२१ फागुन, झापा (दमक) । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ मा मतदान सुरु भएको छ । मतदाता भोट हाल्न लाइनमा उभिएका छन् । निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । ‘उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन्,’ उनले भने ।
मतदाता पनि उत्साही देखिएका छन् । पहिलो लहरमा मत हालेर फर्किएका ७० वर्षीय मोहनबहादुर पौडेलले भने, ‘नयाँ युगको सुरुवात होस् । परिवर्तनको लहर आओस् ।’
एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह पनि उम्मेदवार भएकाले झापा ५ निर्वाचनको इपिसेन्टर बनेको हो ।

तर ओली र साह दुवै उम्मेदवारले आफूलाई भने मतदान गर्न पाउने छैनन् । ओलीले भक्तपुर बालकोटको महेन्द्र शान्ति विद्यालयमा मतदान गर्नेछन् । शाहले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरिसकेका छन् ।
झापा ५ मा उम्मेदवारी दिए पनि मतदाता नामावलीमा नाम यहाँ नभएकाले आफूले आफैंलाई भोट हाल्न नपाएका हुन् । ओलीले भक्तपुर र बालेनले काठमाडौंबाट भोट हालेपछि झापा फर्किने तयारी उनीहरुको छ । ओली र साहले आफूलाई भावी प्रधानमन्त्रीको घोषणा गरेर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

निर्णय गर्नेछन् १ लाख ६३ हजार मतदाताले
यो क्षेत्रमा १ लाख ६३ हजर ३ सय ७९ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता ८१ हजार ८१, महिला मतदाता ८२ हजार २९६ र अन्य २ जना मतदाता छन् ।
मतदान अधिकृत कार्कीका अनुसार मतदान केन्द्र १८५ र स्थल ६१ वटा रहेको छ । क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाको १,२,३,४,५,६,७ नम्बर वडा पर्छ ।जहाँ ४० हजार ७८६ मतदाता छ्न । त्यसैगरी गौरादह नगरपालिकाको वडा नम्बर १,२,३,४,५,६,७,८ पर्छ । जहाँ ४१ हजार ४७५ जना मतदाता छन् ।
त्यसैगरी गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर ३,४,५,६ पर्छ । जहाँ १५ हजार १२१ मतदाता छन् ।
त्यसैगरी दमक नगरपालिकाको वडा नम्बर १,२,३,४,५,६,७,८,९,१० पर्छ । जहाँ ६५ हजार ९९७ मतदाता छन् ।

को–को हुन् २४ उम्मेदवार ?
ओली र बालेन सँगै यो क्षेत्रमा २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेसबाट मन्धरा चिमरिया प्रतिस्पर्धामा छिन। भावी प्रधानमन्त्री घोषणा गरिएका एमालेका ओली र रास्वपाका साहलाई चुनौती दिँदै चुनावी मैदानमा होमिएकी छिन् मन्धरा ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङ प्रतिस्पर्धामा छन् । तत्कालीन नेकपा माओवादी आन्दोलनबाट उदय भएका तामाङ अखिल क्रान्तिकारीको अध्यक्ष भएका थिए । उनी पनि ओली र साहलाई टक्कर दिन मैदानमा छन् ।

त्यसैगरी श्रम संस्कृति पार्टीका समीर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौला, मंगोल नेशनल अर्गनाइजेसनका सानबहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त साम्पङ राई छन् ।
त्यसैगरी जनमत पार्टीका अमृतलाल महतो, जनता समाजवादी पार्टी, नेपालका धिरेन सुब्बा, नेपाल जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टी सविन राई, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) संजय राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अमृत रसाइली, पिपुल पार्टी धर्मराज गुरागाई प्रतिस्पर्धामा छन् ।
अन्य ९ जना स्वतन्त्र उम्मेदवार छन् । डम्बर शाहु, खेमनाथ शिवाकोटी, मातृका भट्टराई, रञ्जना गौतम, शोभा भण्डारी, प्रकाश नेपाल, अर्जुन सापकोटा, विपुल गुरागाई र पुष्कर खतिवडा स्वतन्त्र उम्मेदवार हुन् ।

विरासत जोगाउन चुनौती
ओली झापाबाट ६ पटक निर्वाचित भइ सकेका छन् । उनी २०४८, २०५१, २०५६, २०७०, २०७४, २०७९ देखि अहिलेसम्म लगातार चुनाव लडिरहेका छन् ।
अघिल्ला दुई जितमा उनलाई बलियो गठबन्धनको साथ थियो। २०७४ को निर्वाचनमा वाम गठबन्धनको बलमा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरेका ओलीले २०७९ मा राप्रपाको समर्थनमा उनै अधिकारीलाई हराएका थिए ।

२०७९ को निर्वाचनमा एमालेका अध्यक्ष ओलीले ५२ हजार ३१९ मत पाएका थिए । कांग्रेसका अधिकारीले २३ हजार ७४३ मत पाएका थिए । रास्वपाका सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए । त्यसैगरी २०७४ मा पनि ओलीले ५७ हजार १३९ मत ल्याउदा अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।
पटक पटक निर्वाचित भएका ओली ४ पटक प्रधानमन्त्री र २ पटक मन्त्री बने । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । अघिल्ला चुनावमा दलहरूबीच गठबन्धन हुने गरेको थियो । तर यसपटक गठबन्धन नभएकाले यो क्षेत्रमा यसपटक कडा प्रतिस्पर्धा देखिएको छ। ओलीलाई आफ्नै बिरासत जोगाउन चुनौती थपिएको छ ।
तस्वीर : आर्यन धिमाल
प्रतिक्रिया 4