News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङमा १८ फागुनसम्मको निर्वाचनमा कुनै झडप र त्रास नहुँदा नयाँ लोकतान्त्रिक संस्कार देखिएको छ।
- नेकपा एमाले र नेकपाका उम्मेदवारहरू बीच बाटोमै अंकमाल र सौहार्द्रता देखिएको छ।
- धादिङमा चुनावी प्रचारमा घरदैलो र सामाजिक सञ्जाललाई प्राथमिकता दिइएको छ र सुरक्षा व्यवस्था कडा गरिएको छ।
१८ फागुन, धादिङ । विगतका निर्वाचनहरूमा धादिङको नाम आउनासाथ धेरैको मानसपटलमा एउटा चित्र नाच्थ्यो– धक्कामुक्की, तोडफोड र सन्त्रास । तर यसपटक धादिङले आफ्नो परिचय बदल्ने प्रयास गरेको छ ।
मतदान हुन ४ दिन बाँकी रहँदा धादिङमा न झडपका खबर छन् न त मतदातामा त्रास । बरु, फरक दलका उम्मेदवारहरूबीचको अंकमाल र सौहार्द्रताले नयाँ लोकतान्त्रिक संस्कारको झल्को दिइरहेको छ ।
यसपटक धादिङको चुनावी घरदैलोमा केही यस्ता दृश्य देखिए, जुन विगतमा दुर्लभ मानिन्थे । गंगा–जमुना गाउँपालिकाको छेलाङमा नेकपा एमालेका धनबहादुर घले र नेकपाका उम्मेदवार रामबहादुर भण्डारीबीच बाटोमै जम्काभेट भयो । उनीहरूले एक–अर्कालाई अंकमाल गरे र आ–आफ्नो पक्षमा मत मागे ।
यस्तै दृश्य रुवीभ्यालीमा कांग्रेसका रमेश धमला र नेकपाका भण्डारीबीच पनि देखियो । एउटा टोली जाँदै र अर्को टोली फर्किंदै गर्दा बाटोमा भेट भयो । उनीहरूले एक अर्कामा अंकमाल गरे, कार्यकर्ताहरूले पनि हात मिलाए । सञ्चो–बसिञ्चो सोधनी गरे । चुनावी प्रचार अभियानको समीक्षा गरे ।

ज्वालामुखी गाउँपालिकामा कांग्रेस उम्मेदवार धमला रास्वपा उम्मेदवार बोधनारायण श्रेष्ठको घरमै पुगेर उनकी आमासँग आशीर्वाद लिएको प्रसंगले त सामाजिक सञ्जालमा निकै प्रशंसा पायो । बोधनारायणको घरमा आमालाई ‘तपाईंको आफ्नै छोरो निर्वाचनमा उठ्नुभएको छ, आफ्नो छोरालाई भोट हाल्नुस, मलाई आशीर्वाद दिनुस्’ भन्ने धमलाको वाक्यले राजनीतिक सहिष्णुताको नयाँ मानक खडा गरेको छ ।
धादिङ निर्वाचनमा पहिले यस्तो वातावरण थिएन । विगतका सबैैजसो निर्वाचनमा कुनै न कुनै ठाउँमा कार्यकर्ताबीच झगडा र तोडफोड भएकै थिए ।
२०६४ र २०७० को संविधानसभा निर्वाचनमा धादिङका विभिन्न क्षेत्रमा दलका कार्यकर्ताबीच खुकुरी हानाहान र ढुङ्गामुढाका घटना सामान्य जस्तै थिए । २०७४ को स्थानीय र आम निर्वाचन गजुरी, बेनीघाट रोराङ र खनियाबास क्षेत्रमा कार्यकर्ताबीचको झडपले कतिपय ठाउँमा मतदान नै रोकिएको समेत थियो । सवारी साधन तोडफोड र कार्यकर्ता घाइते हुनु नियमित समाचार बन्थे ।
तर, यसपटक पूरै माहोल परिवर्तन भएको छ । दलहरूले चुनावी प्रचार प्रसारको लागि निर्वाचन आयोगबाट पाएको समयावधि सकिँदासम्म धादिङमा कुनै पनि अप्रिय र झडपका घटना भएका छैनन् ।
नीलकण्ठ–३ पुछारबजारका स्थानीय नवराज लम्सालले भने, ‘पहिले जस्तो ट्यापे–मुन्द्रेहरूको आतंक र बाइकको कानै खाने आवाज यसपटक गायब छ । नेताहरू पनि शान्त र शालिन शैलीमा भोट माग्दै हिँडेका छन् ।’

फेरिएको प्रचार शैली : सडकबाट सामाजिक सञ्जाल
यसपटक धादिङका उम्मेदवारहरूले आफ्नो रणनीति बदलेका छन् । जिल्लामा ठूला आमसभा र शक्ति प्रदर्शनभन्दा पनि मतदाताको आँगनमा पुग्ने घरदैलो र सामाजिक सञ्जाललाई मुख्य हतियार बनाइएको छ ।
फेसबुक, टिकटक र ह्वाट्सएपमार्फत उम्मेदवार र कार्यकर्ताहरूले आफ्ना एजेन्डा र मतदाता शिक्षा प्रचार गरिरहेका छन् । ठूला ट्रकमा लाउड स्पिकर राखेर गरिने होहल्लाभन्दा गाडीमा समान्य गीतसंगीत, कोणसभा र व्यक्तिगत भेटघाटलाई प्राथमिकता दिएका छन् ।
मौन अवधि सुरु हुनै लाग्दा जिल्ला प्रशासन कार्यालय धादिङले पनि सुरक्षाको पूर्ण बन्दोबस्त गरिएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार जिल्लाका सबै मतदानस्थलमा सुरक्षाकर्मी खटिसकेका छन् ।

‘अहिलेसम्म कुनै अप्रिय घटना नहुनुले शान्तिपूर्ण मतदान हुने बलियो आधार तयार गरेको छ,’ प्रजिअ सुवेदीले भने, ‘सबैको साथ सहयोग लिएर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नेगरी सबैै सुरक्षा निकाय र निर्वाचन कार्यालय लागिपरेको छ ।’
राजनीतिमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर त्यो प्रतिशोधमा बदलिनु हुँदैन भन्ने सन्देश यसपटक धादिङका उम्मेदवारहरूले दिएका छन् । उम्मेदवारहरूले देखाएको यो सौहार्द्रता मतदानको दिनसम्म कायम रहेमा धादिङले देशभरकै लागि एउटा उदाहरणीय सन्देश प्रवाह गर्ने निश्चित छ ।
प्रतिक्रिया 4