+
+
Shares

भ्रामक सूचनाको नयाँ अस्त्र : ‘सन्दर्भविच्छेद’

संवैधानिक निकाय र तथ्य-जाँच गर्ने संस्थाहरूको सक्रियता जति आवश्यक छ, त्योभन्दा बढी मतदाताको सचेत विवेक नै लोकतन्त्रको रक्षाको मुख्य कडी हो। प्रविधिले सूचना दिन्छ, तर त्यसको ‘सन्दर्भ’ बुझ्ने काम मानवीय चेतनाकै हो ।

उमेश श्रेष्ठ उमेश श्रेष्ठ
२०८२ फागुन १९ गते १४:५५

डिजिटल युगको निर्वाचनमा ‘डिपफेक’ अर्थात् एआईद्वारा तयार पारिने अडियो, भिडियोले लोकतन्त्रलाई धरापमा पार्नसक्ने त्रास विश्वव्यापी छ।

समय क्रमसँगै यस्ता भिडियो बनाउन सरल र सहज भइरहेका छन्। पहिले यस्ता भिडियो बनाउन प्राविधिक रूपमा जटिल र खर्चिला हुन्थे। तर, नेपाली निर्वाचनको वास्तविक धरातलमा भने त्योभन्दा धेरै गुणा बढी घातक अस्त्र प्रयोग भइरहेको छ- सन्दर्भ-विच्छेद। यसलाई प्राविधिक भाषामा ‘चिप-फेक’ वा ‘स्यालो-फेक’ पनि भन्ने गरिन्छ।

डिपफेकलाई फरेन्सिक प्रविधिले पहिचान गर्न सहज भए पनि सन्दर्भ काटिएका भिडियोहरूमा उम्मेदवारकै वास्तविक अनुहार र स्वर हुने भएकाले यसलाई ‘अस्वीकार गर्न नसकिने’ अवस्था सिर्जना हुन जान्छ।
डिपफेक बनाउन प्रविधिसम्बन्धी जानकार हुनुपर्ने त छँदैछ, आफूले चाहेको जस्तो बनाउन समय र खर्च पनि लाग्न सक्ने अवस्था हुन्छ।

तर, सामान्य सम्पादनको कला जानेको व्यक्तिले १० सेकेन्डमा तयार पारिएको एउटा ‘चिप-फेक’ ले मतदाताको मनोविज्ञानमा गहिरो भ्रम र उत्तेजना पैदा गरिदिन्छ। यो प्रविधिभन्दा पनि राजनीतिक पूर्वाग्रह र ‘कन्फर्मेसन बायस’ माथि गरिएको रणनीतिक प्रहार हो।

कसरी गरिन्छ ‘सन्दर्भ-विच्छेद’?

नेपालफ्याक्टचेकमार्फत् चुनावको मौन अवधिसम्म आएका मिथ्या सूचनाहरुको विश्लेषण गर्दा भ्रामक सूचना फैलाउनेहरूले मुख्यतया निम्न तीनवटा ‘सेलेक्टिभ एम्प्युटेसन’ विधि प्रयोग गरेको देखिन्छ:

१) अगाडि र पछाडिको सन्दर्भ हटाउने

यस विधिमा वक्ताको मूल आशयलाई बंग्याउन वाक्यको अघि वा पछिको भाग हटाइन्छ। उदाहरणका लागि, गगन थापाले ‘कांग्रेस गरिबको पार्टी होइन’ भन्दै गरेको भिडियो भाइरल बनाइयो। तर वास्तविक सन्दर्भमा उनी ‘नेतृत्वमा आएर सबैलाई हुनेखाने र जग्गाधनी बनाउने’ योजना सुनाउँदै थिए।

त्यस्तै, उनले ‘सित्तैमा पैसा र मोबाइल बाँड्ने’ भनी दिएको अभिव्यक्ति वास्तवमा ‘पपुलिष्ट’ (लोकप्रियतावादी) प्रतिज्ञाहरूमाथि गरिएको एक व्यङ्ग्य थियो, तर त्यसलाई उनको हलुका चुनावी घोषणापत्र जस्तो गरी प्रस्तुत गरियो। अघिल्ला चुनावमा पनि उनको यो भनाईलाई भाइरल गरिएको थियो।

२) व्यङ्ग्य र उदाहरणलाई वास्तविकतामा बदल्ने

राजनीतिक भाषणमा प्रयोग गरिने उपमालाई शाब्दिक अर्थमा बदलेर पनि चरित्र हत्या गर्ने प्रयास भएको देखियो। यसलाई ‘भिक्टिमाइजेशन ट्र्याप’ भन्न सकिन्छ। सोबिता गौतमले बलात्कार पीडितको सामाजिक पुनर्स्थापना र पुनर्स्थापनाको महत्त्व बुझाउन ‘थप्पड’ को उदाहरण दिँदै समाजको दृष्टिकोण फेर्नुपर्ने तर्क गरेकी थिइन्। तर पूरा सन्दर्भबाट १५ सेकेन्डको क्लिप काटेर उनले ‘बलात्कारलाई थप्पड जस्तै सामान्य ठानेको’ भ्रम छरियो।

