+
+
Shares
विचार :

कांग्रेसका ‘सदाकालीन लाभार्थी’हरूको आत्मघाती मौनता

विशेषगरी पार्टीका ती अनुहारहरू, जसले दशकौँसम्म सत्ता र शक्तिको ‘तर’ मात्र मारे र पार्टीलाई आफ्नो निजी पेवा सम्झे, उनीहरूको मौनताले कांग्रेसभित्रको अन्तर्घात र प्रतिशोधको कुरूप चित्रलाई छर्लङ्ग पारेको छ।

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०८२ फागुन १८ गते ८:४१

नेपाली राजनीतिको मियो मानिने नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासकै सबैभन्दा रोचक मोडमा उभिएको छ। यो मोड केवल सत्ता प्राप्तिको प्राविधिक लडाइँ मात्र होइन, पार्टीभित्र दशकौँदेखि जकडिएको ‘जडता’ र भर्खरै मौलाउँदै गरेको ‘नवीनता’ बीचको एक भीषण वैचारिक महासङ्ग्राम हो।

फागुन २१ गते हुन गइरहेको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसभित्रका केही नेताहरूले जुन किसिमको रहस्यमयी सन्नाटा र दृश्यहरू देखाएका छन्, त्यसले उनीहरूको राजनीतिक भविष्य कता जान्छ भन्ने गम्भीर प्रश्न उब्जाएको छ।

विशेषगरी पार्टीका ती अनुहारहरू, जसले दशकौँसम्म सत्ता र शक्तिको ‘तर’ मात्र मारे र पार्टीलाई आफ्नो निजी पेवा सम्झे, उनीहरूको मौनताले कांग्रेसभित्रको अन्तर्घात र प्रतिशोधको कुरूप चित्रलाई छर्लङ्ग पारेको छ।

विश्व राजनीतिक इतिहासलाई फर्केर हेर्दा कुनै पनि ठूलो लोकतान्त्रिक संस्थाभित्र पुस्तान्तरण र वैचारिक रूपान्तरणको समयमा यस्ता अवरोधहरू देखिने गरेका छन्। राजनीतिमा पुस्तान्तरण कहिल्यै सहज हुँदैन। स्थापित नेतृत्वले निर्माण गरेको संरचना, विचारधारा र शक्ति-सन्तुलनभित्रै नयाँ पुस्ता उदाउँछ, तर त्यो उदय प्रायः प्रतिरोधविहीन हुँदैन।

अमेरिकामा जोन एफ. केनेडीको उत्थान होस् वा बेलायतमा टोनी ब्लेयरको उदय होस्, दुवै सन्दर्भले देखाउँछन् कि स्थापित शक्तिले नयाँलाई सहजै अँगाल्दैन तर लोकतान्त्रिक संरचना बलियो भए अन्ततः परिवर्तन रोकिन पनि सक्दैन।

अमेरिकामा सन् १९६० को राष्ट्रपतीय निर्वाचनअघि डेमोक्रेटिक पार्टीभित्र पनि पुस्तान्तरणको तनावपूर्ण आवाज थियो। जोन एफ. केनेडी युवा सिनेटर थिए। उनीसँग ऊर्जा र आधुनिक सन्देश थियो।

तर उनी क्याथोलिक धर्मावलम्बी थिए, जुन त्यतिबेला राष्ट्रिय स्तरमा संवेदनशील विषय मानिन्थ्यो। दक्षिणी डेमोक्रेटिक नेताहरू र केही पुराना प्रतिष्ठानले उनको अनुभव र धर्मलाई लिएर शङ्का व्यक्त गरे। पार्टीभित्र अनुभवी र शक्तिशाली नेताहरू थिए, जसले परम्परागत नेतृत्व शैलीलाई नै सुरक्षित मान्थे।

हिजोसम्म पार्टीको सर्वेसर्वा ठान्ने ‘सदाकालीन लाभका पात्रहरू’ यतिबेला बिदाइको घण्टी बज्ने डरले आत्तिएका छन्। 

केनेडीले प्राइमरी प्रतिस्पर्धामा आफूलाई प्रमाणित गर्नुपर्‍यो। उनले रणनीतिक गठजोड गरे, विशेषगरी लिन्डन बी. जोन्सनलाई उपराष्ट्रपति उम्मेदवार बनाएर दक्षिणी शक्तिको समर्थन सुनिश्चित गरे। यो सन्दर्भमा पनि प्रतिरोध देखियो तर त्यो खुला बहस, प्रतिस्पर्धा र सहमतिमार्फत समाधान भयो।

पार्टीको संस्थागत ढाँचा अन्ततः केनेडीको उम्मेदवारी अनुमोदन गर्न बाध्य भयो र उनले आम निर्वाचन जिते। यस उदाहरणले देखाउँछ- स्थापित शक्तिको शङ्का र शक्तिसमीकरणको राजनीति भए पनि लोकतान्त्रिक प्रक्रियाले नयाँ नेतृत्वलाई मार्ग दिन सक्छ।

