+
+
Shares

हामी पनि गुलिभर पुज्ने लिलिपुटका लघुमानव हौँ?

अगुवा मात्रै होइन, सबै पछुवा पनि पागलपना वा सनकीपनाको रोगी हुँदा, उनीहरूसँग आफूलाई पनि एकाकार गर्दा, अगुवाहरूले बुनेका अर्धसत्य, झुट र मिथकमाथि आँखा चिम्लेर विश्वास गर्दा व्यक्ति मात्रै होइन, कहिले समुदाय, कहिले नश्ल–जाति–राष्ट्र–देश नै सामूहिक रूपमा सनकी हुन पुग्छ र संसारले सजाय भोग्नुपर्ने हुन्छ।

राजेन्द्र महर्जन राजेन्द्र महर्जन
२०८२ फागुन २० गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्विस मनोवैज्ञानिक कार्ल युंगले हिटलरको उदयलाई जर्मनीको सामूहिक पागलपनको रूपमा व्याख्या गरे ।
  • युंगले हिटलरलाई \'स्युडोलोजिया फ्यान्टास्टिका\' रोगी ठहराउँदै उनको उन्मादी व्यवहारले जनसमूहलाई प्रभावित गरेको बताए ।
  • भीडको मानसिकताले यस्तो नेता तयार पार्छ जसमा जवाफदेही कम र सत्ताको भोक बढी हुन्छ, जसले हिंसा र विनाश निम्त्याउँछ।

आम मानिसले किन र कसरी फासीवाद र त्यसका अगुवालाई टाउकोमा बोकेर हिँड्छन्? कसरी घरघरमै नाजीहरू जन्मिन्छन्, जसले मनमनै छिमेकी र परायाप्रति घृणा पालेर, नश्लवादी गाली बकेर, अभिव्यक्तिमार्फत अन्य–हिंसा गरेर आत्मतुष्टि प्राप्त गर्छन् र आफूलाई कुनै न कुनै खालको फासीवादी अधिनायकसँग आबद्ध गर्छन्?

यसलाई कुनै–कुनै व्यक्तिमा देखिने उन्माद (हिस्टेरिया) को रूपमा बुझ्ने कि अधिकांश व्यक्तिमार्फत अभिव्यक्त भएकाले ‘सामूहिक उन्माद’ (मास हिस्टेरिया) कै रूपमा विश्लेषण गर्ने? फासीवादका उतारचढाव देखे–भोगेका स्विस मनोवैज्ञानिक एवं मनोविश्लेषक कार्ल युंगले पश्चिम युरोपमा व्यक्ति–व्यक्तिमा फैलिएको सनक वा पागलपनबारे अध्ययनका आधारमा नाजीवादी जर्मनीको मनोदशाको चिरफार गरे।

कुनै पनि देश र समाजमा आउन सक्ने ‘सामूहिक उन्माद’ को मनोविश्लेषण गर्दै उनले यस प्रवृत्तिलाई कुनै व्यक्तिविशेषको मनोवैज्ञानिक समस्याका रूपमा मात्रै हेरेनन्, बरु ‘सामूहिक अचेतन’ को अर्थमा, हिटलरको उदयको हकमा ‘जर्मनीको सामूहिक पागलपन’ को रूपमा अर्थ्याए।

‘द फाइट विथ द स्याडो’ र ‘आफ्टर द क्याटास्ट्रोफी’ मा व्यक्ति र जनसमूहको मनोविज्ञानको चिरफार गर्ने क्रममा युंगले प्रस्ट पारे- भीड वा जनसमूहको मनोरोग–विज्ञान वा मनोविकृति (साइकोप्याथोलोजी) को निदान गर्नु छ भने व्यक्तिको मनोविज्ञान खोतल्नुपर्छ। किनभने आम जनताको मनोरोग–विज्ञानको जरा व्यक्तिमा देखिने हुन्छ र यस प्रकारका मानसिक घटना व्यक्तिमै खोतल्नु जरुरी हुन्छ। एकपछि अर्को व्यक्तिमा वा आम रूपमा पाइने केही खासखास लक्षणका आधारमा उनले जनसमूहको मनोविज्ञानबारे हेक्का राखे। उनी लेख्छन्:

