+
+
Shares
निफको प्रि-इभेन्ट धमाधम :

‘महिला निर्देशकलाई विश्वास गर्ने बजारको खाँचो’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १७:५७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दशौँ संस्करण चैत १९ देखि २३ गतेसम्म हुँदैछ।
  • महिला फिल्मकर्मीले नेपाली फिल्म क्षेत्रमा लिंगकै कारण भोगेका समस्याबारे अन्तक्रिया कार्यक्रममा चर्चा गरिन्।
  • निफले चैत २१ मा \'निफ फिचर पिच\' कार्यक्रम आयोजना गर्दै लेखकलाई निर्माता भेट्ने अवसर दिनेछ।

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दशौँ संस्करणको तयारी तीव्र भइरहेको छ । नयाँ संस्करण १९ चैतदेखि २३ गतेसम्म हुन लागेको छ । तयारीअनुसार, अहिले महोत्सवका कार्यक्रम धमाधम भैरहेका छन् । यस अन्तर्गत निफले फिल्मसँग सम्बन्धित विभिन्न व्यक्तित्वसँग अन्तक्रिया कार्यक्रम गरिरहेको छ ।

नक्सालस्थित कान्तिपुर थिएटरमा ‘हर सिनेमा, हर भ्वाइस’ शीर्षकमा तीन महिला फिल्मकर्मी समुन्द्र भट्ट, उषा रजक र संगीता श्रेष्ठसँग अन्तक्र्रिया गर्‍यो । महोत्सव अध्यक्ष केपी पाठकका अनुसार महिला फिल्म निर्देशकले भोग्नु परेको समस्या उजागर गर्न कार्यक्रम राखिएको हो ।

उनले भने, ‘पुरुषप्रधान भनिँदै आएको नेपाली फिल्म क्षेत्रमा महिला निर्देशकले लिंगकै कारण कस्ता समस्या भोग्ने रहेछन् भन्ने कुरा उनीहरूबाटै सुनाउन खोजिएको हो । उनीहरूको आवाज बहसमा विकास होस् भन्ने हाम्रो उद्देश्य हो ।’

कार्यक्रममा उनीहरूले कामका दौरान महिला भएकै कारण आफूहरूले भोगेको ‘अपमान’ र कठिनाइ सेयर गरे । संगीता श्रेष्ठले महिला निर्देशकको बौद्धिकता र रचनात्मक क्षमताको कदर नभएको गुनासो सुनाइन् ।

श्रेष्ठले भनिन्, ‘एउटा भिडियो वा फिल्म तयार हुन्छ तर, त्यसको जस महिला निर्देशकले पाउँदैनन् । ‘क्यामेराम्यानले खिचिदियो होला, सम्पादकले भिडियो तयार गर्‍यो होला । त्यसले के भूमिका छ र ?’ भन्ने कुरा सुनिन्छ । यो महिला निर्देशकको क्षमतालाई शून्यमा झार्ने काम हो ।’

महिला भएकै कारण आफूले छायाङ्कन स्थलमा निर्देशकको दर्जा नपाएको समुन्द्र भट्टले सुनाइन् । उनले भनिन्, ‘एक फिल्मको सुटिङ सकिएपछि निर्माता र क्यामेराम्यानले अनुमति बिना नै अर्को पुरुष निर्देशक खोजेर बेड सिन खिच्नुभएको छ, जुन फिल्ममा म निर्देशक थिएँ ।’

यस विषयको प्रतिकार गर्दा आफूलाई बदनाम गराउने प्रयास भएको उनको दाबी छ । अर्को फिल्ममा भिडियो सम्पादकले ‘एक साता घरमा गएर सुत्नू, बुहारी मान्छे, म आफैँ फिल्म सम्पादन गर्छु’ भनेर रचनात्मक अधिकार र पदीय मर्यादाको सम्मान नगरेको उनले सेयर गरिन् ।

महिला निर्देशकलाई विश्वास गर्ने बजारको खाँचो रहेको उनीहरूको भोगाइ छ । निर्देशक उषा रजकले सेयर गरिन्, ‘महिला निर्देशकलाई बजारले पत्याउँदैन । स्पोन्सर र लगानीकर्ता भेट्नै सकिँदैन ।’

यही विषयसँग सम्बन्धित अर्को यथार्थ समुन्द्रले सेयर गरिन् । ‘बजारमा महिला निर्देशकको प्रोजेक्टमा लगानी गर्ने निर्माता पाइँदैनन् । मैले आफ्नै श्रीमानलाई निर्माता बनाउँदा, ‘मूर्ख बुढाको सम्पत्ति सकाउने भई’ भन्ने टिप्पणी गरेको सुनेको छु ।’

फिल्म क्षेत्रमा महिला निर्देशकको बौद्धिकता र रचनामा अविश्वास प्रमुख समस्या रहेको उनीहरूको भनाइ छ । महिला भएका कारण सहकर्मीबाट अपमानजनक व्यवहार खेप्नुपर्ने दुःखद विषय रहेको उनीहरूले भोगाइ सुनाए । ‘हर सिनेमा, हर भ्वाइस’ निफको दोस्रो ‘प्री-इभेन्ट’ अन्तक्रिया कार्यक्रम हो । यसअघि ‘द न्यू वेभ इन नेपाली सिनेमा’ शीर्षकमा अन्तक्र्रिया गराएको थियो, जहाँ युवा फिल्म मेकरबीच अन्तक्रिया भएको थियो ।

फिल्म लेखकलाई सघाउन ‘निफ फिचर पिच’

निफले लेखकलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रम तय गरेको छ । ‘निर्माताको खोजीमा रहेका लेखकका लागि अवसर’ बन्न सकोस् भन्ने उद्देश्यले यो कार्यक्रम राखिएको अध्यक्ष पाठकले बताए ।

उनले भने, ‘यो कार्यक्रममा लेखकले आफ्नो कथा निर्मातालाई सुनाउन पाउनेछन् । हामी लेखकलाई कथा सुनाउने मञ्च दिन्छौँ, जहाँ निर्माताको उपस्थिति रहनेछ ।’

यो कार्यक्रम निफको तेस्रो दिन अर्थात् चैत २१ गते हुने निफले बताएको छ । यसका लागि लेखकले मार्च २० भित्र निफमा आवेदन दिइसक्नुपर्ने छ ।

युवालाई महोत्सवसँग जोड्ने उद्देश्यले ‘फ्रेम योर फ्यूचर’ शीर्षकको प्रतियोगिता ल्याइएको छ । प्रतियोगितामा सहभागी हुन आफ्नो कथामा दुई मिनेटको भिडियो बनाउनुपर्ने छ ।

विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार जित्नेछन् । प्रतियोगितामा सहभागी हुनका लागि चैत ११ सम्म आवेदन दिन सकिने निफले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?