नेपालको सन्दर्भमा कांग्रेसभित्र देखिएको सम्भावित ‘धोकाको राजनीति’ निकै सङ्कुचित र विरक्तलाग्दो छ। पार्टीको विशेष महाधिवेशनले गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवाहरूको काँधमा जिम्मेवारी सुम्पेपछि, हिजोसम्म पार्टीको सर्वेसर्वा ठान्ने ‘सदाकालीन लाभका पात्रहरू’ यतिबेला बिदाइको घण्टी बज्ने डरले आत्तिएका छन्।

यस परिदृश्यमा सबैभन्दा बढी आलोचना र संशयको घेरामा डा. शेखर कोइराला उभिएका छन्। आफूलाई कोइराला परिवारको विरासतको असली हकदार र सदाचारी राजनीतिको मियो दाबी गर्ने डा. शेखरको भूमिका पछिल्लो समय निकै विवादास्पद बनेको छ। भर्खरै सार्वजनिक भएका समाचारहरूले के सङ्केत गरेका छन् भने, डा. शेखर आफ्नै पार्टीका निर्वाचित सभापति गगन थापालाई चुनावी मैदानमा पराजित गर्न भित्रभित्रै खतरनाक योजनामा सक्रिय छन्।

आफ्ना स्वकीय सचिवमार्फत स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंहसँग हात मिलाउनु र आफ्नै सहयात्रीलाई हराउन विपक्षीसँग साठगाँठ गर्नुले उनको राजनीतिक नैतिकतामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ। यो प्रवृत्ति ठ्याक्कै सन् १९९० को दशकमा भारतको ‘इन्डियन नेसनल कंग्रेस’ भित्र देखिएको गुटगत स्वार्थजस्तै छ, जहाँ स्थापित नेताहरूले नयाँ र लोकप्रिय अनुहारलाई सिध्याउन आफ्नै पार्टीको जरो काट्ने गर्थे।

शेखरले बुझ्न नसकेको कुरा के हो भने, गगनलाई रोक्न खोज्दा उनले गगनलाई होइन, बरु नेपाली कांग्रेसको भविष्य र आफ्नै बाँकी रहेको राजनीतिक साखलाई अन्धकारतर्फ धकेल्दै छन्।

निराशाको यो फेहरिस्तमा पूर्वसभापति शेरबहादुर देउवाको व्यवहार झन् उदेकलाग्दो छ। फागुन २१ को निर्वाचन भनेको कांग्रेसका लागि ‘अस्तित्वको लडाइँ’ हो, जहाँ पार्टीका हरेक सिपाही मैदानमा हुनुपर्ने थियो। तर, पार्टीका तथाकथित अभिभावक भनिने देउवा निर्वाचन आउनु ठीक एक साताअघि फागुन १४ गते मध्यरातमा ‘स्वास्थ्य उपचार’ को बहाना बनाएर सुटुक्क सिङ्गापुर उडे। यसलाई राजनीतिक वृत्तमा ‘मैदान छोडेर भागेको’ वा गगन थापाको सम्भावित विजय हेर्न नसकेर गरिएको कृत्रिम पलायनका रूपमा व्याख्या गरिएको छ।

जब घरमा आगलागी हुन्छ, तब घरको मुली नै बाहिर सयरमा निस्कनुजस्तै हो देउवाको यो सिङ्गापुर यात्रा। उनलाई पार्टीको समग्र जित र उत्साहसँग भन्दा पनि आफ्नो गुटको हार र प्रतिशोधसँग बढी सरोकार रहेको पुष्टि भएको छ। यो परिदृश्यले विगतमा फिलिपिन्सका फर्डिनान्ड मार्कोसको अन्तिम समयको राजनीतिक व्यवहारलाई स्मरण गराउँछ, जहाँ नेतृत्वले जनता र कार्यकर्ताको भावनाभन्दा आफ्नै व्यक्तिगत र गुटगत सुरक्षालाई प्राथमिकता दिन्थ्यो।

कांग्रेसभित्रको यो ‘विचित्रको मौनता’ मा अन्य कैयौँ ‘लाभका पात्रहरू’ पनि सामेल छन्। कृष्णप्रसाद सिटौला, जो शान्ति प्रक्रिया र संविधान निर्माणको जस लिँदै दशकौँदेखि पार्टीको निर्णायक तहमा हालीमुहाली गरिरहेका छन्, आज पार्टीलाई उनको सक्रियताको खाँचो पर्दा उनी चुपचाप रहस्यमयी ओझेलमा छन्।

