१८ फागुन, काठमाडौं । इरानी ‘प्रोक्सी’का रूपमा परिचित हिजबुल्लाहको सैन्य गतिविधिमाथि लेबनानी प्रधानमन्त्री नवाफ सलामले प्रतिबन्धको घोषणा गरेका छन् ।
हिजबुल्लाह लेबनानको भूमिमा सक्रिय सशस्त्र समूह हो । जसले प्यालेस्टाइनको पक्षमा लामो समयदेखि इजरायलविरुद्ध सशस्त्र हमला गर्दैआएको छ । यस्तै लेबनानमा पनि उसको दबदबा रहँदैआएको छ । हिजबुल्लाहलाई इरानको वित्तीय तथा सैन्य सहायता रहँदैआएको बताइन्छ ।
यता अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेसँगै लेबनानले हिजबुल्लाहविरुद्ध प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
‘हिजबुल्लाह समूहलाई उसका सैन्य र सुरक्षा गतिविधिमा तत्काल प्रतिबन्ध लगाउने र हतियार राज्यलाई बुझाउन दबाब दिने निर्णय गरिएको छ,’ लेबनानका प्रधानमन्त्री सलामले भनेका छन् । हिजबुल्लाह लेबनानको सरकार र संसद् दुवैमा प्रतिनिधित्व गर्छ ।
यसरी लेबनानको राजनीतिक शक्तिकै रूपमा भूमिका खेलिरहेको हिजबुल्लाहमाथि प्रतिबन्ध लगाउने प्रयासलाई त्यहाँको अभूतपूर्व कदम भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
उता अमेरिका–इजरायलको हमलामा इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएपछि सोमबार नै हिजबुल्लाहले बदला लिन इजरायलतर्फ रकेट र ड्रोन आक्रमण गरेको थियो ।
हिजबुल्लाहको सो आक्रमणपछि इजरायलले लेबनानको राजधानी बेरुत र दक्षिण लेबनानका दर्जनौँ गाउँहरूमा जवाफी हमला गरेको थियो । जसमा कम्तीमा ३१ जनाको मृत्यु भएको बताइएको छ ।
त्यसपछि बसेको मन्त्रिपरिषद्को आपतकालीन बैठकले लेबनानले आफ्नो वैध संस्थाको ढाँचाभन्दा बाहिर लेबनानी भूमिबाट सुरु गरिएको कुनै पनि सैन्य हमलालाई पूर्ण र स्पष्ट रूपमा अस्वीकार गर्ने बताएको छ ।
‘हिजबुल्लाह समूहले कुनै सैन्य गतिविधि चलाएमा कानुनविरोधी गतिविधि हुनेछ र यसलाई आफ्नो हतियार हस्तान्तरण गर्न बाध्य पार्नेछ,’ बैठकपछि प्रधानमन्त्री सलामले भने, ‘हिजबुल्लाहको सबै सुरक्षा र सैन्य गतिविधिहरू तत्काल निषेध गर्न आवश्यक छ ।’
सोमबार सलामले सेना र सुरक्षा निकायलाई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन् । साथै उनले इजरायली भूमिबाट हुने अवैध मिसाइल वा ड्रोन आक्रमण रोक्ने उपाय पनि सोच्न उनले सेनालाई सुझाव दिए ।
प्रतिक्रिया 4