२ चैत, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन-होलिडे’ घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । मध्यपूर्वमा देखिएको युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धनमा भारी मूल्यवृद्धि भएकाले व्यवसायीमाथि ठुलो भार पर्ने भन्दै महासंघले कन्स्ट्रक्सन-होलिडे मागेको हो ।
महासंघका महासचिव रोशन दाहालले सोमबार एक विज्ञप्ति जारी गरेर निर्माण कार्य हाललाई स्थगित गर्न माग गरेका छन् । ‘धमाधम निर्माण कार्य हुने सिजनमा इन्धनलगायत सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार पर्नुका साथै पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले मूल्यवृद्धि स्थिर नभएसम्म सम्पूर्ण आयोजनाको निर्माण कार्य हाललाई स्थगित गर्न महासंघ बाध्य हुने व्यहोरासमेत अवगत गराउँदछौँ ।’
इन्धनमा भएको भारी मूल्यवृद्धिबाहेक हालै निर्वाचनको मौका पारेर नेपालमा सीमित आयातकर्ताहरूले ‘कार्टेलिङ’ गर्दै सडक निर्माणमा प्रयोग हुने बिटुमिनको पनि कृत्रिम अभाव सिर्जना गरी आर्थिक समस्यामा पारेको महासंघको दाबी छ ।
सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रत्येक आयोजनामा मूल्यवृद्धि भएअनुरुप मूल्य समायोजनको व्यवस्था गर्न महासंघले विज्ञप्तिमार्फत सरकारका सम्बन्धित निकायसमक्ष माग गरेको छ ।
प्रतिक्रिया 4