+
+
Shares
अस्मिन घिमिरेसँग वार्ता :

‘म कथाले मागेको उम्मेदवार हुँ’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते २२:४३

नेकपा (एमाले)ले चितवन–२ मा युवा उम्मेदवार अस्मिन घिमिरेलाई उठाएको छ । रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसकी मीना खरेल लगायतले उम्मेदवारी दिएको यो क्षेत्रबाट आफू निर्वाचित हुने घिमिरेको दाबी छ ।

कलाकार पृष्ठभूमिका घिमिरेले यो क्षेत्रमा विगतमा एमालेले जित्दै आएको, एमालेका पालामा भएको विकास निर्माण जस्ता कारणले मतदाता आफ्नो पक्षमा खुलेको बताउँछन् । घिमिरेसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको संवादको सम्पादित अंशः

तपाईंले चितवन दुई नम्बर क्षेत्रका विभिन्न ठाउँमा गएर मतदातालाई भेट्नु भयो । मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो ?

यो क्षेत्रलाई मैले राजनीतिक, व्यवहारिक र भौगोलिक रुपमा बुझेको छु, हेरेको छु। हामी जहाँ गएका छौं, जसलाई भेटेका छौं, उहाँहरूबाट एकदमै सकारात्मक प्रतिक्रिया पाएका छौं ।

पहिला एमाले भएर बीचमा अन्य दलमा गएका मतदाताहरू एमालेमा फर्किने क्रम छ। अब हामी जुन मूल घर हो हामी त्यही आउने हो भनेर एमालेहरु एमालेमै फर्किने लहर एकदम राम्रो छ । युवा पुस्ताको आकर्षण पनि एमालेमा छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यही क्षेत्रबाट उम्मेदवारी दिनु भएको छ । मतदाताले अन्यदलका उम्मेदवारलाई नदिएर यहाँलाई नै भोट हाल्नु पर्ने कारण छ ?

भदौ २३ र २४ ले खोजेको युवा हो । त्यो आन्दोलनले फलना पार्टीको युवा भनेर खोजेको हैन । म युवा उम्मेदवार हुँ । जेन्जी मुभमेन्टले ‘नो नट अगेन’ भनेको हो । मेरो क्षेत्रको उम्मेदवार अघिल्लो अघिल्लो पटक जित्नु भएको उम्मेदवार कहिले, कति पटक चुनाव लडेपछि पुरानो हुने हो ? एक पटक, दुई पटक, तीन पटक, चार पटक कति पटक चुनाव लड्दासम्म उहाँ नयाँ भइरहने ?

म त यो क्षेत्रमा जन्मेको, हुर्केको, खेलेको, बढेको, मलाई यो ठाउँको हरेक कुरा थाहा छ। हरेक कुना कुनामा पुगेको छु र यो ठाउँको हरेक दुख, पिडा, मर्क मैले बुझेको छु । किनकी म यहाँको स्थानीय हुँ ।

यो ठाउँको दुःख, पीडा, कहाँ के गर्नु पर्छ मलाई थाहा छ। र यो ठाउँको म एम्बुलेन्स हुँ । जतिखेर जनताले जहाँ बोलाउँछ मेरो उपस्थिति रहने छ । त्यहि भएर मेरो उम्मेदवारी हो। मुख्य कुरा चाहिँ अरु नयाँ, हामी चाहिँ कसरी पुरानो भयौ ? नो नोट अघि नै भनेको हैन त ? त्यहि भएर यो जेन्जीको मनोभावना लिएर उम्मेदवारी दिएको हुँ।

यहाँ २०७० को चुनावमा एमाले पहिलो हो । २०७४ मा पनि पहिलो हो । त्यतिबेला १७ हजारले जितेको ठाउँ हो । २०८२ मा पनि पहिलो हुन्छौं ।

२०७० र २०७४ मा तपाईंहरुले जिते पनि २०७९ को चुनावमा तपाईंको पार्टीको हालत के थियो भन्ने कुरा थाहा छ । यो क्षेत्रबाट निर्वाचित रास्वपाका सभापतिले २०७९ मा ४९ हजार र २०८० को उपनिर्वाचनमा ५४ हजार मत ल्याउँदा एमालेको १४ हजारबाट घटेर १२ हजार वरपर आएको थियो । यस चोटी बढ्छ भन्ने ग्यारेन्टी के छन् ?

एमालेको मात्रै होइन यो देशको लोकतान्त्रिक शक्ति सबैको मत घटेको अवस्था थियो । के कारणले घट्यो? सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा भए नभएको कुरा देखाइएको छ । मान्छेलाई दिग्भ्रमित पारिएको छ। अब त्यो अवस्था रहेन । २०६४ मा पनि माओवादी खहरे जस्तो आएको थियो । २०७० मा आइपुग्दा खहरे सुक्यो । माओवादीको अस्तित्व नै भेटिएन । अहिले रास्वपाको त्यही हुने वाला छ।

हामीले मतदातालाई सामाजिक सञ्जालमा आवेग होइन विवेक प्रयोग गर्नुपर्छ भनिरहेका छौं । सामाजिक सञ्जाल देखिएको कुरा र वास्तविक कुरा फरक हुन् । सामाजिक सञ्जाल मात्र हेरेर आफ्नो धारणा बनाउँदा सँधै सही नहुन सक्छ ।

विपक्षी उम्मेदवार र पार्टीको कुरा नगरौं भन्ने लागेको थियो तर तपाईंको प्रश्न आइसकेपछि मैले जवाफ दिनै पर्छ । चितवन दुईको २०७० देखि २०७९ को विकास हेर्नुस् । २०७९ देखि २०८२ सम्मको विकास हेर्नुस् तपाईंले मलाई सोध्न पर्दैन । कालिका, इच्छाकामना र भरतपुर महानगरवासीलाई सोध्नुहोला। अघिल्लो अघिल्लो पटक जितेका सांसदले के काम गर्नुभयो ? विकास योजना कति आयो ? संसद्नमा उहाँले के-के भूमिका खेल्नु भयो ?

म फेरि भन्छु, एमाले भनेको विकास गर्ने पार्टी हो । महानगरमा मात्र होइन । इच्छाकामनाको पहाडी भेगमा एमालेले जनताको जीवनस्तर सुधारेको छ ।

एमालेका चर्चित नेताहरु डराएर तपाईंलाई उम्मेदवार बनाएको भन्ने सुनिन्छ । त्यो सत्य हो ?

यहाँबाट १९ जना नाम सिफारिस भएको थियो । जेनजी आन्दोलनले युवा चाहियो भनेको र देशभरीका रंगकर्मीको तर्फबाट मैले अवसर पाएको हुँ । कलाकारिताकै भाषामा भन्दा म कथाले मागे अनुरुपकै उम्मेदवार हुँ ।

तस्वीर/भिडिओः चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?