+
+
Shares

निर्वाचन अधिकारीलाई प्रश्न : काठमाडौंमा मतदान र गणनाको तयारी के छ ?

सुत्केरी, अपाङ्‍गता भएका र ज्येष्ठ नागरिकलाई लाइनमा नबसी मत हाल्ने व्यवस्था मिलाइएको छ । उनीहरूले सहयोगी लिएर मत हाल्न सक्ने व्यवस्था पनि मिलाइएको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ फागुन १९ गते २१:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा १० वटा निर्वाचन क्षेत्रमा मतदान अधिकृतसहितको टोली पुगेर मतदान केन्द्र बनाउने काम अन्तिम चरणमा पुगेको छ।
  • २१ फागुन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ र सुत्केरी, अपांगता भएका र ज्येष्ठ नागरिकलाई लाइनमा नबसी मत हाल्ने व्यवस्था मिलाइएको छ।
  • काठमाडौंमा २५० उम्मेदवारका लागि ७ लाख १० हजार ७०८ मतदाता ८१७ मतदान केन्द्रमा मतदान गर्नेछन् र मतगणना क्षेत्रमै हुने छ।

१९ फागुन, काठमाडौं । काठमाडौंमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । १० वटा निर्वाचन क्षेत्रमा मतदान अधिकृत सहितको टोली पुगेर मतदान केन्द्र बनाउने काम सुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौंमा तयारी अन्तिम चरणमा पुगेको छ ।

‘धेरैजसो काम सम्पन्न भएको छ । निर्वाचन सामग्री पुर्‍याइएको छ । कर्मचारी र सुरक्षाकर्मी खटिनु भएको छ । सर्वदलीय बैठक राखेर मतदान केन्द्र बनाउने काम भइरहेको छ,’ उनले भने, ‘भोलिसम्म मतदान केन्द्र बनाउने काम सकिन्छ ।’

काठमाडौंको १० वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय रहेका छन् । उनका अनुसार मतदान केन्द्रमा मतपत्र प्याक गरेर अधिकृतलाई बुझाउने काम भइरहेको छ ।

२१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । तर मतदान केन्द्रमा डोरी टाँगेको लाइन भित्र ५ बजेसम्म प्रवेश गरेमा मतदान गर्न पाउने उनले बताए ।

सुत्केरी, अपागंता भएका र ज्येष्ठ नागरिकलाई लाइनमा नबसी मत हाल्ने व्यवस्था मिलाइएको छ । उनीहरूले सहयोगी लिएर मत हाल्न सक्ने व्यवस्था पनि मिलाइएको छ ।

मौन अवधिमा मत माग्न नपाइने

मौन अवधि सुरु भएकाले आचारसंहिता पालना गर्न उनले उम्मेदवार र मतदातालाई आग्रह गरे । ‘१५ दिनको प्रचार प्रसारको समय दिइएको थियो । अब मत माग्न पाइँदैन । दुई दिन शान्त भएर बस्ने हो । उम्मेदवार र मतदाताले समीक्षा गर्ने हो,’ भट्टराईले भने ।

मौन अवधिमा आचारसंहिताविपरीत गतिविधि गरेमा कानुनबमोजिम कारबाही हुनेछ ।

साढे ७ हजार कर्मचारी परिचालन

काठमाडौंमा साढे ७ हजार कर्मचारी निर्वाचनको लागि खटिएका छन् । काठमाडौंका ९ वटा निर्वाचन क्षेत्रमा ९ जना महिला निर्वाचन अधिकृतको टोली खटिएका छन् । मतदानको दिन भोट हालेपछि भिडभाड नगर्न पनि उनले मतदातालाई आग्रह गरे ।

मत हाल्न के–के कागजात चाहिन्छ ?

