News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले नयाँ नेतृत्वको नेतृत्वमा चुनावी प्रचार शैली परिमार्जन गरी प्रतिज्ञापत्र जनकपुरधाममा सार्वजनिक गर्यो।
- सभापति गगन थापाले प्रतिज्ञापत्र सार्वजनिक गर्दै अनलाइन र हलबाट आएका प्रश्नको ६ घण्टा जवाफ दिनुभयो।
- कांग्रेसले सामाजिक सञ्जालमा प्रचारलाई बलियो बनाउँदै १६५ उम्मेदवारका लागि प्रचार सामग्री उत्पादन गरिरहेको छ।
१७ फागुन, काठमाडौं । नेपाली कांग्रेस विगतमा अबलम्वन गर्दै आएको चुनावी प्रचार शैलीलाई परिमार्जन गरी मतदाताकहाँ पुगेको छ ।
घरदैलो कार्यक्रममा पुरानै शैली अपनाएको कांग्रेसले चुनावी प्रचार केन्द्रित सभा, घोषणापत्र तयारी/सार्वजनिक र सामाजिक सञ्जालबाट गरिने प्रचारमा पृथक तरिका अपनाएको छ ।
विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले विगतको शैलीलाई परिष्कृत गर्दै चुनावी प्रचार सुरु गरेको हो । सभापति गगन थापालाई प्रतिज्ञापत्र तयारीको संयोजक र उपसभापति विश्वप्रकाश शर्मालाई चुनावी परिचालनको संयोजक तोकेर कांग्रेस चुनावमा होमिएको थियो ।
मूल नेतृत्व नै संलग्न रहेर निकट विगतका सभापतिले घोषणापत्र लेख्ने गरेका थिएनन् । यसपटक सभापति थापाकै नेतृत्वमा ‘प्रतिज्ञापत्र’ तयार गरियो । प्रतिज्ञापत्र सार्वजनिक गर्दासमेत विगतको विधिभन्दा फरक गरिएको थियो ।
विगतमा शीर्ष तहको नेतृत्वमा घोषणापत्र तयारी समिति बनाउने र त्यसअन्तर्गत छुट्टै मस्यौदा समिति गठन गर्ने प्रचलन थियो । उक्त समितिले तयार गरेको घोषणापत्रलाई केन्द्रीय कार्यालयमा कार्यक्रम राखेर सभापतिले सार्वजनिक गर्ने विगतको प्रचलन थियो । उक्त प्रचलनलाई यसपटक पछ्याइएन ।

यसपटक स्वयं सभापतिको नेतृत्वमा बनेको प्रतिज्ञापत्रलाई सार्वजनिक फरक तरिकाले गरियो । केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र सार्वजनिक गरिएन । प्रतिज्ञापत्र सार्वजनिक गर्नका लागि मधेश रोजियो ।
जनकपुरधाममा प्रतिज्ञा सभा राखेर ६ फागुनमा सभापति थापाले कांग्रेसका ‘भिजन टेन’ सार्वजनिक गरे । प्रजातन्त्र दिवस (फागुन ७) मा प्रतिज्ञापत्रको विस्तृत रूप सभापति थापाले प्रस्तुत गरे ।
प्रतिज्ञापत्र सार्वजनिक गर्नका लागिसमेत त्यस दिन कांग्रेसले नयाँ अभ्यास गरेको थियो । कांग्रेसलाई प्रश्न गर्नका लागि सार्वजनिक आह्वान गरेका सभापति थापाले प्रतिज्ञापत्र प्रस्तुत गरेसँगै अनलाइन र हलबाट आएका प्रश्नको जवाफ दिए ।
प्रतिज्ञापत्रको विस्तृत रूप पेस गरेर अनलाइन र हलबाट आएका प्रश्नको जवाफ दिनका लागि सभापति थापाले ६ घण्टा समय लगाएका थिए ।
‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न विथ गगन थापा’ राख्नुको तात्पर्यबारे सभापति थापाले भनेका थिए, ‘लोकतन्त्र तब मात्र सुरक्षित हुन्छ, जब प्रश्न सोध्ने अधिकार र उत्तर दिने इमानदारिता कायम रहन्छ ।’
सभापति थापा प्रतिज्ञापत्र तयारीमा लागिरहँदा चुनावी कमान्डर उपसभापति शर्माले भने चुनावी प्रचारका कार्यक्रम सुरु गरिसकेका थिए । ६ माघमा उम्मेदवारी दर्ता गरेसँगै उनी पहिलो पटक सिन्धुलीको कार्यक्रममा सहभागी भएका थिए ।
यसबीचमा २७ जिल्लामा भएका चुनावी सभा, छलफल, अन्तर्क्रिया, भेटघाटमा सहभागी भएको उपसभापति शर्माले जानकारी दिए ।
सभापति थापा र महामन्त्री शर्मा एकै दिन ६ स्थानमा भएका चुनावी कार्यक्रममा सहभागी भएका छन् । चुनावी सभाका लागि सुदूरपश्चिम बाहेक अन्य प्रदेशमा सभापति थापा पुगे । उपसभापति शर्मालाई प्रमुख अतिथि बनाएर सुदूरपश्चिममा शनिबार (हिजो) चुनावी सभा भएको थियो । अछामको १ र २ मा भएको चुनावी सभालाई उपसभापति शर्माले सम्बोधन गरे ।