सन् १९१८ देखि नै मैले आफ्ना जर्मन बिरामीहरूको अचेतनमा एउटा अनौठो गडबडी देख्न थालेँ, जुन उनीहरूको व्यक्तिगत मनोविज्ञानसँग सम्बन्धित थिएन। खासमा प्रत्येक जर्मन बिरामीमा सामूहिक अचेतनको गडबडी देखिएको थियो। यस्ता दिमागी खराबीका नमुना ध्यान दिएर हेर्दा उनीहरूमा आदिमपना, हिंसा र क्रूरताको अभिव्यक्ति देखेँ। मैले केवल उदासी र ठूलो अशान्तिका सङ्केत देखेँ अनि चेताएँ– ‘श्वेत सैतान’ बेचैन निद्रामा चल्मलाउँदै छ र अब एउटा विस्फोट असम्भव छैन।

‘श्वेत सैतान’ जर्मन दार्शनिक फ्रेडरिक नित्सेको अवधारणासँग सम्बन्धित छ, जुन मानवको आदिम, क्रूर र हिंस्रक प्रवृत्तिलाई जनाउने मिथकीय प्रतीक हो। यही प्रतीक पहिलो विश्वयुद्धपछि जर्मन अवचेतनमा ज्वारभाटाको रूपमा उठ्यो, पछि व्यक्ति–व्यक्तिका मनमा जन्मियो, त्यस अर्थमा सामूहिक रूपमा जीवित भयो। सपनाका रूपमा मात्रै होइन, विपनामा समेत प्रकट भयो, अँध्यारोका सबै शक्तिको अर्थमा।

युंगको सूक्ष्म अवलोकनअनुसार, जब यस्ता प्रतीक ठूलो सङ्ख्यामा व्यक्तिहरूको मनमा बास बस्यो, जसलाई चिन्नै सकिएन, तब उसले चुम्बकीय शक्तिका साथ सबैजसो व्यक्तिलाई एकसाथ एकै दिशातिर तान्न थाल्यो र अन्ततः भीड तयार भयो।

चाँडै नै यसको नेता त्यस्तो व्यक्ति हुन्छ, जसमा सबैभन्दा कम प्रतिरोध गर्ने क्षमता हुन्छ, जसमा सबैभन्दा कम जवाफदेहीको भावना हुन्छ र आफ्नो हीनताबोधको कारण अत्यधिक मात्रामा सत्ताको भोक हुन्छ। त्यसैले उसले सबै असन्तुष्टिलाई बेलगाम छोडिदिन्छ, जुन विस्फोट हुन तयार छन् र भीडले हिमपहिरोको जस्तो अप्रतिरोध्य शक्तिका साथ उसलाई पछ्याउँछ।

युगयुगका मुरलीवादक

तीन दशकअघि हिटलर र फासीवादबारे अध्ययन एवं लेखन गर्दा सुरुमा लागेको थियो– ओहो, केही व्यक्तिले सनक वा पागलपनका कारण विश्वयुद्ध नै गर्न सक्ने रहेछन् र देशका देश नै तहसनहस गर्न सक्दा रहेछन्। पछि बिस्तारै प्रश्न उठ्न थाल्यो– दोस्रो विश्वयुद्ध एकाध सनकी वा पागल वा अधिनायकवादीको करामत हो र? एकाध व्यक्तिले जादु वा चमत्कार गरेसरी सिङ्गो देश र जनतालाई हाँक्न सक्छन्? एक व्यक्तिको पछि–पछि लाखौँलाख मान्छे कसरी कुद्न सक्छन् र? मर्न–मार्न कसरी एकोहोरिएर लाग्न सक्छन् हँ?

हामीलाई याद होला, ह्यामिलिनका मुरलीवादकको कथा। तेह्रौँ शताब्दीको जर्मनीकै एक सहरसँग जोडिएको ‘पाइड पाइपर अफ ह्यामिलिन’ (ह्यामिलिनका मुरलीवादक) लोककथा निकै प्रचलित छ। लोककथामा सुरुमा सहरमा आतङ्क मच्चाउने मुसालाई, पछि अधिकांश बच्चालाई पाइड (मुरली वा बाँसुरीजस्तो बाजा) बजाएर अपहरण गरिन्छ।

