यतिबेला देशमा चुनावको सरगर्मी चढिरहेको छ। चुनावी प्रचारमा दल र दलका कार्यकर्ताको चर्काचर्की छ। गत भदौ २३ र २४ गतेको विध्वंशपछि ‘अब मुलुक कता जान्छ?’ भन्ने पिरलो र चिन्ता हरेक नागरिकको मनमा उठिरहेको बेला यो चुनाव हुनु पनि एउटा सकारात्मक पाटो हो। चुनाव हुनुपर्छ र देशले नयाँ निकास पाउनैपर्छ। यसो भनिरहँदा चुनावपछिको स्थिति के होला भन्ने विषयमा धेरैको मनमा उठिरहेका अनुत्तरित प्रश्नहरू पनि धेरै छन्।
नेपालको राजनीतिक मैदानमा अहिले देखिएको द्वन्द्वचुनावी प्रतिस्पर्धा मात्र होइन। यो विकराल मनोविज्ञानको सामूहिक उद्गार हो। एकातिर दशकौँदेखि शासन गर्दै आएका परम्परागत शक्तिसंरचना, अर्कोतिर जनताले खोजेको नयाँ अनुहार र नयाँ ऊर्जा। यो टकराव वास्तवमा पुस्ता र प्रवृत्तिबीचको डरलाग्दो खाडल पनि हो।
जब परम्परागत दलहरू जस्तै नेपाली कांग्रेस, नेकपा एमाले वा नेकपालगायतले आफ्नो विरासत र इतिहासलाई नै वैधताको आधार बनाइरहे, तब नयाँ पुस्ताले प्रश्न मात्रै उठाएनन्, नेपालको राजनीति नै उलटपुलट बनाइदिए। अब यो उलटपुलटलाई पुनः सुलट अर्थात् सुल्टो बनाउन कसरी सकिन्छ भन्ने विषयचाहिँ प्रमुख भएको छ।
के विचारको यथास्थितिमा रहनु नै प्रगतिशीलता थियो? कुनै एउटा सिद्धान्तको गुलाम भइरहनु नै लोकतन्त्रको आचरण थियो? यदि थियो भने त्यस्ता परिपाटीको गर्विलो विरोध निश्चित देखिन्छ। इतिहासका थेसिसमा भेटिने वाद र सिद्धान्तहरू अब फ्लप भइरहेका छन्। राजनीतिमा विचार आवश्यक हुन्छ। तर जब विचार व्यवहारमा नझरेर केवल भाषणमा सीमित हुन्छ, त्यसपछि त्यो विचार होइन, आडम्बर बन्छ। र, त्यस्ता आडम्बरले धेरै सङ्गठनहरू तहसनहस बनाइसकेका पनि छन्। आडम्बरले तहसनहस भएका दलहरूका कथा त फेरि कुनै दिन लेखौँला। अहिले मलाई आम नागरिकले खोजिरहेको सिन्थेसिसको खोजीको चर्चा गर्ने मन छ।
सैद्धान्तिक रूपमा हेर्ने हो भने थेसिस–एन्टिथेसिस–सिन्थेसिसको विचारलाई सबैभन्दा व्यवस्थित रूपमा विकास गर्ने दार्शनिक थिए- फ्रेडरिक हेगेल। हेगेलको द्वन्द्वात्मक दर्शनअनुसार एउटा विचार (थेसिस) उठ्छ, त्यसको विरोधी विचार (एन्टिथेसिस) जन्मिन्छ, र अन्ततः दुवैको टकरावबाट नयाँ रूप (सिन्थेसिस) पैदा हुन्छ। यही प्रक्रिया नै समाज, राजनीति र इतिहासको गतिशीलता हो। पछि यही द्वन्द्वात्मक प्रक्रियालाई भौतिक आधारमा उतार्ने काम कार्ल मार्क्सले गरेका थिए।
मार्क्सका दृष्टिमा द्वन्द्व वर्गसङ्घर्षमा देखिन्थ्यो। शासक वर्ग र श्रमिक वर्गको टकरावबाट नयाँ समाज निर्माण हुन्छ भन्ने विश्वास थियो। त्यसैअनुरूप नेपालको राजनीतिक इतिहास हेर्दा राजतन्त्र एउटा थेसिस थियो। त्यसको विरोधमा प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र सशस्त्र द्वन्द्व एन्टिथेसिसका रूपमा उभिए। अन्ततः एक प्रकारको सिन्थेसिसका रूपमा गणतन्त्र आयो। तर प्रश्न उठ्छ- के त्यो सिन्थेसिस स्थायी भयो?
