१५ फागुन, काठमाडौं । जेनजी आन्दोलनको अघिल्लो दिन अर्थात २२ भदौसम्म नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रूपमा हेरिएको थियो ।
तर, २३ र २४ भदौको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूतमात्रै गराएन, प्रधनमन्त्रीका रूपमा देउवाको छैटौं पटकको सत्तारोहणमा एकाएक ‘ब्रेक’ लगायो ।
२४ भदौमा जेनजी आन्दोलनका क्रममा देउवा सांघातिक आक्रमणमा परे । आन्दोलनको चार महिनापछि सम्पन्न पार्टीको विशेष महाधिवेशनबाट उनी पदमुक्त भए ।
यद्यपि, देउवाले गत पुस अन्तिम साता आयोजना भएको विशेष महाधिवेशनलाई मान्यता दिइसकेका छैनन् । त्यसविरूद्ध उनी अदालत गएका छन् ।
कांग्रेसको आधिकारिता विवादका बीच विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले आगामी निर्वाचनका लागि टिकट वितरण गर्यो । देउवालाई टिकटबाट वञ्चित गरियो ।
तथापि, टिकट वितरण भइरहेकै बेला सचिवालयमार्फत् देउवाले निर्वाचन नलड्ने घोषणा भने गरेका थिए । उनी २०४८ सालदेखि अपराजित हुँदै आएको क्षेत्र डडेलधुरामा युवा नेता नैनसिंह महरले टिकट पाए ।
स्रोतको दाबीअनुसार महरले टिकट पाएपछि पूर्वप्रधानमन्त्री देउवा असन्तुष्ट थिए । महरले टिकटका लागि आफूसँग कुनै सरसल्लाह नगरेको उनको गुनासो थियो ।
कांग्रेस उम्मेदवार महरले डडेलधुरामा देउवाको तस्बिर राखेर मत मागिरहँदा उनी भने बुधबार राति सिंगापुर उडेका छन् । मतदान आउन एक सातामात्रै बाँकी रहँदा देउवा सिंगापुर उडेपछि अनेक अड्कलबाजी भइरहेको छ ।
पूर्वप्रधानमन्त्री देउवा सिंगापुर जानुको कारण र फर्किने तिथि–मितिबारे उनको सचिवालयले केही खुलाएको छैन । देउवा आगामी मंगलबार स्वदेश फर्किने सम्भावना पनि छ ।
मुलुकमा प्रजातन्त्र पुनर्बहालीपछिका आठवटा संसदीय निर्वाचनमा लगातार जितेका देउवा देश निर्वाचनमय हुँदा पनि मौन बसेकै अवस्थामा सिंगापुर उड्दा शुभचिन्तकहरू अवाक् भएका छन् ।
देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदको भनाइ छ । ‘उहाँको स्वास्थ्य ठीक थिएन । स्वास्थ्य जाँचका लागि सिंगापुर जानुभएको हो,’ उनले अनलाइनखबरसँग भने ।
पूर्वप्रधानमन्त्री देउवा कहिले फर्किन्छन् भन्ने बारेमा सभापति साउदले अनभिज्ञता जनाए । ‘उहाँको इलाजमा कति समय लाग्छ, अहिले केही भन्न सकिँदैन,’ उनले भने ।
कांग्रेसका निवर्तमान सभापति देउवा मतदानका लागि डडेलधुरा जालान् कि नजालान् ? सभापति साउद भन्छन्, ‘स्वास्थ्य ठीक भएपछि आउने कुरो हो । स्वास्थ्यले साथ दिएको छैन । के हुन्छ, भन्न सकिने अवस्था छैन ।’
डडेलधुराको रुवाखोला गाउँमा २००३ सालमा जन्मिएका देउवा २०१७ सालदेखि नै राजनीतिमा सक्रिय थिए । उनी २०२८ सालमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापति भए ।
२०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनबाट देउवा कांग्रेसको सभापति भएका थिए । १४ औं महाधिवेशनमा उनी डा. शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा दोहोरिएका थिए ।
उनले २०४८ को आमनिर्वाचनमा डडेलधुराबाटै संसदीय यात्राको सुरुवात गरेका हुन् । पहिलो निर्वाचनमै डडेलधुराका जनताले देउवालाई निकटतम प्रतिद्वन्द्वीभन्दा चार गुणाबढी मत दिएर जिताएका थिए । त्यसयता देउवाले संसदीय राजनीतिमा कहिले हार ब्यहोर्नु परेन ।
तर, जेनजी आन्दोलनपछि विकसित घटनाक्रमका कारण चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका देउवाले पार्टीको पक्षमा जनतासँग न त मत नै मागेका छन्, न त अहिलेसम्मको साथ र सहयोगका लागि डडेलधुराबासीलाई धन्यवाद नै दिएका छन् ।
आफूनिकटकै युवा नेता महरलाई पार्टीले उम्मेदवार बनाए पनि देउवा औपचारिक रूपमा किन मुखरित भएनन् ? कांग्रेसको निवर्तमान कार्यसमितिमा प्रचार विभाग प्रमुख रहेका नेता मीन विश्वकर्मा भन्छन्, ‘उहाँको स्टाटस डिक्लियर नभएकाले नबोल्नुभएको हो ।’

विशेष महाधिवेशनका कारण कांग्रेसमा बढेको तिक्तताका बीच बोल्दा निर्वाचनमा पार्टीका प्रति नकारात्मक असर पर्ने भएकाले पनि निवर्तमान सभापति देउवाको कुनै धारणा नआएको उनले तर्क गरे ।
‘उहाँले सार्वजनिक अपिल गर्दा के भनेर गर्ने ? निर्वाचन आयोगले गगनजीलाई मान्यता दिएको छ । अदालतमा उहाँ ((देउवा) को नेतृत्वमा आयोगको निर्णयलाई बदर गरेर पुरानै समितिलाई कायम गराउने दाबी छ,’ नेता विश्वकर्माले भने, ‘यो बीचमा उहाँ बोल्दा फरक पक्षमा बोल्नुपर्ने भयो, त्यसरी बोल्दा चुनावमा नकारात्मक असर पर्छ । त्यसैले नबोल्दा नै ठीक हुन्छ भनेर उहाँ नबोल्नुभएको हो ।’
विश्वकर्माले चुनावको विषयलाई लिएर पूर्वप्रधानमन्त्री देउवा मुखरित नहुनुका दलिल पनि पेस गरे । ‘विशेष महाधिवेशनबाट हामी निर्वाचित भएर आयौं भन्नेले उहाँलाई निवर्तमान सभापति भनेपछि निवर्तमान सभापतिकै हैसियतमा भेट्न जानुपर्थ्यो । उहाँहरू भेट्न जानुभएन, एक,’ विश्वकर्माले अनलाइनखबरसँग भने, ‘उहाँसँगको संवदाहिनता रह्यो, दोस्रो ।’
२०४८ को आमनिर्वाचनमा डडेलधुराका कांग्रेसीले देउवालाई सदर ३४ हजार ७७८ मध्ये २४ हजार ५७० मत दिलाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दप्रसाद कलौनीले मात्र ६ हजार ६२८ मत पाएका थिए ।
२०५१ को मध्यावधिमा निर्वाचनमा पनि देउवाको पक्षमा २० हजार ७०१ मतखसेका थियो । उनका तत्कालीन निकटतम प्रतिद्वन्द्वी खेमराज भट्ट (मायालु) ले ९ हजार ९६६ मत ल्याएका थिए ।
यस्तै २०५६ को आमनिर्वाचनमा पनि देउवाले निकटतम् प्रतिद्वन्द्वीभन्दा चार गुणबढी मत ल्याएका थिए । देउवा २८ हजार ६५१ मतका साथ निर्वाचित हुँदा एमालेका बागेश्वरीदत्त चटौतले ७ हजार ८४० मत पाएका थिए ।
पहिलो संविधान सभा निर्वाचन (२०६४) मा देउवा डडेलधुरासँगै कञ्चनपुर–४ बाट विजयी भएका थिए । दोस्रो संविधान सभा निर्वाचन (२०७०) मा उनीे डडेलधुरासँगै कैलाली–६ बाट निर्वाचित भएका थिए ।
प्रतिनिधि सभा निर्वाचन २०७४ मा डडेलधुराबाट निर्वाचित भएपछि उनले असार २०७८ मा पाँचौं पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका थिए । पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधि सभा निर्वाचन २०७९ मा पनि डडेलधुराबाटै विजयी भएका थिए ।
प्रतिक्रिया 4