त्यसरी नै बिसौँ शताब्दीमा जर्मनीमा हिटलरले, इटालीमा मुसोलिनीले, स्पेनमा फ्रान्कोले र एक्काइसौँ शताब्दीमा अन्य देशमा अनेक ‘पाइड पाइपर’ ले चमत्कारी वा छलकारी जादुई धुनमा लठ्याएर आफूले भनेको मान्न कसरी सम्भव पारे होलान्? यो कुनै व्यक्तिको तिकडम वा चमत्कार मात्रै हो कि जनसमूह वा भीडको मनोवृत्तिमा आउने खतरनाक महामारी वा पागलपनको उभार हो? कुनै नश्ल, कुनै जाति या कुनै राष्ट्रलाई नै बगाउन सक्ने यस्तो हिमपहिरो खासमा व्यक्तिविशेषमार्फत अभिव्यक्त भएको मात्रै त होइन?

भीडको मानसिकताको रूपमा देखिने पागलपनको उभारबारे गहन अध्ययन गरेका युंगको दाबी छ, भीडको मनोविज्ञानले नै यस्तो नेता तयार गर्छ, जो सिङ्गो राष्ट्रको विनाशका लागि मतदानबाटै चुनिएको थियो। हिटलरले मात्रै होइन, आम जर्मनवासीले पनि ‘नयाँ व्यवस्था’ को सपना देखेका थिए। हरेकजसो जर्मनवासीले आत्मघाती गल्ती गरे– सबैभन्दा बेसी दिमागी गडबडीको सिकार मान्छेलाई चुनावमा जिताए अनि कुनै सन्देह, प्रश्न र जाँचबुझबिना नै उनकै पछि–पछि लागे।

सबैजसो जर्मनले हिटलरमा आफ्नै छायाँ देखे, आफ्नो सबैभन्दा भयानक खतरा देख्न सकेनन्। उनी हरेक व्यक्तिका नजरमा आफ्नै प्रतिमूर्ति थिए, आफ्नै अपुरा इच्छा, अधुरा आकाङ्क्षा, अतृप्त चाहनाका प्रतीक थिए। उनी हरेक खालका मानवीय कमजोरीका सबैभन्दा अद्भुत मूर्तरूप थिए। उनी पूर्ण रूपमा अक्षम, असङ्गत, गैरजिम्मेवार र मनोरोगी थिए।

खोक्रो र बचकनापनले भरिएका, तर धोखेबाजी र लुच्चापनजस्ता फोहोरी बानीले युक्त मनुवा थिए। हरेक मानिसका खराब पक्षको अत्यधिक रूपमा प्रतिनिधित्व गर्ने भएकाले उनी सबैको व्यक्तित्वको छायाँ भए, यही कारणले मानिसहरू उनको जालमा फसे (युंग, सन् १९६४: ४५४–५५)।

भूपीका ‘हामी’: लिलिपुटका लघुमानवहरू

युंगले आजभन्दा सात दशकअघि हिटलर र आम जर्मनको मनोरोगमाथि लेखेका शब्दावली पढ्दै, गुन्दै, लेख्दै गर्दा भूपी शेरचनको ‘हामी’ कविताको सम्झना जबर्जस्त रूपमा आइरह्यो। कवितामा जोनाथन स्विफ्टको उपन्यास ‘गुलिभर्स ट्राभल’ को पात्र गुलिभर काल्पनिक टापुको देश लिलिपुट पुग्दा त्यहाँका केवल छ–छ इन्च अग्ला बासिन्दाहरूले प्रदर्शन गरेका अनौठा व्यवहारका कथा पाइन्छ।

भूपीको खुबी भने लिलिपुटियन वा लिलिपुटका लघुमानवहरूले गुलिभरमाथि हमला गर्दै, समर्पण गर्दै, युद्धको अगुवाइका लागि आग्रह गर्दै सार्वजनिक गरेका हीनताबोधको मिथक चित्रण गर्नमा देखिन्छ। उनी लेख्छन्:

हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि

भित्रभित्र निरन्तर खिइँदै र घिस्सिँदै गइरहेका छौँ,

हाम्रो बाहिरको उचाइ झुटो हो।

र त हामी आफ्नो हीन भावनाका

सियोजत्रा ससाना हतियारहरूले उसमाथि

प्रहार गर्छौं,

उसको अङ्ग–प्रत्यङ्गमा चढ्छौं,

उफ्रन्छौं,

टोक्छौं,

चिमोट्छौं

र अन्त्यमा थकित भएर तल ओर्लन्छौं,

शान्त हुन्छौं,

समर्पित हुन्छौं

र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले

तल ओर्लेर त्यसको पाउ पखालेझैँ

हामी पुज्न थाल्दछौं त्यो साधारण मानवलाई

महान् भनेर!

