२० फागुन, काठमाडौं । भोलि (बिहीबार) हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।
निर्वाचन गराउन ७७ वटा जिल्लाका मतदानस्थलहरूमा सुरक्षाकर्मीहरू पुगेर गस्ती, पेट्रोलिङ गरिरहेका छन् । नेपाली सेनादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन प्रहरीहरू देशभरका मतदान स्थलहरूमा पुगिसकेका छन् ।
एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ अनुसार अहिले सुरक्षाकर्मीहरू खटिएर ड्यूटी गरिरहेका छन् । यही कार्ययोजना अनुसार नेपाली सेनाले अहिले काम गरिरहेको छ ।
तोकिएकै मिति २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन होला/नहोला भन्ने दुविधा र आशंकाहरू गर्नेहरूको संख्या पनि बाक्लो थियो । यसरी आशंका गर्ने र निर्वाचन बिथोल्न खोज्ने समूहलाई पराजित गर्दै सरकारले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा गरेको छ ।
सुरक्षाकर्मीदेखि, स्रोत साधन सबै कोणबाट पूरापुर तयारी भइसकेकाले बिना त्रास शान्तिपूर्ण वातावरणमा मतदान गर्न अवस्था बनेको छ । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओम प्रकाश अर्यालले यसपालीको निर्वाचन पहिला भन्दा सुदृढ तरिकाले स्वच्छ, निश्पक्ष र धाँधलीरहित तरिकाले सम्मपन्न हुने बताएका छन् ।
‘भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेका छौं । अहिलेको निर्वाचनले लोकतन्त्रको गुणस्तर सुदृढ गर्छ,’ गृहमन्त्री अर्यालले भने ।
निर्वाचन बिथोल्न खोज्ने समूहका व्यक्तिहरू पक्राउ पर्नेदेखि केही ठाउँहरूमा राखिएका शंकास्पद वस्तु, विस्फोटक पदार्थहरूलाई सुरक्षा निकायले बेलैमा पहिचान गरेर डिस्पोज गरेका छन् । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचन बिथोल्न खोज्ने समूहमाथि निमर्म भएर प्रस्तुत हुन निर्देशन समेत दिएका छन् ।

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउने नेपाली सेनाबाट ७९ हजार ७२७ सुरक्षाकर्मी, नेपाल प्रहरीबाट ७० हजार, सशस्त्र प्रहरीबाट ३४ हजार ५७६, गुप्तचरबाट १ हजार ९२१ जना खटिएका छन् । त्यस्तै निर्वाचन प्रहरी पनि १ लाख ४९ हजार ९० जना खटिएका छन् ।
जसमा सादा पोशाकका टोली पनि चरिचालन गरिएको छ । उनीहरूले सम्भावित जोखिमको सूचना संकलन गर्ने काम गर्छन् । उक्त सूचनाका आधारमा सुरक्षा निकायले अपरेशन गरेर काम गर्नेछन् ।
सुरक्षाका हिसाबले जोखिमपूर्ण ठाउँहरू जिल्लाहरू झापा, सर्लाही, दोलखा, बाजुरा, रौतहत, महोत्तरी जस्ता ठाउँहरूमा सुरक्षाकर्मीको उपस्थितै अन्यत्र भन्दा झनै बाक्लो बनाइएको छ । हरेक पटकको निर्वाचनमा बुथ कब्जा जस्ता घटना दोहोरिरहेन दोलखामा एसएसपी सोमन्द्र सिंह राठौरको कमाण्डको टोली खटाइएको छ । दोलखामा यो पटक माग भए भन्दा पनि बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अहिले झापा र सर्लाहीमा विशेष सुरक्षा रणनीति अपनाइएको छ । अहिले झापा र सर्लाहीमा सादा पोशकमा सूचना संकलनका लागि पनि पर्याप्त मात्रामा प्रहरी खटाइएको छ । यी दुई क्षेत्रमा उच्च सुरक्षा ‘थ्रेट’ रहेको निष्कर्ष निकाले थप प्रहरी टोली समेत परिचालन गरिएको छ ।
अहिले थप मद्दतका लागि भन्दै झापामा मात्रै २२ जना सिनियर प्रहरी अधिकृत, अन्य दर्जाका प्रहरी ७५५ गरी ७७८ जना खटाइएको छ । यो बाहेक प्रहरी मातहत नै रहने गरी निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र निर्वाचन प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन छ ।

त्यस्तै थप मद्दतका लागि भन्दै सर्लाहीमा मात्रै सिनियर प्रहरी अधिकृत मात्रै २५ जना खटाइएको छ । जुनियर प्रहरी अधिकृत ११९ जना र अन्य दर्जाका प्रहरी ६४८ जना गरी ७९२ जना खटाइएको छ । यो नेपाल प्रहरीको मात्रै संख्या हो ।
