News Summary
Generated by OK AI. Editorially reviewed.- अनलाइनखबरले प्रतिनिधि सभा निर्वाचन २०८२ को सम्पूर्ण अपडेटका लागि चुनाव विशेष डाटा पोर्टल election.onlinekhabar.com सञ्चालन गरेको छ।
- पोर्टलमा १६५ निर्वाचन क्षेत्रका ३४०० भन्दा बढी उम्मेदवार र समानुपातिक उम्मेदवारहरूको विवरण उपलब्ध छन्।
- पोर्टलमा उम्मेदवारको राजनीतिक जीवन, शिक्षा, उमेर, अनुभव, राजनीतिक दलको इतिहास र निर्वाचन क्षेत्रको राजनीतिक डीएनए समावेश गरिएको छ।
२१ फागुन, काठमाडौं । अनलाइनखबर डटकमले प्रतिनिधि सभा निर्वाचन २०८२ को सम्पूर्ण अपडेट आफ्ना पाठकहरुलाई उपलब्ध गराउने छ ।
नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा हुने मतदानको र अन्तिम मत परिणामसम्म नआएसम्मको सम्पूर्ण विवरण अनलाइनखबरले प्रत्यक्ष जानकारी दिने छ ।
त्यसका लागि अनलाइनखबरले निर्वाचन सम्बन्धी चुनाव विशेष डाटा पोर्टल election.onlinekhabar.com सन्चालन गरेको छ । यस चुनावी डाटा पोर्टलमा निर्वाचन नतिजाको लाइभ अपडेट पनि हुनेछ ।
प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका ३४०० भन्दा बढी उम्मेदवार र मुख्य राजनीतिक दलका समानुपातिक उम्मेदवारहरूका विवरणहरू चुनावी पोर्टलमा उपलब्ध छन् । राजनीतिक दल, उम्मेदवारका प्रोफाइल, मतदाता संख्या र अघिल्ला चुनावको नतिजासहितको जानकारी पनि समावेश छ ।
यसैगरी निर्वाचन क्षेत्रअनुसार मतदान केन्द्र, कुल मतदाता, महिला–पुरुष मतदाता र उमेर समूहअनुसारका मतदाता कति छन् भन्ने विशेष विवरण पनि छ । जसका कारण कस्ता उमेर समूहका मतदाताले कुन निर्वाचन क्षेत्रमा कस्तो प्रभाव पार्न सक्छन् भन्ने विश्लेषणका लागि मद्दत गर्ने छ ।
२०७२ सालमा संविधान जारी भएपछि तय भएका चुनाव क्षेत्रहरूमा तेस्रोपटक चुनाव हुन लागेको हो । त्यसैले २०७४ र २०७९ का चुनावी परिणामहरू पनि यो पोर्टलमा उपलब्ध छन् । जसका कारण तीनवटा चुनावको प्रवृत्ति र जित–हारको अवस्था बुझ्न सकिन्छ ।
हटसिटदेखि नेताको टाइमलाइनसम्म
५०० भन्दा बढी प्रमुख प्रतिस्पर्धा हुन सक्ने उम्मेदवारहरूका छुट्टाछुट्टै प्रोफाइल कथाहरू पनि पोर्टलमा समावेश छन् । यो प्रोफाइल पढेर उम्मेदवारको राजनीतिक जीवन, पेशागत पृष्ठभूमिदेखि सामाजिक–आर्थिक परिवेशहरू समेतको जानकारी प्राप्त गर्न सकिनेछ । उम्मेदवारहरूको शिक्षा, उमेरदेखि अनुभवसम्मका विवरणहरू पोर्टलमा छन् ।
पोर्टलमा राजनीतिक नेतृत्व, युवा उमेर वा अन्य विभिन्न कारणले आम मानिसहरूले चासोमा राखेका क्षेत्रहरूलाई ‘हटसिट‘को रुपमा राखिएको छ । त्यसबाहेक चर्चित अनुहारहरूलाई पनि छुट्टै सेगमेन्टमा राखिएको छ ।
नेताहरूको राजनीतिक जीवनको टाइमलाइन सहित उनीहरूको राजनीतिक डीएनए पनि विश्लेषण गरिएको छ । जसका कारण कुनै चर्चित उम्मेदवार कस्तो छ भन्न बुझ्न सकिन्छ ।
राजनीतिक दलको डीएनए
प्रत्येक निर्वाचन क्षेत्रको राजनीतिक डीएनए पनि समावेश छ । यसले निर्वाचन क्षेत्रको अवस्था बुझ्न सहयोग पुग्ने अनलाइनखबरले जनाएको छ ।
उम्मेदवारहरूका तस्बिर र प्रत्येक निर्वाचन क्षेत्रसँगका गतिविधि समेटिएका अनलाइनखबरमा प्रकाशित समाचारहरू पनि यो पोर्टलमा पढ्न सकिनेछ ।
राजनीतिक दलहरूको स्थापनादेखि अहिलेसम्मका इतिहाससँग सम्बन्धी कथाहरू पनि पोर्टलमा पढ्न सकिन्छ ।
पठनमैत्री पोर्टल
पाठकहरूलाई पठनमैत्री बनाउनका लागि उम्मेदवारका अनुकूलता र प्रतिकूलताका बुँदाहरू पनि समावेश छन् ।
सर्चबारमा गएर जिल्ला, निर्वाचन क्षेत्रका उम्मेदवारहरू छुट्याएर हेर्न पनि सकिन्छ । युजरमैत्री बनाउनका लागि प्रत्येक सेगमेन्ट क्लिकएबल बनाइएको छ ।’
पोर्टलका तथ्यांकको स्रोत निर्वाचन आयोग, संसद् सचिवालय र संसद् सचिवालयद्वारा प्रकाशित आधिकारिक दस्तावेजहरू रहेका छन् ।
प्रतिक्रिया 4