Comments Add Comment

विदेशबाट रोगी भएर फर्किएपछि पत्नीले छोडिन्

२६ भदौ, भक्तपुर । पैसा कमाउन साउदी अरब गएका बाबु बिरामी भएर कोमामा पुगेको अवस्थामा फर्किएपछि भक्तपुर चाँगुनारायण गाविस-७ मिजार गाउँका रामकृष्ण सार्की (मिजार) का तीन बच्चा यतिखेर बिचल्लीमा परेका छन् ।

दलित वर्गभित्रको गरिबी हटाएर परिवारलाई सुख दिने भरोसा लिएर जुत्ता सिलाउने कामकै लागि साउदी अरब गएका ४० वर्षका रामकृष्ण तीन महिना अरब मै थलिएर उपचारै नहुने अवस्थामा फर्किएपछि तीन बच्चाको बिचल्ली भएको हो ।
गत वैशाख १६ गते साउदीबाट सिधै वीर अस्पताल लगेर तीन महिना उपचार गर्दा चिकित्सकले अब निको हुँदैन भनेर फर्काएपछि दैनिक घरमा बाबुको कुरेर बसिरहनुपरेको जेठी छोरी सविताले बताइन् ।

‘बाबु बोल्न, चलमल गर्न नसक्ने गरी बिरामी परे, आमा अरुसँगै भागेर गइन्, बुबाको उपचारदेखि खानलाउनसमेत ठूलै समस्या पर्‍यो, हामी त बिचल्लीमा परेका छौँ’ आँखाभरी आँसु पार्दै सविताले भनिन् ।

अस्पतालमा उपचार गर्दा लागेको रु तीन लाख अरबमा बस्दा कमाएको पैसा र गाउँलेले चन्दा सङ्कलन गरेर दिएको रकमबाट तिरेको बताउँदै रामकृष्णका ६६ वर्षका बाबु चतुरे सार्की (मिजार) ले अहिले घरमा दैनिक एक हजार रुपैयाँ खर्च हुने गरेपनि आम्दामी नहुँदा ठूलो समस्या परेको बताए ।

जेठी छोरी सवितासँगै, १२ वर्षका छोरा सरोज, आठ वर्षकी छोरी सलिनाको दिनचर्या त्यही बाबुको स्याहार गर्न र गाउँमा चन्दा माग्दैमा बित्ने गरेको छ ।

चाँगुनारायणका समाजसेवी रमेश बुढाथोकीले बिरामी भएर रामकृष्ण नेपाल आएदेखि नै गाउँलेले चन्दा उठाएर सहयोग गर्दै आएपनि यो दीर्घकालीन नभएको बताए ।

तीन बच्चाको बिचल्लीमा स्थिति आएकाले सहयोगका लागि गाउँलेले नेपाल बैंक भक्तपुर शाखामा खाता खोलिए पनि सहयोग भने नजुटेको बुढाथोकीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment