+
+
Shares

सेयर बजारमा ‘इन्ट्राडे’ तथा ‘सर्ट सेलिङ’ कारोबार गराउने तयारीमा बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले सेयर बजारमा इन्ट्रा डे र सर्ट सेलिङ कारोबार सञ्चालन गर्ने तयारी गरेको छ।
  • बोर्डले मार्जिन लेन्डिङ निर्देशिका लागू गरेपछि इन्ट्राडे र सर्ट सेलिङका लागि कानुनी व्यवस्था गर्न कार्यदल गठन गरेको छ।
  • सर्ट सेलिङ र इन्ट्राडे कारोबारले बजार चलायमान र विस्तार हुने बोर्डका उच्च अधिकारीहरूले बताएका छन्।

१५ फागुन, काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ‘इन्ट्राडे’ तथा ‘सर्ट सेलिङ’ जस्ता नयाँ कारोबार सञ्चालन गर्ने तयारी गरेको छ । मार्जिन लेन्डिङलाई प्रभावकारी कार्यान्वयनका लागि पनि यी व्यवस्था गर्न लागिएको हो ।

सर्टसेलिङ लगानीको यस्तो रणनीति हो, जसमा आफूसँग सेयर नभए पनि सापटी लिएर बेचिन्छ, जब मूल्य घट्छ तब किनेर सापटी चुक्ता गरिन्छ र किनबेचकै मूल्यान्तरबाट नाफा लिइन्छ । नेपालमा हाल ‘सर्ट सेलिङ’को संयन्त्र बनेकै छैन ।

जब बोर्डले यही फागुन १ गतेदेखि मार्जिन लेन्डिङ निर्देशिका लागु गर्‍यो । सो अनुसार केही ब्रोकरले यो सुविधा सुरु गरेका छन् । तर यसलाई प्रभावकारी बनाउन पनि इन्ट्राडे र सर्ट सेलिङ जस्ता कारोबार आवश्यक हुन्छ । त्यसैले बोर्ड मार्जिन लेन्डिङ निर्देशिका पछि इन्ट्राडे र सर्ट सेलिङ कारोबार सुरु गर्न आवश्यक कानुनको तयारीमा जुटेको हो।

सर्ट सेलिङ, इन्ट्राडे कारोबारका लागि कानुनी व्यवस्था गर्न तथा सञ्चालनका लागि उपयुक्त भए नभएको विषयमा अध्ययन गर्नका लागि कार्यदल गठन भएको छ । बोर्ड कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा गठित कार्यदलले अध्ययन सुरु गरेको छ ।

सेयर बजारलाई चलायमान बनाउने उद्देश्यले नयाँ अभ्यास गर्ने तयारी भएको बोर्डका एक उच्च अधिकारीले बताए । ‘मार्जिन लेन्डिङसँगै सर्ट सेलिङ तथा इन्ट्राडे जस्ता कारोबार सञ्चालन गर्ने विषय सँगसँगै जोडिएर आएको हुन्छ,’ ती अधिकारीले भने,‘विगतमा पनि मार्जिन कारोबार सुरु हुन नसक्नुमा सर्ट सेलिङ तथा इन्ट्राडेको विकास नभएर नै हो, बजार घट्दा पनि मार्जिन लेन्डिङ चलायमान बनाउन आवश्यक पक्षहरूमा काम सुरु गरेका छौं।’

सर्टसेलिङ तथा इन्ट्राडे कारोबारको सन्दर्भमा निर्देशिका ल्याउने कि अन्य व्यवस्था गर्ने भन्ने विषय अध्ययनपछि मात्र टुङगो लाग्ने उनले बताए ।

बोर्डले सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ, अक्सन मार्केट, सर्ट सेलिङ, इन्ट्राडे कारोबार सुरु गर्न आवश्यक नीतिगत, कानुनी, संरचनागत र प्राविधिक अवस्थामा केन्द्रित भई अध्ययन हुने ती अधिकारीको भनाइ छ ।

