+
+
Shares

‘बर्दघाट एसएमई भिलेजले साना तथा मझौला उद्योग प्रवर्द्धन गरोस्’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दघाट एसएमई भिलेजलाई नवलपरासीमा साना तथा मझौला उद्योग प्रबर्द्धन गर्ने पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाउन नेपाल उद्योग परिसंघले सिफारिश गरेको छ।
  • नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले जीडीपीमा उद्योगको योगदान बढाउन उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए।
  • बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले साना उद्योग प्रबर्द्धनका लागि औद्योगिक ग्राम आवश्यक रहेको र स्थानीय उत्पादनसँगै राष्ट्रिय स्तरका उद्योग स्थापना हुने विश्वास व्यक्त गरे।

१४ फागुन, काठमाडौं । बर्दघाट एसएमई भिलेज समुन्नत नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरूले गरेका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तर्क्रियामा लगानीकर्ताले यस्तो विश्वास गरेका हुन् ।

परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले परिसंघ उद्यमशीलता प्रवर्द्धन गर्न सधै तत्पर रहेको भन्दै बर्दघाट एसएमई भिलेजलाई मोडल ग्राम बनाउन पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले बर्दघाट एसएमई ग्राममार्फत यस क्षेत्रमा साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्न सकिने बताए । उद्योग स्थापना गर्दा लाग्ने लगानीमध्ये एक तिहाई जग्गामा गर्नुपर्ने बाध्यता रहेकाले औद्योगिक ग्रामको विकास आवश्यक रहेकोमा उनको जोड थियो ।

नवलपरासी जिल्लामा ठूला उद्योगहरू स्थापित भइसकेका, सडक पूर्वाधार बनेका कारणले पनि यस क्षेत्रमा साना तथा मझौला उद्योगको विकास गर्न सकिने उनको भनाइ छ । उद्योग विकास गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण भएका नेतृत्वकर्ताका कारण यस क्षेत्रमा उत्पादनमूलक उद्योगहरू बढ्ने उनले बताए । कार्यवाहक अध्यक्ष चौधरीले परिसंघले मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको जानकारी गराउँदै बर्दघाट एसएमई ग्रामको विकासका लागि पनि आवश्यक भूमिका खेल्ने बताए ।

नेपाल सरकारका पूर्व सचिव अर्जुन पोखरेलले एक पालिका एक औद्योगिक ग्राम अवधारणा अनुसार बर्दघाट एसएमई भिलेज अगाडि बढाइएको बताए । उनले निजी क्षेत्रसँगको सहकार्य तथा सहयोगविना औद्योगिक ग्राम सफल हुन नसक्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशमा रोजगारी नभएकै कारण ठूलो संख्यामा युवा जनशक्ति विदेसिएको भन्दै निजी क्षेत्रले नै रोजगारी दिन सक्ने र त्यसका लागि उद्योग स्थापना अनिवार्य रहेको बताए । उनले १०० अर्ब डलरको अर्थतन्त्र बनाउन लगानी प्रोत्साहन आवश्यक रहेको र कानुन अनुसार गरेको प्रतिफलको सम्मान सबैले गर्न सक्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगको योगदान घटेर ५ प्रतिशतमा आइसकेको भन्दै जीडीपीमा उद्योगको योगदान कसरी बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताए ।

बंगलादेश, भारतले सफल रुपमा औद्योगिक पार्क सञ्चालन गरिरहेको र उनीहरूले अर्थतन्त्रमा योगदान दिएको उदाहरण दिँउदै उनले यहाँ पनि त्यस्तै सुविधा दिएर औद्योगिक पार्क/ग्राम सफल बनाइनुपर्नेमा जोड दिए ।

यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ताले स्थानीयको सहयोगका कारण एक वर्षभित्रै आफूले बर्दघाटमा कजरीया टायल उद्योग स्थापना गर्न सफल भएको बताए । उनले यस क्षेत्रमा ठूला उद्योगसँगै साना तथा मझौला उद्योग पनि चाहिने भएकाले बर्दघाट एसएमई भिलेजलाई सफल बनाउनुपर्ने बताए ।

ठूला उद्योगसँगै साना उद्योग स्थापना गर्न सकिए त्यसले मूल्य अभिवृद्धि गर्न, ठूला उद्योगको लागत घटाउन पनि सहयोग गर्ने र रोजगारी सिर्जनामा मद्दत गर्ने उनको भनाइ छ।

बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले साना उद्योगहरूको प्रवर्द्धनका लागि औद्योगिक ग्राम आवश्यक रहेको बताए । उनले स्थानीय उत्पादनसँगै राष्ट्रिय स्तरमा स्थापित उद्योगहरूले यस क्षेत्रमा उद्योग स्थापना गर्ने विश्वास व्यक्त गरे ।

उद्योग व्यापार संघ बर्दघाटका उपाध्यक्ष लिलाहरी पौडेलले बर्दघाटको भौगोलिक पहुँच उद्योग स्थापनाका लागि महत्तवपूर्ण रहेको बताए । भारतसँगको सीमाना नजिक रहेकाले कच्चा पदार्थ आयात तथा उत्पादित वस्तु निर्यातमा सहजता रहेको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले यस क्षेत्र रुपन्देहीसँग नजिक रहेको, सडक पूर्वाधार, विद्युतलगायतका पूर्वाधारका कारण नयाँ उद्योग सञ्चालन गर्न सहज हुने बताए । उनले बर्दघाट एसएमई भिलेजमा ठूला उद्योग समेत ल्याउन सक्नेगरी अगाडि बढ्नुपर्ने बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यस क्षेत्र कृषि, पर्यटनसँगै ठूला उद्योगहरूका लागि राम्रो सम्भवना देखिएको बताए । २५० भन्दा बढी वित्तीय संस्थाहरूको उपस्थिति यस क्षेत्रमा रहेकाले वित्तीय पहुँच सहज रहेको उनले बताए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले युवालाई उद्यमशीलता प्रबद्र्धनमा सहयोग गर्ने नीतिले मात्रै उनीहरूलाई देशमै रोकेर उद्यम बन्न प्रोत्साहित गर्ने बताए । अन्तर्क्रियामा सय जना भन्दा बढी उद्योगी–व्यवसायी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?