प्रदेशस्तरीय सभाभन्दा अधिक स्थानमा चुनावी सभा गर्ने गरी तयारी गरिएको उपसभापति शर्माले जानकारी दिए । विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत लगायतका ठाउँमा ठूला सभा गरेको कांग्रेसले जिल्लाजिल्लामा छुट्टै सभा पनि गर्यो ।
सभापति थापाले बिहान सर्लाही-४ मा घरदैलो गरेर बुटवल, पोखरा, कपिलवस्तु, बागलुङको सभा सके । गुल्मी, डोल्पा र अछामको सभालाई उपसभापति शर्माले शनिबार सम्बोधन गरे ।
पूर्वसभापति शेरबहादुर देउवा पक्ष बलशाली रहेको सुदूरपश्चिममा कांग्रेसले प्रदेशस्तरीय सभा राखेन । शनिबार अछाममा भएको सभामार्फत उपसभापति शर्माले पूर्वसभापति देउवा पार्टीको अभिभावक रहेको सुनाए । उपसभापति शर्माले ‘देउवालाई सम्मान, गगनलाई शासन’ अहिलेको आवश्यकता रहेको बताए ।
कांग्रेसले उम्मेदवार र पार्टी पङ्तिलाई आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित गराउने नीति लिएको छ । सभापति थापा अन्य क्षेत्रको चुनावी सभालाई सम्बोधन गरेर आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा पुग्ने गरेका छन् ।
हरेक बिहान घरदैलो प्रचार र मतदातासँग भेटघाट गरेर मात्रै उनी चुनावी सभामा सहभागी हुने गरेका छन् । आइतबार बिहान सर्लाही-४ का चार स्थानमा घरदैलो गरेर उनले उपत्यकामा भएका चार सभालाई सम्बोधन गरेका छन् ।
आज नै सभापति थापा नुवाकोटको चुनावी सभामा पुगे । आइतबार कीर्तिपुर, बालाजु चोक, सामाखुसी र बालुवाखानीमा भएका सभालाई सभापति थापाले सम्बोधन गरे ।
उपसभापति शर्मा ठिमी, पेप्सिकोलाको सभामा सहभागी भएका छन् । सामाखुसी चोकमा भएको सभामा सभापति र उपसभापतिले सम्बोधन गरे ।

नेता-कार्यकर्ता फरक क्षेत्र वा जिल्लाको प्रचारमा खटिनुभन्दा आफ्नै वडामा खटिँदा प्रभावकारी हुने बताउँदै सभापति थापाले आ-आफ्नो स्थानमा परिचालन हुन निर्देशन दिएका छन् । उनको निर्देशन छ, ‘अर्काको क्षेत्रमा गएर प्रचारमा फाइदा पुग्दैन । आफ्नै वडामा मतदातालाई भेट्नू । उनीहरूको कुरा सुन्नू ।’
विराटनगर, जनकपुर, कर्णाली, पोखरा, बुटवल लगायतका स्थानमा भएका सभालाई केन्द्रीय तहबाट निर्धारण गरिएको थियो । अन्य स्थानमा भएका सभाहरूलाई भने क्षेत्रको आवश्यकताअनुसार निर्धारण गरिएको निर्वाचन परिचालन समितिका संयोजक शर्माले जानकारी गराए । फागुन १४ देखि १७ गतेसम्म चुनावी सभालाई प्राथमिकतामा राखिएको थियो ।
अघिल्लो चुनावमा सामाजिक सञ्जालको प्रचारमा कमजोर देखिएको कांग्रेसले यसपटक सामाजिक सञ्जाललाई पनि भरपूर उपयोग गरेको छ । केन्द्रीय कार्यालयमा मिडिया सेन्टर स्थापना गरेर भिडियो सामग्री उत्पादन गरिरहेको छ ।

कांग्रेस उम्मेदवारका लागि प्रचार सामग्री निर्माण, फरकफरक क्षेत्रका व्यक्तिहरूको कांग्रेसप्रतिको मत, मिथ्या सूचनाको ‘फ्याक्ट चेक’ लगायतका कार्यहरू मिडिया सेन्टरबाट भइरहेको छ ।
मिडिया सेन्टरमा कार्यरत एक कांग्रेस शुभेच्छुक भन्छन्, ‘१६५ उम्मेदवारका लागि चुनावी प्रचारका गर्न सहयोग पुग्ने कन्टेन्ट बनाएका छौं । कांग्रेसका उम्मेदवारविरुद्ध बनेका फेक न्युज र भिडियोको सत्य-तथ्य बाहिर ल्याउने काम गरिरहेको छौं ।’ उनका अनुसार यस कार्यका लागि १८ देखि २० जना व्यक्ति संलग्न छन् ।
कांग्रेसको फेसबुक पेजमा पोस्ट हुने सामग्रीको संख्या पछिल्लो समयमा उल्लेख्य बढेको छ । सभापति थापा स्वयं सामाजिक सञ्जालमा अन्य पार्टी प्रमुखभन्दा सामग्री पोस्ट गर्नेमा अघि देखिएका छन् ।
नयाँ नेतृत्व, उम्मेदवार जिताउन सिंगो पार्टी एकढिक्का, प्रभावकारी चुनावी परिचालन लगायतले कांग्रेस पहिलो दल बन्ने दाबी उपसभापति शर्मा गर्छन् । शर्माले अनलाइनखबरसँग भने, ‘हामी पहिलो दल बन्छौं । समानुपातिकमा २०७९ मा पाएको मतभन्दा कांग्रेसको पक्षमा धेरै मत आउँछ ।’
प्रतिक्रिया 4