाता छन्, जो वर्षौंदेखि लालपुर्जाको सपना बुनेर बसेका छन् । यो क्षेत्रको सुकुम्बासी समस्या र जग्गाको दोहोरो स्वामित्व विवाद पेचिलो छ । जुन हरेक चुनावमा हार र जितको फैसलाका लागि निर्णायक छ ।

‘सुकुम्बासी समस्या’ भोट माग्ने सबैभन्दा ठूलो हतियार हो । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका सचिव भानुभक्त ढकालले यही मुद्दालाई मुख्य एजेन्डा बनाएका थिए । उनले सार्वजनिक रूपमै भनेका थिए, ‘अर्को पटक निर्वाचन आउँदा उम्मेदवारले सुकुम्बासीको समस्या उठाउनै नपर्ने गरी समाधान गर्छु ।’

लालपुर्जाविहीन जीवन राई ।

तर, पाँच वर्ष बित्यो, ढकाल मन्त्री पनि बने । तर समस्या जस्ताको तस्तै रह्यो । २०७९ को निर्वाचनमा उनले पराजय भोग्नुपर्‍यो । अहिले ढकाल तेह्रथुम पुगेका छन् । एमालेबाट क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका इरन राईसँग मतदाताले सुकुम्बासी समस्या समाधानको मुद्दा उठाइरहेका छन् ।

एमाले उम्मेदवार राई यो समस्या समाधान हुन नसक्नुको दोष अस्थिर राजनीति र बारम्बार ढल्ने सरकारलाई दिन्छन् । इतिहास कोट्याउँदै उनी भन्छन्, ‘२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले पहिलो पटक ऋषिराज लुम्सालीको संयोजकत्वमा सुकुम्बासी समस्या समाधान आयोग बनाएको थियो । त्यतिबेला मोरङमा लालबाबु पण्डितले काम गर्नुभयो । हामीले ग्रामीण भेगका हरेक पाइलामा पुगेर नापी गरेका थियौँ । तर सरकार ढलेपछि सबै प्रक्रिया रोकियो ।’

राईका अनुसार वर्तमान कानुन र ऐन मात्र यो समस्या समाधान गर्न पर्याप्त छैन । ‘अहिलेको ऐनले मात्र दोहोरो स्वामित्वको गाँठो फुकाउन सक्दैन, उनले भने, ‘विशेष कानुन चाहिन्छ ।’

फागुन २१ को निर्वाचनका लागि मैदानमा रहेका दल र स्वतन्त्र उम्मेदवारले सुकुम्बासी समस्या र दोहोरो स्वामित्व विवादलाई प्राथमिकताका साथ अघि सारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका गणेश कार्कीले परम्परागत दलहरूको असफलतालाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएका छन् । आफ्नो बाचा पत्रमा उनले सुकुम्बासी र दोहोरो स्वामित्वको मुद्दालाई प्राथमिकताका साथ उठाएका छन् ।

घरदैलोमा रास्वपाका गणेश कार्की

‘मोरङ क्षेत्र नम्बर ३ का स्थानीय समस्या सुकुम्बासी, दोहोरो स्वामित्व, अव्यवस्थित बसोबास, सरकारी विद्यालय र विश्वविद्यालयको अवस्था, सरकारी स्वास्थ्य चौकी र अस्पतालको अवस्था, रोजगारी र उद्यमशिलताको अभावमा विदेशिनुपर्ने बाध्यता, नदी कटान, तटबन्धन र सिँचाइका समस्या, वन्यजन्तु र मानव द्वन्द्व, सिमसार र वनपैदावारको प्रयोग विहिनता, सडक र विकास, अधकल्चो पारिएका विकास संरचनाहरू स्थानीयका आवश्यकता अनुसार संसद्को रोस्ट्रममा प्रस्तुत गर्नेछु,’ उनले भनेका छन्, ‘विकास आयोजनाहरूको गुणस्तर र समयसीमाको संसदीय अनुगमन गरी ढिलासुस्ती हुन नदिन समन्वयकारी भूमिका खेल्छु ।’

२०७९ मा निर्वाचित नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पनि यो दौडमा पछि छैनन् । उनले आफ्नो कार्यकालमा स्वास्थ्य सेवालाई प्राथमिकता दिए पनि सुकुम्बासी समस्या र दोहोरो स्वामित्वको विवाद समाधान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आएका छन् । उनले नोबेल अस्पतालमार्फत प्रवाह गरिने निःशुल्क उपचार सेवा र सुकुम्बासी बस्तीको विकासलाई जोडेर मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा. देउमान साम्बाहाम्फेले पनि सुकुम्बासी समस्यालाई अधिकारको मुद्दाका रूपमा उठाएका छन् । श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र उम्मेदवारहरूका लागि पनि यो क्षेत्रमा लालपुर्जा नै चुनावी एजेन्डा बनेको छ ।

दशकौँदेखि एउटै आश्वासन सुनेर थाकेका मोरङ-३ का मतदाता यस पटक भने सचेत देखिन्छन् । जीवन राई अब निर्वाचित भएर जानले धनीपुर्जा बाँड्छन् भन्नेमा विश्वस्त छैनन् । समस्या त धेरै हुन्छन नि, एसो राख्न पाए हुन्थ्यो,’ उनले भने, ‘आशा गर्दा गर्दै यतिका साल बितिसक्यो, खै के होला र ।’

यस्तो छ अंक गणित 

मोरङ ३ का मुख्य प्रतिस्पर्धी ।

कम्युनिस्ट गढ मानिने मोरङ-३ मा गत निर्वाचनमा एमाले उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार बढी मतान्तरले पराजित गर्दै कां‌ग्रेसका सुनिल शर्मा विजयी भएका थिए । शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ मत पाएका थिए । २०७४ सालमा भने शर्मा ढकालसँग पराजित भएका थिए ।

कांग्रेसका शर्मालाई यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश कार्कीले चुनौती दिइरहेका छन् । एमालेका इरनकुमार राई, नेकपाका डा. देउमान सम्बाहाम्फेले पनि टक्कर दिइरहेका छन् । श्रम संस्कृति पार्टीको पनि प्रभाव रहेको यो क्षेत्रमा अमिर मगर चुनावी मैदानमा छन् । दल र स्वतन्त्र गरी क्षेत्र नम्बर ३ मा १८ उम्मेदवार छन् ।

२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसको २९ हजार ८५९ र एमालेको २५ हजार २८ मत आएको थियो । रास्वपाले १४ हजार ४०८ र राप्रपाले ९ हजार ३७२ मत पाएको थियो । यो क्षेत्रमा १ लाख ५८ हजार ५७ मतदाता छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?