१४ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायलसँग ‘आतंकवाद’विरुद्धको लडाइँमा मिलेर लड्ने सहमति भएको बताएका छन् । इजरायल भ्रमणमा रहेका मोदीले बिहीबार इजरायली समकक्षी बेन्जामिन नेतन्याहुसँगको भेटपछि यस्तो बताएका हुन् ।
सन् २०१४ मा प्रधानमन्त्री बनेपटि प्रधानमन्त्रीका रूपमा मोदीको यो दोस्रो इजरायल भ्रमण हो । ‘भारत र इजरायल विश्वमा आतङ्कवादका लागि कुनै ठाउँ छैन भन्ने कुरामा स्पष्ट छन्,’ मोदीले भने, ‘हामी काँधमा काँध मिलाएर आतङ्कवादविरूद्ध उभिनेछौँ ।’ मोदीले ‘मानवता कहिल्यै पनि द्वन्द्वको शिकार बन्न नहुने’ बताए ।
बुधबार इजरायलको संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री मोदीले इजरायल र भारतबीच भविष्यमा प्रविधि र ऊर्जासहित विभिन्न क्षेत्रमा सहकार्यको चर्चा गरेका थिए । ‘हामी मिलेर संयुक्त विकास, उत्पादन र प्रविधि हस्तान्तरणका दिशामा अघि बढ्नेछौँ,’ मोदीले भनेका थिए । एकै समयमा दुवै देशले नागरिक, परमाणु ऊर्जा र अन्तरिक्षजस्ता क्षेत्रमा सहयोग अगाडि बढाउने पनि मोदीले बताए ।
दुवै नेताले भ्रमणलाई व्यापार र प्राविधिक सहयोगलाई प्रगाढ बनाउने उद्देश्यका साथ गरिएको बताएका छन् ।
प्रतिक्रिया 4