यसैगरी, रवि लामिछानेले ‘एमाले राम्रा नेता भएको पार्टी’भनी दिएको अभिव्यक्ति वास्तवमा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा आकर्षित गर्न गरिएको एउटा बौद्धिक व्यङ्ग्य थियो। तर उनले एमालेको प्रशंसा गरेको, स्वीकारेको रुपमा प्रस्तुत गरी भ्रम छरियो।

३) समय-भ्रम

यो विधिलाई ‘टाइम-बम’ भन्न सकिन्छ, जहाँ पुराना भिडियोलाई नयाँ सन्दर्भमा विस्फोट गराइन्छ। केपी शर्मा ओलीले दुई वर्षअघि कांग्रेस र एमालेबीच गठबन्धनको चर्चा सुरु हुँदा ताका ठट्यौली पारामा ‘यो वर्ष प्रम बनिँदैन’ भनेको भिडियोलाई हालको निर्वाचनको वर्तमान सन्दर्भमा जोडियो।

त्यस्तै, गगन थापाको चुनावी घरदैलोको भिडियोमा कलाकार मनोज गजुरेलको ‘बाख्रो ब्याएन भनेर बोको कुट्नु हुँदैन’ भन्ने अडियोलाई ‘डिसेप्टिभ स्प्लाइसिङ’ गरी सन्दर्भहीन रूपमा मिसाइयो।

यो अवधिमा कसरी सूचनालाई ‘उत्तेजनाको राजनीति’ का लागि हतियार बनाइयो भन्ने यी उदाहरणले स्पष्ट पार्छ। यी सबै अनलाइनखबर र नेपालफ्याक्टचेकको सहकार्यमा भएका तथ्य जाँचका उदाहरण हुन् ।

किन डिपफेकभन्दा ‘सन्दर्भ-विच्छेद’ बढी सफल भयो?

डिपफेक वा एआई भिडियोको अत्यधिक प्रयोगले धेरैले चिन्ने भइसके। तर ‘सन्दर्भ-विच्छेद’ ले भने यो अवधिमा धेरै झुक्किए। यो रणनीति सफल हुनुका पछाडि मुख्य तीन कारणहरू छन्-

डिपफेक पहिचान गर्ने सफ्टवेयरहरू उपलब्ध छन्। तर सन्दर्भ-विच्छेदमा उम्मेदवारकै वास्तविक अनुहार र आवाज हुने हुनाले ‘मैले त्यो बोलेको होइन’ भन्न मिल्दैन। ‘मैले त्यो सन्दर्भमा भनेको थिइनँ’ भनी स्पष्टीकरण दिँदा-दिँदै भ्रामक सूचनाले ‘पब्लिक पर्सेप्सन’ मा अपूरणीय क्षति पुर्‍याइसकेको हुन्छ।

छोटो भिडियो (टिकटक/रिल्स) को फर्म्याट आफैँमा ‘चिप-फेक’ को ठूलो सहयोगी हो। १५-२० सेकेन्डको सीमाभित्र भिडियोको अघि वा पछिको सन्दर्भ राख्ने ठाउँ नै हुँदैन, जसले गर्दा मतदाताहरू अधुरो सूचनालाई नै पूर्ण सत्य मान्न बाध्य हुन्छन्।

मतदाताहरू अक्सर आफ्नो राजनीतिक विरोधीको बारेमा ‘नराम्रो समाचार’ सुन्न चाहन्छन्। यो मनोवैज्ञानिक कमजोरीलाई सन्दर्भ-विच्छेदले छिटो उत्तेजित बनाउँछ, जसले गर्दा मानिसहरू तथ्य जाँच नगरी भिडियो सेयर गर्न हतारिन्छन्।

निष्कर्ष र भावी सतर्कता

डिजिटल साक्षरता नै भ्रामक सूचना विरुद्धको सबैभन्दा बलियो सुरक्षा कवच हो। निर्वाचनको स्वच्छता कायम राख्न मतदाताले निम्न रणनीति अपनाउनु अनिवार्य छ:

– कुनै पनि उत्तेजक भिडियो सेयर गर्नुअघि कम्तीमा एक मिनेट सोच्ने बानी बसाल्ने।
– भिडियो कुन मितिको हो र कुन च्यानलबाट आएको हो भन्ने पुष्टि नगरी विश्वास नगर्ने।
– यदि १० सेकेन्डको क्लिपले कसैको ठूलो आलोचना गरिरहेको छ भने त्यसको पूर्ण भिडियो नखोजी कुनै धारणा नबनाउने।

संवैधानिक निकाय र तथ्य-जाँच गर्ने संस्थाहरूको सक्रियता जति आवश्यक छ, त्योभन्दा बढी मतदाताको सचेत विवेक नै लोकतन्त्रको रक्षाको मुख्य कडी हो। प्रविधिले सूचना दिन्छ, तर त्यसको ‘सन्दर्भ’ बुझ्ने काम मानवीय चेतनाकै हो।

लेखक
उमेश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?