त्यस्तै, गणेशमान सिंहजस्ता त्यागी नेताको पुत्र हुनुको लाभ मात्र लिइरहने प्रकाशमान सिंह आफ्नै प्रभाव क्षेत्र काठमाडौँमा सुस्त मात्र होइन, पार्टी उम्मेदवारको विपक्षमा उभिएको गम्भीर आरोप खेपिरहेका छन्।

सुर्खेतका पूर्णबहादुर खड्कादेखि नवलपरासीका शशाङ्क कोइरालासम्मको यो मौनता केवल संयोग होइन, बरु यो पार्टीभित्रको नयाँ नेतृत्वलाई असफल बनाउन बुनिएको एउटा बृहत् आन्तरिक षड्यन्त्र हो। यी नेताहरूले बुझ्न जरुरी छ कि पार्टीले उनीहरूलाई दिएको पद, प्रतिष्ठा र अवसरको ऋण तिर्ने बेला यही हो। तर, विडम्बना! उनीहरू केवल ‘सिन्डिकेट’ जोगाउने दाउमा छन्।

कथंकदाचित् फागुन २१ पछि नयाँ भनिएका शक्तिले नेपालमा सरकार बनायो भने कांग्रेसमा वर्षौँदेखि ‘तर’ मारेर राज गरिरहेका यी तथा यिनीहरूजस्ता धेरै पात्र भुटानी शरणार्थी, सुडान घोटाला, नेपाल ट्रस्ट, टीकापुर जग्गा प्रकरणजस्ता विषयमा तत्काल तानिने सम्भावनालाई नकार्न सकिन्न। त्यतिबेला निष्पक्ष र स्वतन्त्र ढङ्गले छानबिन नै नगरी उक्त काण्डसँग जोडिएका पात्रहरू पक्राउ पर्न सक्नेछन्। निष्पक्ष छानबिन भए त बदलिएको कांग्रेसको माग पनि सम्भवतः त्यही हो। नत्र भने त्यस्तो अवस्थामा वक्तव्य जारी गरिदिन केपी ओलीबाहेक अरू कुनै ‘डेमोक्रेटिक’ स्थायी राजनीतिक शक्तिसमेत उनीहरूसँग हुनेछैन।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र जुन किसिमको ‘इगो’ को लडाइँ सुरु भयो, त्यसले पार्टीलाई दुई स्पष्ट धारमा विभक्त गरिदिएको छ। एउटा धार, जसको नेतृत्व गगन थापा र विश्वप्रकाश शर्माहरूले गरिरहेका छन्, जसले कांग्रेसलाई २१ औँ शताब्दीको आधुनिक, प्रविधिमैत्री, पारदर्शी र भ्रष्टाचारमुक्त संस्था बनाउन चाहन्छन्। यो धारले ‘आइडिया’ र ‘भिजन’ सँगै राजनीतिक स्थिरता, सुशासन र समुन्नतिको कुरा गर्छ। अर्को धार, जसमा उनै देउवा, सिटौला र शेखरहरू छन्, उनीहरू पुरानै सामन्ती शैलीको ‘सिन्डिकेट’ कायम राखेर पार्टीलाई आफ्नो मुठीमा मात्र राख्न चाहन्छन्।

देउवा पक्षले निर्वाचन आयोग र अदालतसम्म पुगेर नयाँ नेतृत्वलाई अवैधानिक करार दिने जुन दुष्प्रयास गर्‍यो, त्यसले नेपाली लोकतन्त्रको इतिहासमा कांग्रेसलाई निकै लज्जित बनाएको छ। यद्यपि, कानुनी रूपमा गगन नेतृत्वले आधिकारिकता पाएपछि यी षड्यन्त्रकारीहरू अहिले रक्षात्मक बनिसकेका छन्, तर उनीहरूको मनभित्रको प्रतिशोध अझै मत्थर भएको छैन।

यति हुँदाहुँदै पनि, कांग्रेसभित्र आशाको दियो निभेको छैन। बरु, यो झन् प्रज्वलित भएको छ। गगन थापाले यसपटक काठमाडौँको सुरक्षित किल्ला छोडेर मधेसको सर्लाही क्षेत्र नं. ४ बाट जुन चुनावी युद्ध लड्ने आँट देखाए, त्यसले समग्र मधेसको राजनीतिमा समेत नयाँ रक्तसञ्चार गराएको छ।

मधेसका युवाहरू (जेनजी), जो वर्षौँदेखि जातिवादी र केही टाठाबाठाको सिन्डिकेटबाट थिचिएका थिए, उनीहरूका लागि गगन एउटा नयाँ ‘आइकन’ का रूपमा उदाएका छन्। गगनले अघि सारेको ‘सपना देख्न सक्ने नेपाल’ को स्पष्ट मार्गचित्रले कांग्रेसलाई फेरि एकपटक एजेन्डाको राजनीतिमा फर्काएको छ। यो शैली ठ्याक्कै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो वा फ्रान्सका इमानुएल म्याक्रोँको प्रारम्भिक राजनीतिक अभियानजस्तै छ, जहाँ नेताले जनतासँग सिधै संवाद गर्छ र ठोस नतिजाको प्रतिज्ञा गर्छ।

