News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डले कोलोम्बोमा भएको आईसीसी टी-२० विश्वकप २०२६ सुपर ८ को खेलमा न्युजिल्यान्डलाई ४ विकेटले हराएको छ।
- इंग्ल्यान्डले समूह २ को विजेताका रूपमा भारतमा सेमिफाइनल खेल्नेछ भने पाकिस्तानको पनि सेमिफाइनल सम्भावना कायमै छ।
- पाकिस्तानले अन्तिम खेलमा श्रीलंकालाई हराएर नेट रनरेटमा न्युजिल्यान्डलाई उछिन्नुपर्नेछ।
१५ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार कोलोम्बोमा भएको खेलमा इंग्ल्यान्ड ४ विकेटले विजयी भयो ।
योसँगै इंग्ल्यान्डले समूह २ को विजेताका रूपमा भारत गएर सेमिफाइनल खेल्नेछ । यो नतिजाले पाकिस्तानको पनि सेमिफाइनल सम्भावना कायमै रहेको छ ।
२ खेलबाट १ अंक मात्र जोडेको पाकिस्तानले अब अन्तिम खेलमा श्रीलंकालाई हराएर नेट रनरेटमा न्युजिल्यान्डलाई उछिन्नुपर्नेछ । न्युजिल्यान्डको ३ अंक छ भने इंग्ल्यान्डको ६ अंक भइसकेको छ ।
शुक्रबार कोलोम्बोमा भएको खेलमा न्युजिल्यान्डले दिएको १६० रनको लक्ष्य इंग्ल्यान्डले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो । ३ ओभरमा ४३ रन आवश्यक रहेको अवस्थाबाट विल ज्याक्स र रेहान अहमदले १६ बलमा अविजित ४४ रनको साझेदारी गरे ।
१८औं ओभरमा ग्लेन फिलिप्सले २२ रन बेहोरे भने १९औं ओभरमा कप्तान मिचेल सान्टनरले १६ रन बेहोरेपछि अन्तिम ओभरमा ५ रन आवश्यक थियो । ज्याक्सले १८ बलमा अविजित ३२ रन बनाए भने रेहानले ७ बलमा १९ रन बनाए ।
इंग्ल्यान्डले सुरुवाती २ ओभरभित्रै २ विकेट गुमाएको थियो । टम बेन्टनले ३३ रन बनाए भने कप्तान ह्यारी ब्रूकले २६ अनि ज्याकब बेथेलले २१ रन बनाए ।
न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ३ विकेट लिँदा म्याट हेनरी, लकी फर्गुसन र ग्लेन फिलिप्सले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन बनाए भने ओपनर टिम सेफर्टले ३५ रन बनाए ।
इंग्ल्यान्डका आदिल राशिद, विल ज्याक्स र रेहान अहमदले २-२ विकेट लिए भने लियाम डसनले १ विकेट लिए ।
अब यो समूहमा श्रीलंका र पाकिस्तानबीचको खेल बाँकी छ । पाकिस्तानले कम्तीमा ६४ रन वा १३.१ ओभरमा लक्ष्य पूरा गर्दा न्युजिल्यान्डलाई नेट रनरेटमा उछिन्नेछ ।
प्रतिक्रिया 4