+
+
Shares

२१ दिन बन्द गरेर मर्स्याङ्दी जल विद्युत् केन्द्रको मर्मत थालियो

हाल ड्याम साइटको माथिल्लो तटीय क्षेत्र तथा डिसेन्डर नजिक कटानका कारण जोखिममा परेको ड्याम संरचनाको संरक्षण कार्य भइरहेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १५:४६

१४ फागुन, काठमाडौं । तनहुँमा अवस्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जल विद्युत् केन्द्र २१ दिनका लागि बन्द गरी मर्मत सम्भार थालिएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म २९३ दशमलव ५ गिगावाट घण्टा विद्युत् उत्पादन गरिसकेको केन्द्रले आवश्यक संरचनागत तथा प्राविधिक सुधारका लागि २ फागुनदेखि प्लान्ट सटडाउन लिएको हो ।

सटडाउन अवधिमा प्लान्ट बन्द नगरी गर्न नसकिने मुख्य मर्मत कार्यहरू अघि बढाइएको केन्द्र प्रमुख कपिल देव मानजनले बताए ।

गत आर्थिक वर्षमा ४५१ दशमलव ७ गिगावाट घण्टा विद्युत् उत्पादन गरेको यस केन्द्र क्षमता हिसाबले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विद्युतकेन्द्रमध्ये तेस्रो र डिजाइन वार्षिक उत्पादनका आधारमा दोस्रो स्थानमा पर्छ ।

संरचना संरक्षणदेखि उपकरण मर्मतसम्म

हाल ड्याम साइटको माथिल्लो तटीय क्षेत्र तथा डिसेन्डर नजिक कटानका कारण जोखिममा परेको ड्याम संरचनाको संरक्षण कार्य भइरहेको छ। वर्षौंदेखि मुख्य इन्टेक नजिक रहेको कम्पनसेटिङ पोखरीमा थुप्रिएको बालुवा निकाल्ने काम पनि सँगसँगै अघि बढाइएको छ।

त्यस्तै, करिब १४ वर्षदेखि सञ्चालनमा नरहेको अन्डर स्लुइस गेट सञ्चालन संरचनाको मर्मत थालिएको छ। यो संरचनाले बालुवा तथा बोल्डर विद्युत् गृह सुरुङभित्र पस्न नदिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको थियो।

विद्युत् गृहमा युनिट नम्बर ३ को ओभरहालिङ, एलटी टाइब्रेकर्स परिवर्तन तथा अन्य आवश्यक विद्युतीय र मेकानिकल मर्मतका काम पनि सटडाउन अवधिमै भइरहेका छन्।

सुक्खायाम रोजेर काम 

सुक्खायाममा खोलाको बहाव न्यून रहने र उत्पादन पनि कम हुने भएकाले लामो समयदेखि थाँती रहेका सिभिल मर्मत कार्य सम्पन्न गर्न यो समय छनोट गरिएको केन्द्रले जनाएको छ।

यसअघि ठेक्का सम्झौता भए पनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन। तालुक कार्यालय, विभाग, निर्देशनालय तथा सम्बन्धित निकायमा स्पष्टीकरण दिएपछि उच्च व्यवस्थापनले सटडाउन स्वीकृत गरेसँगै काम तीव्र बनाइएको हो।

२४ घण्टा काम, जनशक्ति व्यवस्थापन चुनौती

प्लान्ट बन्द अवधिमा गर्नुपर्ने अन्य कामसमेत यही समयमा सक्ने लक्ष्य राखिएको छ। युनिट नम्बर ३ को ओभरहालिङमा सोही विद्युत गृहका कर्मचारीसँगै अन्य जलविद्युत् केन्द्रका प्राविधिकलाई पनि संलग्न गराइएको छ।

ड्याम साइटमा सिभिल मर्मतका काम तीन सिफ्टमा २४ घण्टै सञ्चालन गरिएको छ। निर्वाचन नजिकिएकाले ठेकेदारलाई जनशक्ति व्यवस्थापनमा केही कठिनाइ भए पनि सम्बन्धित सबै पक्षले काम छिटो सम्पन्न गर्ने प्रयास गरिरहेको केन्द्र प्रमुख मानजनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?