लिलिपुटका लघुमानवहरूको हीन मनोदशा र कथित महान् नेताप्रतिको समपर्णभावलाई युंग ‘सनकको बिमारी’ (हिस्टेरिकल न्युरोसिस) ठान्छन्। यस रोगका लक्षणहरूको चित्रण गर्दै उनी लेख्छन्:

आफ्ना असल र खराब स्वभावबारे पूर्ण अन्धोपना, आफैँप्रति मोहित हुने स्वभाव, आफैँले आफ्नो प्रशंसा गर्ने प्रवृत्ति र आफूसँगै अन्यलाई कम आँक्ने चालामाला र अरू मानिसलाई आतङ्कित गर्ने बानी, आफ्ना दोष अरूमाथि थोपर्ने, झुट बोल्ने, यथार्थलाई तोडमरोड गर्ने, सही–गलत जे–जस्तो उपाय अँगालेर भए पनि रवाफ देखाउने र धाक जमाउने चाहना, छलकपट गर्ने र धोका दिने- यी सबै मानसिक विकृति एकै व्यक्तिमा थिए। चिकित्सकीय जाँचको क्रममा यसलाई सनकको बिमारी मानियो। अनौठो भाग्यले तिनै मनोरोगीलाई जर्मनीको राजनीतिक, नैतिक र धार्मिक प्रतिनिधि बनायो, १२ वर्षसम्म। के यो केवल संयोग मात्र हो?

यो केवल संयोग मात्रै होइन, न त इतिहासको कुनै कालखण्डमा सीमित परिघटना मात्रै हो। यो कुनै जर्मन राष्ट्रले मात्रै उत्पादन गरेको घटना होइन, न त इटाली र स्पेनमा कुनै व्यक्तिविशेषले उत्पादन गरेको भीडको मानसिकताको परिणाम मात्रै हो।

युंगले पटक–पटक भनेका छन्- यो कुनै एउटै नश्ल, जाति वा राष्ट्रमा मात्रै देखिएको महारोग होइन, न त एउटै कालखण्डमा सीमित भएको मनो–राजनीतिक प्रवृत्ति नै हो। अनेक कालखण्ड र विभिन्न देश–राज्य–समाजमा भीडको मानसिकता र सनकी अधिनायकहरू जन्मिएका र तहसनहस गरेका उदाहरणको कमी छैन।

आवश्यकता छ- सनकी महामारीको निदान गर्न सक्ने नजरियाको, त्यसको सामूहिक उपचारप्रति संवेदनशीलता र प्रतिबद्धताको। त्यसका लागि हामी फेरि पनि एक सनकी अधिनायककै मनोरोगको निदानबाट यस सामूहिक महामारीको उपचारसम्म जान सक्छौँ, जुन एक्काइसौँ शताब्दीका लागि पनि खतरा भएको छ।

भिन्नाभिन्नै ठाउँका ‘डेमागग’

आफूले देखेका, भोगेका हिटलरमा देखिएको रोगबारे युंगले गरेको मनोविश्लेषण हेर्नलायक छ। विश्वलाई नै नराम्ररी प्रभावित पारेका सार्वजनिक व्यक्तिविशेषको मनोविश्लेषण गर्दा त्यस्तै अरू व्यक्तित्व र जनसमूहको मानसिकता चिरफार गर्नसमेत उपयोगी हुन्छ। हिटलरबारे युंगको मनोविश्लेषण अन्य पुराना–नयाँ हिटलरका विचार, व्यवहार र चरित्र बुझ्न सहयोगी हुन्छ:

हिटलरको रोगको एउटा सही निदान ‘स्युडोलोजिया फ्यान्टास्टिका’ (Pseudologia Fantastica) हुन सक्छ, जुन एक प्रकारको हिस्टेरिया हो। यसको विशेषता भनेको आफ्नै झुटमा समेत विश्वास गर्ने अनौठो प्रतिभा हो। छोटो समयका लागि यस्ता व्यक्तिले प्रायः आश्चर्यजनक सफलता प्राप्त गर्छन् र यही कारणले उनीहरू सामाजिक रूपमा खतरनाक हुन्छन्।

