News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ।
- महासंघ अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रले देशमा २० लाखभन्दा बढीलाई प्रत्यक्ष–परोक्ष रोजगारी दिएको बताए।
- राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख ढुण्डीराज लामिछानले तथ्यांक ऐन २०७९ अनुसार तथ्यांकको पूर्ण गोपनीयता कायम गरिने बताए।
१९ फागुन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सफल बनाउन पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ ।
मंगलबार राष्ट्रिय तथ्यांक कार्यालय र महासंघको संयुक्त आयोजनामा भएको अन्तर्क्रियामा महासंघले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।
कार्यक्रममा महासंघ अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रले देशमा २० लाखभन्दा बढीलाई प्रत्यक्ष–परोक्ष रोजगारी दिएको बताए । उनले ७७ वटै जिल्लाका निर्माण व्यवसायीलाई गणनामा सही विवरण उपलब्ध गराउन आग्रह गरे ।
‘सही तथ्यांक आएमात्र सार्वजनिक खरिद ऐन र निर्माणमैत्री नीति बनाउन सरकारलाई दबाब दिन सहज हुन्छ,’ उनले भने ।
तथ्यमा आधारित योजनाका लागि आफूहरू सहकार्य गर्न तथा राष्ट्रिय आर्थिक गणना २०८२ लाई सहयोग गरी सफल बनाउन महासंघ तयार रहेको उनले बताए ।
त्यस्तै ७ प्रदेश र ७७ जिल्लामा रहेका प्रदेश तथा जिल्लास्तरीय कार्यालयमा अपिल सहित पत्राचार गर्ने ऐक्यबद्धता उनले जनाए । कार्यक्रममा सहभागीले आर्थिक गणनाको प्रश्नावलीलाई व्यावहारिक बनाउन र साना व्यवसायीलाई पनि समेट्न सुझाव दिए ।
कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानले राष्ट्रिय आर्थिक गणना २०८२ को मूल नारा अर्थतन्त्र मापनका लागि आर्थिक गणना रहेको बताए ।
उनले आर्थिक गणनामा निजी क्षेत्रको आशंका निवारण गर्दै तथ्यांक ऐन २०७९ अनुसार तथ्यांकको पूर्ण गोपनीयता कायम गरिने बताए ।
‘हामी उद्योगी–व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील छौं, यो गणना कसैलाई करको दायरामा ल्याउन वा दण्डित गर्न नभई मुलुकको वास्तविक आर्थिक सूचकहरू तयार गरी अनुसन्धान र नीति निर्माणमा प्रयोग गर्न हो,’ उनले भने, ‘निजी क्षेत्रको सहभागिताविना यो अभियान सफल हुँदैन ।’
प्रतिक्रिया 4