सेयर बजारमा यी व्यवस्था सहज सञ्चालन गर्न सकिएको खण्डमा बजार चलायमान र विस्तार हुने उच्च अधिकारीहरूको बुझाइ छ ।

नेप्सेको अहिले सामान्य धितोपत्र कारोबार राफसाफ अवधि थप दुई दिन (टी प्लस टू) तोकिएको छ । धितोपत्र बोर्डले तयारी गरेका विषयहरू कार्यान्वयनमा आएको खण्डमा कारोबार राफसाफ पनि तत्काल नै हुन्छ । एकैदिन सेयर किनेर बिक्री गर्न सकिने अवस्था बन्नेछ ।

सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङलाई सरल भाषामा भन्नुपर्दा सेयर सापटी दिने र लिने प्रक्रिया हो । डिम्याट खातामा धेरै सेयर छ र त्यो सेयर लामो समय होल्ड गर्ने हो भने निश्चित रिटर्न लिएर सीमित अवधिका लागि अरूलाई सापटी दिन सकिन्छ । त्यसैगरी सेयर बजारमा कारोबार गर्न चाहिएको सेयर वा धितोपत्र  शुल्क तिरेर केही समयका लागि अरुबाट सापटी पनि लिन सकिन्छ ।

लेन्डिङ र बरोइङ मुख्यत धितोपत्रको सर्ट सेलिङमा प्रयोग हन्छ । सामान्यतः धितोपत्र कारोबारको उद्देश्य सस्तोमा किनेर महँगोमा बेचर नाफा कमाउनु हो । यसले बजार बढ्दा मात्रै नाफा हुन्छ । तर ‘सर्ट सेलिङ’ले घट्दो बजारमा पनि नाफा कमाउन सकिन्छ ।

जब कुनै कम्पनीको सेयर मूल्य अब घट्छ भन्ने पक्का लाग्छ, तब आफूसँग नभएको सेयर पनि बेच्न पाइन्छ । यसका लागि धितोपत्र सापटी (बरोइङ) लिएर मात्रै कारोबारको राफसाफ गरिन्छ ।

तर धितोपत्र बजार खुल्दा किनेको सेयर, बन्द हुनु अगाडि नै बिक्री गर्ने वातावरण बनेको हुनुपर्छ वा आज बेचेको सेयर आजै किन्ने व्यवस्था हुनुपर्छ, जसलाई इन्ट्राडे कारोबार भनिन्छ । इन्ट्राडे कारोबार नभएको खण्डमा सर्टसेलिङ, धितोपत्र बरोइङ एन्ड लेन्डिङ लागु हुन सक्दैन ।

बजारमा विविधता भित्र्याउनुअघि पर्याप्त अध्ययन गर्नुपर्ने भएकाले बोर्डले कार्यदल नै बनाएर अध्ययन सुरु गरेको ती अधिकारीको भनाइ छ ।

यस्ता कारोबार प्रभावकारी बनाउन बजारमा अक्सन मार्केट पनि सञ्चालन हुनुपर्छ । नेपालको धितोपत्र बजारमा विगत देखि नै अक्सन मार्केट र मार्जिन लेन्डिङमा काम गर्न केही नीतिगत व्यवस्था भएपनि प्रभावकारी प्रयोगमा आउन सकेन । त्यसको मुख्य कारण भनेको सर्टसेलिङ, बरोइङ तथा लेन्डिङ, इन्ट्राडे कारोबार लगायतका अभ्यास प्रचलनमा नभएकाले रहेको अधिकारीको भनाइ छ ।

नेपालमा हाल नबिकेको हकप्रद सेयर वा संस्थापक सेयर बेच्न लिलामी प्रक्रिया अपनाइन्छ । तर यसलाई नियमित कारोबार सिस्टमकै एउटा हिस्सा बनाउन खोजिएको बोर्डका ती अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?