१४ फागुन, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रूपमा तर्बुजाखेती सुरु गरेको छ ।
हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
यहाँको हावापानी, माटो तर्बुजा खेतीका लागि उपयुक्त हुने देखिएकाले व्यावसायिकरुपमा अगाडि बढाउन पहिलो चरणमा बीउ, बेर्ना, उपकरण तथा प्राविधिक सहयोग गरिएको उनले बताए ।
‘सम्भवतः जिल्लामै पहिलो पटक तर्बुजाखेती सुरु गरिएको छ,’ उनले भने, ‘हिलो चरणमा यहाँका किसानले परीक्षणका रुपमा लगाएका छन् । यो राम्रो हुनासाथ ठूलो परिमाणमा व्यावसायिक उत्पादनमा जोड दिन्छौँ ।’
यहाँ उत्पादित तर्बुजा किसान आफैंले बिक्री गर्नसक्ने र यदि नसकेमा नगरपालिकाले जिम्मा लिने उनले बताए ।
भीरकोट नगरपालिका–१ को आँधीखोला नदी किनारको भीरकोट खेलमैदान परिसर, वडा नं ४, वडा नं ५ को पकान, वडा नं ६ को एकुवार फाँटको २० रोपनी क्षेत्रफलमा पहिलो पटक तर्बुजाखेती सुरु गरिएको हो । यसपटक १८ किसानले तर्बुजा रोपेका छन् ।
यहाँ रोपिएको तर्बुजा आगामी जेठ मसान्तसम्ममा उत्पादन लिन सकिने परियोजनाका कृषि प्राविधिक अनिश अर्यालले जानकारी दिए । जिल्लामै पहिलो, नयाँ र नमूनाखेती भएकाले यहाँका किसान यसखेती प्रविधि बुझेर व्यावसायिक उत्पादनमा लाग्न सक्ने उनले बताए ।
लक्ष्मी र सरस्वती दुई जातका तर्बुजा नमुना परियोजनाका रूपमा रोपिएका छन् । नगरपालिकाले तर्बुजाका साथै सिम्ला मिर्च, अकबरे खुर्सानीसहित बेमौसमी तरकारी उत्पादनमा जोड दिएको छ ।
प्रतिक्रिया 4