+
+
Shares

मौन अवधि मतदाताले अन्तरआत्माले निर्णय गर्ने अवसर हो : कार्यवाहक प्रमुख आयुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १६:१५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा मतदाताले स्वतन्त्रतापूर्वक निर्णय गर्ने अवसर पाउने बताए।
  • निर्वाचन आयोगले ४ फागुनदेखि १८ फागुनसम्म प्रचारप्रसार निषेध अवधि तोकेको छ र यस अवधिमा कुनै प्रचारप्रसार, सभा वा अन्तरक्रिया गर्न पाइँदैन।
  • मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थल वरिपरि प्रचार सामग्री हटाउन निर्देशन दिइएको छ र सामाजिक सञ्जालमा पनि निषेध पालना गर्नुपर्ने भण्डारीले उल्लेख गर्नुभयो।

१८ फागुन, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मौन अवधि मतदाताले अन्तरआत्माले स्वतन्त्रतापूर्वक निर्णय गर्ने अवसर भएको बताएका छन् ।

राजनीतिक दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोक्ने गरिएको उनले बताए ।  यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उनको विश्वास छ ।

२१ फागुनको निर्वाचनका लागि आयोगले ४ फागुनदेखि १८ फागुन (सोमबार) सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो ।

निर्वाचन प्रचार अभियानलाई केवल विजयी हुने साधनका रूपमा मात्र नलिई आम मतदाताको मन जित्ने संस्कारयुक्त प्रक्रियामा परिणत गर्नुपर्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारी बताउँछन् ।

यही मान्यताअनुसार मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उम्मेदवार चयन गरुन् भन्ने मनशायमा विश्वव्यापी रूपमा नै मतदान अघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको उनले बताए ।

मौन अवधिका लागि तोकिएका आचरण अक्षरश: पालना गर्दा त्यसबाट राजनीतिक दल, उम्मेदवार एवं सरोकारवाला सबैबाट निर्वाचनको स्वच्छता र निष्ठा प्रवर्द्धन गर्न मद्दत पुग्ने उनको विश्वास छ ।

प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन पनि सम्बन्धीत दललाई निर्देश गरेको छ ।

यो अवधिमा राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ । कार्यवहाक प्रमुख आयुक्त भण्डारीका अनुसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनैपनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट गरेको पाइए कारबाही हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?