समयसँगै कम्युनिस्ट शक्ति, लोकतान्त्रिक शक्ति, मधेसी आन्दोलन, पहिचानको राजनीति- सबैले आ–आफ्नो थेसिस खडा गरे। ती थेसिसहरू एकअर्कासँग टकराउँदै गए। र, नेपालको धेरैजसो अवस्थामा टकरावले नयाँ सिर्जनाभन्दा बढी विभाजन जन्मायो। विचार धेरै भए, तर व्यवहार कमजोर भयो। भाषण धेरै भए, तर सेवा शून्य भयो। त्यही शून्यतामा मुलुक लामो समय ‘कुहिरोको काग’ भइरह्यो। जनता चरम निराशाबाट गुज्रिरहे। दलहरूले आलोपालो र भागबन्डाको राजनीतिमै आफ्ना सम्पूर्ण शक्ति खेर फाले। समयमा बन्नुपर्ने सडक बनेनन्। समयमा हुनुपर्ने काम कहिल्यै समयमा भएनन्। भ्रष्टाचारले सीमा पार गर्यो।
यही बीचमा कुनै सोचविचार र कूटनीतिक पहल नगरी सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने काम भयो, जो एउटा अप्रिय र क्रूर निर्णय बन्न पुग्यो। करोडौँ मानिसका भावनालाई ख्याल नगरी गरिएको यो निर्णयले नसोचिएको विध्वंशको सिर्जना गर्यो। फलतः भदौ २३ र २४ को अप्रियतालाई देशले सहन गर्नुपर्यो।
निर्वाचन मुखैमा छ। यसले एउटा परिणति त अवश्य निकाल्नेछ। तर अहिलेको चुनावी माहोल हेर्दा अबका मानिसले वैचारिक बहसभन्दा बढी व्यावहारिक परिणाम खोजिरहेका छन् भन्न मज्जाले सकिन्छ। उनीहरूलाई ठूलो सिद्धान्त होइन, आधारभूत अधिकार, सफा सडक, पारदर्शी प्रशासन, छिटो सेवा र जवाफदेही नेतृत्व चाहिएको प्रस्ट छ। यो एउटा सामान्य व्यावहारिकताको माग हो, जुन व्यावहारिकतामा आजसम्म राजनीति गरिरहेका दलहरू चुकिरहेका थिए।
यही व्यावहारिक सिन्थेसिसको प्रतीक हुन पुगेका छन् बालेन्द्र शाह। बालेन परम्परागत दलका नेता होइनन्। उनले आफूलाई न त स्पष्ट कम्युनिस्ट कित्तामा राखेका छन्, न त पुरानो प्रजातान्त्रिक कित्तामा। उनी व्यवस्थाभित्रै बसेर सुधारको सजिलो भाषा बोलिरहेका छन्। उनको राजनीति विचारका ठूला नाराभन्दा पनि साना व्यावहारिक काममा केन्द्रित देखिन्छ, जो आम छ, जनजीवनसँग प्रत्यक्ष सरोकार राख्छ। अनियमितताविरुद्धका कदम, प्रशासनिक कडाइ र सार्वजनिक संवादमा उनका सोचाइहरू अग्रसर भएका छन्। उनले बोलेका हरेक शब्दहरूले आम नागरिकका मनमा गहिरो छाप छाड्न सफल भएका छन्। उनी भाषण गर्दैनन्, जनतासँग सिधै संवाद गरिरहेका छन्। त्यो संवादले हरेक मान्छेको मन जितिरहेको छ। यसले के देखाउँछ भने पुराना अनुहारसँग जनता थाकेका छन्। उनीहरूलाई पटक–पटकको ऐतिहासिक आन्दोलन होइन, जिम्मेवारी लिने नेतृत्व चाहिएको छ। उनीहरूलाई पटक–पटकको क्रान्ति होइन, नियमित सेवा चाहिएको छ।
