१९ फागुन, खोटाङ । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले दिक्तेलमा मतगणनास्थल तयार पारेको हो ।
जिल्ला अदालत दिक्तेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अदालतकै तीन कोठालाई प्रयोग गरेर मतगणनास्थल तयार पारेको छ । अदालतको तीन कोठामध्ये एक कोठामा मत पेटिका भण्डारण गर्ने र दुई कोठामा मत गणना हुने सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले जानकारी दिए ।
मत गणनाका लागि अदालतको दुई कोठालाई तार जालीले विभाजन गरिएको छ । तारजालीको पाटेसनमा कर्मचारी भित्रबाहिर गर्नका लागि ढोका बनाइएको छ । यही फागुन–२१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सोही दिन साँझदेखि मतगणनास्थलमा मतपेटिका आउन थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा एक लाख ४७ हजार १२० मतदाताले यो निर्वाचनमा मतदान गर्दै छन् । यहाँ १३ राजनीतिक दल र दुई स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । –रासस
प्रतिक्रिया 4