कांग्रेसमा यतिखेर एकातिर धोका, षड्यन्त्र र ‘सिन्डिकेट’ को जालो बुन्ने पुराना पात्रहरू छन् भने अर्कोतिर पसिना, इमानदारी र स्पष्ट भिजन लिएर मैदानमा होमिएका युवाहरू छन्।

गगनको यो वैचारिक अभियानलाई विश्वप्रकाश शर्माले देशभरि एउटा ‘आँधीबेहरी’ को रूप दिएका छन्। आफू प्रत्यक्ष उम्मेदवार नभई देशभरका कांग्रेस उम्मेदवार जिताउन मेची–महाकाली दौडाहामा रहेका विश्वप्रकाशको स्वर अहिले पूर्वका बस्तीदेखि कर्णालीका डाँडाकाँडाम्सम गुञ्जिरहेको छ। ‘गगनलाई ५ वर्षका लागि प्रधानमन्त्री बनाउने’ उनको एउटै उद्घोषले सुस्ताएका कार्यकर्तामा अभूतपूर्व उत्साह भरेको छ। यी दुई युवा नेताको जोडीले कांग्रेसलाई केवल एउटा भोट माग्ने मेसिन मात्र होइन, बरु समुन्नत नेपालको एउटा ‘आइडिया’ र ‘भिजन’ को रूपमा जनतामाझ स्थापित गराएका छन्।

फागुन २१ गते हुने निर्वाचन नेपाली कांग्रेसका लागि केवल हार र जितको प्राविधिक हिसाब मात्र होइन। यो कांग्रेसभित्रको ‘थकित’, ‘स्वार्थी’ र ‘धोकेबाज’ पुस्ताको औपचारिक बिदाइको घण्टी हो। देउवा, शेखर, सिटौला र प्रकाशमानहरूले अहिले जुन मौनता, पलायन र सम्भावित अन्तर्घातको बाटो रोजेका छन्, त्यसले उनीहरूलाई पार्टीबाट मात्र होइन, इतिहासको पानाबाटै असान्दर्भिक बनाउने निश्चित छ।

विश्व इतिहासमा जब–जब नेतृत्वले आफ्नै सङ्गठन र देशको भविष्यमाथि घात गर्छ, तब जनताले उनीहरूलाई कहिल्यै माफ गर्दैनन्। सन् १९५० को दशकमा फ्रान्सको ‘फोर्थ रिपब्लिक’ असफल हुनुको कारण पनि नेताहरूको यस्तै सङ्कुचित स्वार्थ थियो, जसलाई पछि चार्ल्स डी गलको उदयले विस्थापित गरिदियो। आज कांग्रेसमा पनि गगन र विश्वप्रकाशहरूको उदय त्यही ऐतिहासिक आवश्यकताको उपज हो।

फागुन २१ को मतदानले कांग्रेसको मात्र होइन, समग्र नेपालको लोकतान्त्रिक भविष्यको मार्गचित्र कोर्नेछ। कांग्रेसमा यतिखेर एकातिर धोका, षड्यन्त्र र ‘सिन्डिकेट’ को जालो बुन्ने पुराना पात्रहरू छन् भने अर्कोतिर पसिना, इमानदारी र स्पष्ट भिजन लिएर मैदानमा होमिएका युवाहरू छन्। यो लडाइँमा एउटा कुरा के निश्चित छ भने- विचार र समयको प्रवाहलाई कसैले रोक्न सक्दैन।

गगन र विश्वप्रकाशहरूको यो वैचारिक यात्रालाई रोक्न खोज्नेहरू आफैँ इतिहासको रद्दीटोकरीमा मिल्किनेछन्। चुनावमा आफ्नै पार्टीलाई धोका दिन सक्ने यी नेताहरूको भविष्य अब केवल स्मृतिको पानामा सीमित हुनेछ।

नयाँ पुस्ताको कांग्रेसले समुन्नत नेपालको एउटा नयाँ र सुनौलो अध्याय लेख्ने तयारी गरिरहेको छ। अबको कांग्रेस कुनै गुट वा परिवारको पेवा हुनेछैन, यो त आम जनता र परिवर्तनकारी युवाहरूको साझा थलो हुनेछ। यो निर्वाचनले स्पष्ट सन्देश दिने नै छ— कांग्रेस ब्युँझिएको छ, नयाँ अनुहार र नयाँ विचारका साथ।

लेखक
सुदर्शन आचार्य

(आचार्य, नेपाली कांग्रेसकाे महासमितिका पूर्व सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?