नयाँ अनुहार प्रायः खाली क्यानभासजस्तै हुन्छन्। जनताले आफ्ना अधुरा सपनाहरू त्यसमा प्रक्षेपण गर्न सुरक्षित ठान्छन्। बालेन शाहजस्ता पात्रहरूमा धेरैले आफ्नो असन्तोष, विद्रोह र सम्भावना देखिरहेका छन्। यो एउटा व्यक्तिप्रेम होइन, यो प्रणालीप्रतिको असन्तोषको प्रतीकात्मक रूप हो। जब परम्परागत संरचनाले भरोसा गुमाउँछ, मानिसहरू नयाँ प्रतीक खोज्छन्। नयाँ अनुहार त्यही प्रतीकको रूप बन्छ। र, त्यही नयाँ रूप हुन पुगेका हुन् बालेन्द्र शाह।
उनले ठूला विचारको घोषणापत्रभन्दा साना प्रशासनिक निर्णयलाई प्राथमिकता दिएका छन्। दैनिक जनजीवनका, जनजीविका विषयलाई सम्बोधन गर्ने प्रयत्न गरिरहेका छन्।
सिन्थेसिसले नागरिकसँग जोडिने नियमित क्रियाशीलता खोज्छ। उनी कतिन्जेल सिन्थेसिस अर्थात् गतिशील भइरहन्छन्, त्यो त भविष्यले देखाउने कुरा हो। तर यतिबेला उनी एउटा सङ्केत हुन्। एउटा आशा हुन्। यो सब हेर्दा जनताले अब वैचारिक ध्रुवीकरणभन्दा परिणाममुखी प्रयोग चाहिरहेका छन् भन्न हिचकिचाउनु पर्दैन।
नेपालका दलहरूले दशकौँसम्म समानता, वर्गमुक्त समाज, जनताको राज्य, परिवर्तनजस्ता शब्द दोहोर्याएर थाकेनन् र अझै दोहोर्याउँदै छन्। तर जब सत्ता हातमा आउँछ, त्यही वर्गीय विमर्श सत्ता–सुविधाको विमर्शमा रूपान्तरण हुन्छ। एउटा ठूलो जनक्रान्ति सत्तामा पुगेपछि मौन हुन्छ। यदि राज्य सञ्चालनको नक्सा थिएन भने त्यो जनक्रान्तिको अर्थ के थियो? यदि व्यवस्था बदल्ने योजना व्यवहारमा थिएन भने पटक–पटक आन्दोलन किन गरियो? त्यो क्रान्तिको थेसिस त व्यवस्था फेर्ने थियो, तर व्यवहार सधैँ शक्तिमा कसरी टिकिरहने भन्ने मात्र भयो।
यस्तो लाग्छ- समय र राजनीतिको साइनो निकै गहिरो हुने गर्छ। कस्तो राजनीति गर्ने? कस्तो विचार समाउने? कस्ता मुद्दाहरू उठाउने? र, कस्ता सपनाहरू देख्ने? ती सपनाहरूलाई कसरी परिणाम दिने जस्ता थुप्रै प्रश्नहरूको जवाफ समयले होइन नेतृत्वले समयलाई दिनुपर्ने हुन्छ।
समयमा परिणाम दिन सकिएन भने समयले नै को गतिशील र को प्रतिगामी भनेर निर्धारण गरिदिन्छ। यस अर्थमा पनि राजनीति गर्नेले समयको चाल र सपनाको परिणामलाई बुझेको हुनुपर्छ । अन्यथा परिवर्तनका सबै नाराहरू थेसिस मात्रै भएर रहनेछन् या एन्टिथेसिस हुनेछन्। सिन्थेसिस भइरहन समयको हरेक पाङ्ग्रामा परीक्षा दिइरहन सक्नुपर्ने हुन्छ।
गतिशील र अग्रगामी हुन कम्युनिस्ट भइरहनुपर्दैन। न लोकतान्त्रिक हुन कांग्रेस भइरहन जरुरी छ। यो त समयचेतना र राजनीतिक गतिशीलताको कुरा हो। समयचेतनालाई हामीले जति आत्मसात् गर्न सक्छौँ, त्यति नै भविष्यको प्रगतिपथ तयार हुने हो।
