News Summary
Generated by OK AI. Editorially reviewed.- ओली अहिले आफ्नै निर्वाचन क्षेत्र झापा-५ मा बाँधिएका छन् र विनम्रता प्रस्तुत गरेर भोट माग्न बाध्य छन् ।
- ओली राेक्न भन्दै मेयरबाट राजीनामा दिएर आएका बालेन्द्र शाहका कारण ओली दबाबमा परेका छन् ।
- अघिल्ला निर्वाचनमा ओली हेलिकप्टरमार्फत देशदाैडाहा गर्थे, अहिले बालेन सडकमार्गमार्फत गरिररहेका छन् ।
१४ फागुन, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा हेलिकप्टरमार्फत दार्चुला पुगेर चुनावी अभियान सुरु गरेका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हेलिकप्टरमै देश दौडाहा गर्ने ओलीको दिनचर्या नै बनेको थियो । दुवै निर्वाचनमा देशभरका चुनावी सभामा पुगे ओलीले उखान टुक्कामार्फत विपक्षीमाथि बर्बर बर्सिन्थे ।
तर, अहिले ओलीका लागि समय बदलिएको छ । तिखो व्यङ्ग्य र आक्रामक भाषण गर्ने ओली हिजोआज आफ्नै निर्वाचन क्षेत्र झापा-५ मा बाँधिएका छन् । त्यही क्षेत्रका टोल-टोलदेखि घरदैलोसम्म पुग्दै विनम्रता प्रस्तुत गरेर आफ्नै लागि भोट माग्नुपर्ने अवस्थामा ओली पुगेका छन् ।
झापामा २०४८ सालेदेखि २०६४ बाहेक सबै निर्वाचन जित्दै आएका ओलीका लागि सामान्य अवस्थामा झापा-५ सुरक्षित अखडा थियो । जहाँ ओली उभिँदा सहजै जित्दै आएका थिए । सोही कारण निश्चिन्त भएर पार्टीका अन्य उम्मेदवार जिताउन देश दौडाहामा निस्किन्थे ।
तर, यस पटक ओलीलाई झापामै रोक्ने भन्दै काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन्द्र शाह(बालेन) प्रतिस्पर्धामा आएपछि ओली दबाबमा परेका छन् ।
स्वयं झापाकै मतदाताको मनोविज्ञान बुझेपछि ओली अहिले आफ्नै क्षेत्रमा बढी समय खर्चिरहेका छन् । समय मात्रै खर्चिरहेका छैनन्, स्वभाव नै परिवर्तन गरेर भोट माग्न बाध्य छन् । अचेल ओली आक्रोशित पनि सुनिँदैनन्, बोलीमा नरमता आएको छ । मतदाताका गुनासो ध्यान दिएर सुन्छन्, रुष्ट कार्यकर्ताको घरमै पुग्छन् ।

ओलीको शैली विपरीत बालेन भने उनकै विगतको शैली पछ्याएर देश दौडाहा गरिरहेका छन् । रास्वपाले धनगढीदेखि इटहरीसम्म गरेका चुनावी सभामा पुगेर उनले भाषण गरिसकेका छन् ।
बालेन देश दौडाहामा निस्किए पनि ओलीले कमै मात्र झापा–५ छाडेका छन् । उनको बढी समय झापा–५ मै बितिरहेको छ । ओली र बालेन दुवै आ–आफ्नो पार्टीबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार पनि हुन् ।
युवा उमेर साइकलमा घुम्थे, अहिले घरदैलोमा छन्
राजनीतिका चतुर खेलाडी मानिने ओली बुधबार दिउँसो गौरीगञ्ज गाउँपालिका-३ मा पर्ने क्याम्पस चोक, ठेकी टोल, तेलकानीलगायत क्षेत्र पुगेका थिए । ओली पुग्दा एमाले कार्यकर्ता र स्थानीयले खुलेर स्वागत गरेका थिए ।
झापा–५ कै यो क्षेत्रमा ओली यसअघि चुनावी प्रचारमा आएको स्थानीयलाई जानकारी छैन । धेरैको बुझाइमा ती क्षेत्रमा ओली भोट माग्न पहिलो पटक पुगेका हुन् ।

गौरीगञ्ज गाउँपालिका–३ का वडाध्यक्ष श्रवण गिरीलाई समेत २०७४ यताका निर्वाचनमा भोट माग्न ओली त्यहाँ पुगेको जानकारी छैन । यद्यपि ओली त्यहाँ कहिल्यै नपुगेको भने सत्य नभएको उनले बताए ।
‘पहिले बा साइकलमा घुमेको क्षेत्र हो,’ वडाध्यक्ष गिरीले भने, ‘२०७९ मा गौरीगञ्जको एक आमसभामा आउनुभएको थियो । त्यो बेला घरदैलोसम्म पुग्ने समय भने भएन ।’
संकट देखेपछि घरघर
एमाले दमकका एक नेताका अनुसार बालेनको प्रवेशपछि ओलीले संकटको महसुस गरेका छन् । यही कारण ओली आफै कार्यकर्ता र मतदाताको घरघर पुगिरहेका छन् । ‘बालेनको आगमन र पार्टी भित्रको असन्तुष्टिका कारण उहाँलाई समस्या पर्ने सम्भावना थियो,’ ती नेताले भने, ‘अब भने अवस्था पहिलेजस्तो रहेन । कार्यकर्ता र मतदातालाई भेट्दै-समेट्दै जाँदा सुध्रिदै गएको छ ।’
विगत चुनावमा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विरलै मात्र घरदैलो गर्नुहुन्थ्यो । तर, यस पटक क्षेत्र छाड्दा सिर्जना हुनसक्ने राजनीतिक भ्याक्युममा बालेनले खेल्न सक्ने डर हुनसक्छ ।
-राजनीतिक विश्लेषक गिरीश भट्टराई
नेता कार्यकर्ता पनि ओलीको स्वभावमा आएको परिवर्तनबाट आश्चर्यचकित छन् । ‘अध्यक्ष कमरेडको पहिलेको व्यवहार र अहिलेको व्यवहारमा निकै अन्तर छ । पहिला कठोरजस्तो लाग्ने मान्छे, अहिले साह्रै विनम्र । मतदाता पनि उहाँको फेरिएको स्वभावसँग प्रभावित देखिएका छन्,’ ती नेताले भने ।
एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी भने ठुला आमसभा नभएका कारण ओली देश दौडाहामा ननिस्किएको दाबी गर्छन् । ‘समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा लिएर हिजो देश दौडाहामा जानु भएको हो । यसपालि पार्टीले त्यस्तो ठुलो आमसभा राखेको छैन । आमसभा नै नभई जाने कुरा पनि भएन,’ भण्डारीले भने ।
बालेनले देशभरि सिर्जना गरेको लहर र पुराना दलप्रतिको वितृष्णाका कारण ओली रक्षात्मक अवस्थामा पुगेको राजनीतिक विश्लेषक गिरीश भट्टराई बताउँछन् । ‘यस्तो अवस्थामा कुनै पनि राजनीतिक दुर्घटना (हार) नहोस् भन्नका लागि उहाँ पार्टीको समग्र चुनावी अभियानभन्दा बढी आत्म केन्द्रित बन्न पुगेका देखिन्छ,’ उनले भने, ‘विगत चुनावमा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विरलै मात्र घरदैलो गर्नुहुन्थ्यो । तर, यस पटक क्षेत्र छाड्दा सिर्जना हुनसक्ने राजनीतिक भ्याक्युममा बालेनले खेल्न सक्ने डर हुनसक्छ ।’
प्रतिक्रिया 4