किनभने, उनीहरूले आफैँले रचेको र विश्वास गरेको झुट वा आफूले जायज ठानेको कुनै दुष्ट कार्य वा नियतलाई सही साबित गर्न भरमग्दुर कोसिस गर्छन्; त्यस्तो प्रयासले जति प्रभावशाली विश्वास अरू कुनैले उत्पन्न गर्दैन। जेसुकै भए पनि यस्ता कुराले असल मानिस र राम्रा काम मात्रै होइनन्, दुष्ट मानिस र उसको पूर्णतः खराब कार्यले भन्दा धेरै विश्वास जित्छन्।

हिटलर वा अन्य कुनै उन्मादी नौटङ्कीबाज वा ‘पपुलिस्ट’ सँग आम मानिस किन लहसिन्छन् वा बहकिन्छन् भन्ने प्रश्नमा युंग स्पष्ट शब्दमा थप लेख्छन्:

हिटलरका नाटकीय र स्पष्ट रूपमा उन्मादपूर्ण हाउभाउ केही आश्चर्यजनक अपवादबाहेक सबै विदेशीलाई पूर्णतः हास्यास्पद लाग्यो। जब मैले उनलाई आफ्नै आँखाले देखेँ, मलाई उनी आम मान्छेभन्दा पनि बेसी एक पागल बुख्याँचाजस्तै लागे। कर्कश, चर्को, खोक्रो र जनाना लवजमा दिइएका उनका उत्तेजक भाषणले कसरी यस्तो साह्रो प्रभाव छाड्न सक्यो भन्ने कुरा बुझ्न पनि गाह्रो छ। यदि यो चरित्रनायक आम जर्मन जनतामा छाएको सामूहिक उन्मादको प्रतिबिम्ब नभएको भए जर्मन जनता यति धेरै नराम्ररी उनीसँग बहकिने र लहसिने थिएनन्। एउटा सिङ्गो राष्ट्रमाथि ‘हीनताबोधले ग्रस्त मनोरोग’ थोपर्न सक्नु पक्कै पनि अहम् सवाल हो, तर भगवान् नै जानून्– त्यस डरलाग्दो बुख्याँचाले जनसमूहमा पारेको प्रभावको मुख्य कारण यही हो। शिक्षाको दयनीय अभाव, पागलपनको सीमासम्म पुग्ने घमण्ड, औसत स्तरको बुद्धि, उन्मादी शैलीको चालबाजी र किशोरावस्थाको शक्ति–कल्पना: यी सबै पक्ष भड्काउ भाषण गर्ने ‘डेमागग’ (Demagogue) को अनुहारमा स्पष्ट रूपमा झल्किन्थे। उनका हाउभाउ सबै बनावटी थिए, ती अरूलाई प्रभाव पार्ने नियतवश उन्मादी दिमागका उपज थिए। उनी सार्वजनिक रूपमा यस्तो व्यवहार गर्थे, मानौँ उनी पहिल्यै लेखिएको आफ्नै जीवनीलाई वास्तविक जिन्दगीको रङ्गमञ्चमा उतार्दै छन्। यहाँ उनले लोकप्रिय कथाहरूको उदास र इस्पातिलो दानवी स्वरूपको हिरोका रूपमा प्रस्तुत गरे, जो सस्ता फिल्ममा देवतातुल्य नायकका रूपमा प्रस्तुत गरिएका कारण बालसुलभ जनताको आदर्श थियो।

यिनै व्यक्तिगत अवलोकनले मलाई सन् १९३७ मा के निष्कर्षमा पुर्‍यायो भने- जब अन्तिम विपत्ति आउनेछ, तब पहिले अन्दाज गरेभन्दा धेरै ठूलो मात्रामा रक्तरञ्जित हुनेछ। किनभने यी उन्मादी नौटङ्कीबाज र स्पष्ट रूपमा ढोँगी व्यक्ति सानो मञ्चमा मात्रै उफ्रिरहेका थिएनन्, उनी त जर्मन सैन्य शक्ति (वेहरमाख्त) का बख्तरबन्द डिभिजनहरूमाथि सवार थिए, ठूला जर्मन उद्योगको सम्पूर्ण शक्ति उनको पछाडि–पछाडि थियो। देशभित्र सानो र प्रभावहीन विरोधको सामना गर्दै, आठ करोड मानिसहरूको एउटा राष्ट्र भीडको स्वरूप लिएर आफ्नै विनाशको तमासा हेर्न सर्कसमा जुटेको थियो।