कुनै बेला कम्युनिस्टहरूलाई गतिशील शक्ति मानिन्थ्यो। उनीहरू सामाजिक न्याय, जीविका र स्वतन्त्रताको कुरा गर्थे। कुनै बेला कांग्रेस पनि गतिशील थियो। किनकि उसले पनि सामाजिक न्याय र लोकतन्त्रको कुरा गर्थ्यो। निरङ्कुश र निर्दलीय व्यवस्थामा लोकतन्त्रको चाहना निश्चय नै आफैँमा सिन्थेसिस थियो। तर समय तीव्र गतिमा अगाडि बढेको बढ्यै छ। पुँजीवादले रङ फेरिरहेको छ। वर्ग पक्षधरतालाई मानवतावादले उछिनिसकेको छ। शोषणका रूपहरू फेरिएका छन्। राज्य र शासकको चरित्रमा बदलाव आइसकेको छ। लोकतन्त्रको मान्यतामाथि नयाँ–नयाँ प्रयोग हुन थालेका छन्।
त्यसैले प्रश्न स्वाभाविक छ- समयसँग नहिँड्ने कांग्रेस केको लोकतान्त्रिक? कम्युनिस्टहरूको कुरा पनि त्यही हो। अरूले निर्माण गरेको राजमार्गलाई लोकमार्ग भन्दैमा क्रान्ति सफल भएको ठान्ने तथाकथित नायक कसरीकम्युनिस्ट? नयाँ दरबारमा राष्ट्रपतिलाई स्थापित गर्दैमा के गणतन्त्रको दायित्व पूरा हुने हो? समयक्रमले देखाएकै छ कम्युनिस्टहरू स्वयम् सामाजिक न्यायका मुद्दाहरूबाट कसरी विमुख हुँदै गए। कालक्रमले कम्युनिस्टहरूलाई प्रगतिशील कित्ताबाट कसरी स्खलित बनाइरहेको छ।
कुरा प्रस्ट छ– पुरानो विचार, समय र सपनाको वफादार सिपाही हुँदैमा कोही प्रगतिशील हुँदैन। प्रगतिशील हुन नयाँ युगको आह्वान गर्न सक्नुपर्छ। आह्वान गरेअनुरूप परिणाम निकाल्न सक्नुपर्छ। विगत, वर्तमान र भविष्यलाई हेर्न सक्ने ज्ञानपद्धतिको समयचेतना भएन भने आफूलाई प्रगतिशील वा पुरानो विचार भनिरहनुको कुनै तुक छैन। वर्तमान बोध गर्ने र भविष्य देख्ने विश्वदृष्टि नभएका व्यक्तिले समाज परिवर्तनको डिङ हाँक्नु व्यर्थ छ।
राजनीति केवल विचारको प्रतिस्पर्धा होइन, शक्ति–क्षेत्रको संरक्षण पनि हो। जब नयाँ शक्ति उदाउँछ र परम्परागत मताधारमा प्रवेश गर्न थाल्छ, पुराना शक्तिहरूले स्वाभाविक रूपमा असुरक्षा महसुस गर्छन्। तर पुराना दलहरूले धैर्य गुमाउनु हुँदैन, बरु गहिरोसँग आत्मसमीक्षा गर्नुपर्छ। किनकि जनताको निर्णयलाई कसैले बदल्न सक्दैन र बन्दी बनाउन पनि सक्दैन। यो अवस्थामा तिलमिलाउनुभन्दा सङ्क्रमणको लक्षण बुझ्न जरुरी छ।
अहिले नेपालको राजनीति एउटा ऐतिहासिक मोडमा छ, जहाँ पुरानो संरचना र नयाँ आकाङ्क्षा परस्पर जुधिरहेका छन्। यो टकरावलाई विनाशकारी होइन, रूपान्तरणकारी बनाउने दायित्व पनि पुराना दलहरूकै काँधमा धेरै छ। व्यवहार कुशल राजनीतिक परिपक्वता र दलहरूको आत्मसमीक्षाले नै अन्ततः नयाँ निर्णायक शक्ति निर्धारण गर्नेछ।
इतिहासले देखाएको पनि छ- कुनै पनि राजनीतिक संरचना स्थिर रहँदैन। समाज बदलिन्छ, अपेक्षा बदलिन्छ र नेतृत्वको भाषा पनि बदलिनुपर्छ। यदि पुराना दलहरूले परिवर्तनलाई खतरा मात्र ठाने भने, उनीहरू समयको लयबाट पछि पर्न सक्छन्। तर यदि उनीहरूले परिवर्तनलाई सहयात्राका रूपमा बुझे भने, त्यो लोकतन्त्रको परिपक्व चरण हुनेछ।
प्रतिक्रिया 4