मतदाता नामावलीमा नाम भएकाले मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, जग्गा धनी प्रमाणपत्र भएमा मत दिन पाउने छन् । एक जनाले १ देखि २ मिनेटमा मत हालिसक्ने छन् ।

१५ दिनको प्रचार प्रसारको समय दिइएको थियो । अब मत माग्न पाइँदैन । दुई दिन शान्त भएर बस्ने हो ।

यसका लागि मतदान अधिकृतसहित ९ जानको कर्मचारीको टोली खटिएको हुन्छ । मत दिन जाँदा सलाइ, लाइटर, रसायन, क्यामेरालगायत सुरक्षा निकायले रोक लगाएको सामग्री लैजान पाउने छैन ।

क्षेत्रमै मतगणना, गणनास्थलमा तारबार

मतदान सकिएपछि निर्वाचन क्षेत्रमै मतगणना हुनेछ । ‘सम्बन्धित क्षेत्र जहाँ हो त्यहीँ मतगणना हुन्छ । प्रतनिधि क्षेत्रको हुने भएकाले अपनत्व पनि हुन्छ,’ उनले भने ।

मतगणनास्थलमा तारबार र सीसी क्यामेरा राखिने भएको छ । मतदान सकिएपछि १ घण्टामा मतपेटिका संकलन हुने भएकाले सोही दिन सर्वदलीय बैठक बसेर मत गणना सुरु हुने उनले बताए । कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा चुस्त राखिएको भट्टराईले बताए ।

२५० उम्मेदार प्रतिस्पर्धामा

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २५० उम्मेदवार छन् । क्षेत्र नम्बर १ मा २९, २ मा २८, ३ मा २२, ४ मा २८, ५ मा २५, ६ मा २०, ७ मा २७, ८ मा २२, ९ मा २४ र १० मा २५ गरी २५० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । माघ ६ गते मनोनयको दिन १० वटा निर्वाचन क्षेत्रमा २५४ जनाले उम्मेदवारी दिएका थिए । यीमध्ये ४ जनाले फिर्ता लिएका हुन् ।

७ लाख १० हजार मतदाता, ८१७ केन्द्र

२५० जना उम्मेदवारका लागि मतदान गर्नेको संख्या ७ लाख १० हजार ७०८ छ । ३२० वटा मतदानस्थल र ८१७ मतदान केन्द्र तोकिएको छ ।

क्षेत्र नम्बर १ मा ४८ हजार ४८९ मतदाता छन् । जहाँ २२ वटा मतदानस्थल र ५७ वटा केन्द्र तोकिएको छ । क्षेत्र नम्बर २ मा ८८ हजार ७०८ मतदाता छन् । जहाँ ४० मतदानस्थल १०० वटा केन्द्र छन् ।

६४ हजार ४७९ मतदाता रहेको क्षेत्र नम्बर ३ मा २९ मतदानस्थल र ७२ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर ४ मा ७६ हजार १४१ मतदाता हुँदा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन् ।

मतदान सकिएपछि १ घण्टामा मतपेटिका संकलन हुने भएकाले सोही दिन सर्वदलीय बैठक बसेर मत गणना सुरु हुने उनले बताए ।

क्षेत्र नम्बर ५ मा ७८ हजार ११४ मतदात छन् भने ३१ मतदानस्थल र ९० मतदान केन्द्र तोकिएको छ ।

क्षेत्र नम्बर ६ मा ६७ हजार ७५९ मतदाता रहँदा ३२ मतदानस्थल ७९ केन्द्र छन् । ६७ हजार ४११ मतदाता रहेको क्षेत्र नम्बर ७ मा २९ मतदानस्थल र ७८ केन्द्र तोकिएको छ । क्षेत्र नम्बर ८ मा ५७ हजार ८११ मतदाता छन् । जहाँ २३ मतदानस्थल र ६५ मतदान केन्द्र छन् ।

यस्तै, क्षेत्र नम्बर ९ मा ७८ हजार ४९५ मतदाता छन् । सो क्षेत्रमा ३४ मतदानस्थल र ९० मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर १० मा ८३ हजार ३०१ मतदाता छन् । जहाँ ४७ वटा मतदानस्थल र ९८ मतदान केन्द्र छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?