उन्मादी नौटङ्कीबाज र स्पष्ट रूपमा ढोँगी व्यक्तिलाई महान्, चमत्कारी, विधाताका रूपमा पेस गरिन्छ, त्यसरी प्रस्तुत गर्ने काममा एकसेएक चाकडीबाज सक्रिय हुन्छन्, त्यसलाई सन्देह र प्रश्नबिना पत्याइन्छ, त्यस महान् व्यक्तिमा आफ्नो सपना र विपनाको छायाँ देख्न थालिन्छ, तब हामी व्यक्तिबाट भीड बन्न थाल्छौँ र एउटा विनाशका लागि तयार हुन्छौँ। के हामीले पनि हिटलरका वफादार सहयोगीहरू गोयबल्स र गोअरिङले जस्तै कसैलाई महान्, चमत्कारी, विधाता वा भगवान् बनाउँदै छौँ? बनाउँदै छौँ भने हामी पनि भीड बन्दै एउटा विपत्तिलाई निम्तो दिँदै छौँ भनेर बुझे हुन्छ।

चाहे जुनसुकै देशको कुनै न कुनै नामको सनकी बुख्याँचा किन नहोस्, उनीहरूसँग लहसिनु वा उनीहरूका विचारको भरिया बन्नु भनेको विनाशकारी हुनु हो र ठूला विपत्तिको अङ्ग बन्नु हो। युंगका अनुसार, सनक वा पागलपनाले ग्रस्त तानाशाहहरू आम मानिस, सिङ्गो राष्ट्र, सिङ्गो देशको भीडमाथि सवार भएर ‘पराया’ को सिकार गर्न निस्कने गर्छन्। उनी भन्छन्, ‘सबै सनकी मानिसहरू अत्याचारी वा उत्पीडक बन्न बाध्य छन्, किनभने उनीहरू आफ्ना कमजोरी स्वीकारेर आफैँलाई चोट पुर्‍याउन चाहँदैनन्।’

खासमा आफ्नो व्यक्तित्व विखण्डन वा विभाजनको सिकार हुने सनकीहरूका लागि पराया वा तारोको कुनै समस्या हुँदैन, किनभने आफूलाई ‘उबरमेन्स्चेन’ (सुपरम्यान वा श्रेष्ठ मान्छे) ठानेपछि वा ‘हेरनभोल्क’ (अतिमानव) नै मानेपछि संसारमा ‘अन्टरमेन्स्चेन’ वा नीच, हीन, तुच्छ मानिस मात्रै होइन, अमानव, दानव, राक्षस र असुरको के अभाव हुन्छ र? सयौँ वर्षदेखि सँगै बस्दै आएका मानिसहरूलाई नीच, हीन, तुच्छ मान्दै, उनीहरूले आफ्नो रगत मात्रै होइन, आफ्नो परिवार, समाज, राज्य र देशलाई समेत अपवित्र वा अशुद्ध पारेको मिथक बुनेपछि वा राष्ट्रको पिठ्युँमै छुरा घोपेको भाष्य प्रचार गरेपछि सबै पराया समुदाय र विदेशमाथि हमला, हिंसा र विनाश त स्वाभाविक बनिहाल्छ नि, होइन र?

यसरी अगुवा मात्रै होइन, सबै पछुवा पनि पागलपना वा सनकीपनाको रोगी हुँदा, उनीहरूसँग आफूलाई पनि एकाकार गर्दा, अगुवाहरूले बुनेका अर्धसत्य, झुट र मिथकमाथि आँखा चिम्लेर विश्वास गर्दा व्यक्ति मात्रै होइन, कहिले समुदाय, कहिले नश्ल–जाति–राष्ट्र–देश नै सामूहिक रूपमा सनकी हुन पुग्छ र संसारले सजाय भोग्नुपर्ने हुन्छ।  (प्रकाशोन्मुख पुस्तक ‘उन्माद: फासीवाद मन्थन’ को अंश)

लेखक
राजेन्द्र महर्जन

लेखक राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?