१९ फागुन, गुल्मी । गुल्मीमा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना स्थल तयार पारिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा छुट्टा–छुट्टै स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको हो ।
क्षेत्र नम्बर–१ को मतगणना जिल्ला समन्वय समितिको हलमा गरिनेछ । क्षेत्र नम्बर–२ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पस को हलमा गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहे ले बताए ।
मतगणकहरूलाई जालीभित्र राखेर सीसीटिभी क्यामेराको निगरानीमा मतगणना गरिनेछ । मतगणनामा सहभागी उम्मेदवारका प्रतिनिधिहरूलाई जाली बाहिरबाट बस्न र प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ ।
मतगणनालाई पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी गैह्रे ले बताए । जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् ।
तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १८६ जना तथा निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३६३ जना मतदाता रहेका छन् ।
निर्वाचनको सबै तयारी पूरा भएसँगै अब मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन हुने विश्वास गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया 4