१९ फागुन, काठमाडौं । मतदानका लागि मतदाता नामावलीमा नाम हुनु आवश्यक छ ।
निर्वाचन आयोगका अनुसार, सकेसम्म मतदाता परिचय पत्र लिएर मतदान गर्न जानुपर्छ । मतदाता परिचयपत्र हराएको वा नष्ट भएको अवस्थामा अन्य सरकारी कागजपत्र देखाएर पनि मतदान गर्न पाइन्छ ।
तर, कसैले अर्को व्यक्तिको मतदाता परिचयपत्र कब्जा गर्ने वा बिगार्ने कार्य गरेको रहेछ भने त्यस्तो कार्य दण्डनीय हुनेछ ।
निर्वाचन आचासंहिता अनुसार मतदातालाई मतदानबाट बञ्चित गर्न हुँदैन । आयोगका अनुसार, कसैले पनि मतदातालाई मतदान गर्नबाट बञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख, बिगार्न वा खरिद गर्न हुँदैन ।
यस्तो कार्य गरेको अवस्थामा त्यस्तो व्यक्तिलाई ६ महिना कैद वा २५ हजार जरिबाना वा दुवै सजाय हुन सक्दछ ।
आगामी बिहीबार मतदान हुँदैछ । कूल मतदाता १ करोड ८९ लाख ३ हजार ६८९ जना रहेका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभा सदस्यहरू १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् ।
प्रत्यक्षतर्फ खसेको मतमा बहुमत ल्याउने उम्मेदवार निर्वाचित हुन्छन् । समानुपातिकतर्फ राजनीतिक दलले पाएको मतको आधारमा सांसदहरू चुनिन्छन् ।
प्रतिक्रिया 4