News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली अल्ट्रा रनर प्रिया राईले हङकङमा भएको एसिया ट्रेल मास्टर ७२ किमि महिला वर्गमा दोस्रो पटक उपाधि जितेकी छन्।
- प्रियाले ९ घण्टा ५७ मिनेटमा दूरी पूरा गरी लगातार दोस्रो पटक एसिया ट्रेल मास्टरको उपाधि जितेकी पहिलो नेपाली रनर हुन्।
- भिसा समस्याका कारण अन्य नेपाली खेलाडी एसिया ट्रेल मास्टरमा सहभागी हुन पाएनन् भने पुरुषतर्फ फिलिपिन्सका जोन रे ओनिफाले उपाधि जितेका छन्।
१६ फागुन, काठमाडौं । नेपाली अल्ट्रा रनर प्रिया राईले दोस्रो पटक एसिया ट्रेल मास्टर (एटीएम) को उपाधि जितेकी छन् ।
हङकङमा भएको एसिया ट्रेल मास्टरमा प्रियाले महिला ७२ किमीमा पहिलो हुँदै स्वर्ण जितेकी हुन् । प्रियाले ९ घण्टा ५७ मिनेटमा निर्धारित दूरी पूरा गरेकी थिइन् । हङकङकी मान यी चेउङ दोस्रो तथा सिंगापुरकी डेनिङ लो तेस्रो भए ।
प्रियाले लगातार दोस्रो पटक एसिया ट्रेल मास्टरको उपाधि जितेकी हुन् । उनले यसअघि सन् २०२४ मा पनि एसिया ट्रेल मास्टरको उपाधि जितेकी थिइन् । त्यसबेला नेपालबाट रशिला तामाङले तेस्रो हुँदै कांस्य जितेकी थिइन् ।
उनी दुई पटक एसिया ट्रेल मास्टर उपाधि जित्ने पहिलो नेपाली रनर हुन् । एसिया ट्रेल मास्टरको एक दशक लामो इतिहासमा उपाधि रक्षा गर्दै दुई पटक च्याम्पियन बन्ने प्रिया पहिलो धाविका हुन् ।
लगातार दोस्रो पटक एसिया ट्रेल मास्टर जितेपछि प्रियाले ट्रेल र मौसम कठिन भएको तर अन्य रनरबाट धेरै चुनौती नभएको प्रतिक्रिया दिइन् । दुई पटक एसिया ट्रेल मास्टर जित्दा प्रियाले एकदमै खुशी अनुभव भएको बताइन् ।
यस संस्करणमा नेपालबाट प्रियाबाहेक अन्य खेलाडी भने सहभागी हुन पाएनन् । भिसा समस्याका कारण अन्य खेलाडीहरु एसिया ट्रेल मास्टरमा सहभागी हुनबाट वञ्चित भएका थिए ।
यस्तै पुरुषतर्फ फिलिपिन्सका जोन रे ओनिफाले उपाधि जिते । सन् २०२३ मा पहिलो पटक च्याम्पियन बनेका ओनिफाले पनि दोस्रो पटक यो रेस जितेका हुन् ।
सन् २०१५ देखि सुरु भएको यस एसिया ट्रेल मास्टर्स अहिलेसम्म दुई नेपालीले जितेका छन् । नेपालबाट रशिला तामाङले सन् २०२३ मा पहिलो पटक उपाधि जितेकी थिइन् ।
प्रियाले केही समयअघि म्यानमारमा भएको कालाव अल्ट्रा ट्रेल रन अन्तर्गत ५० किमीमा स्वर्ण जितेकी थिइन् ।
खोटाङको ऐंसेलुखर्क गाउँपालिकाकी प्रिया राईले पछिल्लो समय अन्तर्राष्ट्रिय अल्ट्रा रेसहरूमा लगातार प्रतिस्पर्धा गर्दै उपाधिहरू जित्दै आएकी छन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नियमित अल्ट्रा ट्रेल रेसहरूमा प्रतिस्पर्धा गरिरहेकी छन् ।
प्रियाले सन् २०२४ मा नेपालमा भएको मन्जुश्री ट्रेल रेस र जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि जित्दै एसिया ट्रेल मास्टरका लागि छनोट भएकी थिइन् । त्यसपछि उनले एसियामा लगातार आफ्नो दबदबा कायम राखेकी हुन् ।
प्रतिक्रिया 4