२१ माघदेखि नेपाली सेना फिल्डमा निस्केर गस्ती गरिरहेको छ । अहिले दैनिक जिल्ला सुरक्षा समितिको बैठक बस्ने, सुरक्षा विश्लेषण गर्ने र त्यहीअनुसार रणनीति बनाएर काम भइरहेको छ । केन्द्रीय सुरक्षा समितिको बैठक पनि दैनिक बस्दै आएको छ ।
प्रदेशको सुरक्षा समन्वय गर्नेगरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई सातै प्रदेशमा खटाइएको छ । उनीहरूले डीआईजी प्रमुख रहने कार्यालयहरूसँग समन्वय गरेर आवश्यक काम कारबाही गरिरहेका छन् ।
यता प्रधानसेनापति अशोक राज सिग्देल पनि नेपाली सेनाका आठ वटै पृतनाहरूको निरीक्षण गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सेनाले निर्देशन दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा पनि नबग्ने गरी निर्वाचन सम्पन्न गराउन भन्दै सुरक्षा निकायहरूलाई पटक–पटक निर्देशन दिँदै आएकी छिन् । सुरक्षा निकायहरू पनि सोही अनुसार तयारी गरेर काम गरिरहेको बताइरहेका छन् ।
पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा रहेर नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् । तर सुरक्षा संवेदनशीलताका आधारमा आवश्यकताअनुसार जुनसुकै घेरामा पनि सेना खटिन सक्नेछ । प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा खटिने सक्ने बताइएको छ । जसलाई सुरक्षा संवेदनशीलतासँग जोडिएको छ ।
हवाई गस्ती
निर्वाचन दिन भोलि नेपाली सेनाले हवाई गस्ती गर्ने भएको छ । मंगलबार गृहमन्त्री ओम प्रकाश अर्यालयको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले समेत हवाई गस्ती गर्ने गरेको छ । जसअनुसार निर्वाचनको दिन सेनाले हवाई गस्ती गर्ने मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।
त्यसका लागि सेनाले विभिन्न पाँच ठाउँहरूमा स्ट्याण्डबाई हेलिकप्टरको व्यवस्था समेत गरिएको छ । जसका लागि सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर, बुटवल स्ट्याण्डबाई हेलिकप्टरको व्यवस्था मिलाइएको छ ।
केही भइहालेमा तुरुन्तै जानुपर्ने अवस्थामा हेलिकप्टरमार्फत सेना तत्कालै फिल्डमा पुग्ने बताइएको छ । सडक सञ्जाल नपुगेका ठाउँहरूमा पनि हेलिकप्टरमार्फत मतपेटिका ओसार्ने काम हुनेछ ।
बम डिस्पोजल टोली तैनाथ
शंकास्पद वस्तु राखेर मतदातालाई आतंकित पार्न खोजेमा त्यस्ता वस्तुहरू बेलैमा डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजलको टिम पनि तैनाथ राखिएको छ । सेनाका २७५ बम डिस्पोजल टोली तैनाथ राखिएको छ ।
निर्वाचन भाड्न खोज्ने समूहले बमलगायत बिस्फोटक पदार्थहरू राख्नसक्ने, तर्साउने खोज्ने जस्ता कामहरू हुने भएकाले त्यस्ता वस्तुहरू डिस्पोज गर्न बम डिस्पोजल टोली पनि तैनाथ गरिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।
त्यसका लागि अति संवेदनशील मतदानस्थलहरू भनिएका ठाउँहरूलाई केन्द्रित गरेर बम डिस्पोजल टोली पनि तैनाथ पारिएको सेनाले बताएको छ ।
सुरक्षाका हिसाबलाई मतदान स्थललाई तीन भागमा वर्गीकरण गरिएको छ । जसमा सामान्य, संवेदनशील र अति संवेदनशील भनेर छुट्याइएको छ ।
प्रहरीको आन्तरिक रिपोर्टअनुसार देशभर अति संवेदनशील मतदानस्थलहरू ३ हजार ६८० छन् । सुरक्षा संवेदनशीलताको हिसाबले सबैभन्दा चुनौतीपूर्ण मधेश प्रदेशलाई लिइएको छ । मधेश प्रदेशका आठ जिल्लामात्रै १ हजार २४६ अतिसंवेदनशील मतदानस्थलहरू छन् ।
यस्ता क्षेत्र केन्द्रीत अहिले नेपाली सेनाको कमाण्डमा संयुक्त गस्ती समेत भइरहेको छ । सेनाले बख्तबन्द गाडी निकालेर पनि गस्ती गरेको छ ।
प्रतिक्रिया 4