News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पाको गाविस भवनस्थित मतदान केन्द्रमा एक वृद्ध महिला हातपाउ टेक्दै भोट हाल्न पुगिन्।
- उनी भोट हाल्न घिस्रिँदै मतदान केन्द्र पुगेकी र सामाजिक सञ्जालमा उनको भिडियो भाइरल भयो।
- सामाजिक सञ्जालमा ती वृद्ध मतदाताप्रति सहानुभूति र नेताहरूलाई जनताको मर्म बमोजिम काम गर्न आग्रह गरिएको छ।
झट्ट हेर्दा थाहा हुन्छ, उनी उभिएर सहज हिँडडुल गर्न सक्दिनन् । छोटो दूरी छिचोल्नका लागि हातपाउ टेक्नुपर्छ । अगाडि हातका पञ्जा र पछाडि घुँडाले टेकेर अगाडि बढ्नुपर्छ ।
थाहा छैन, उनले कति लामो बाटो यसरी नै घिस्रिएर पार गरिन् ? उकालो-ओरालो, ढुंगामाटो छिचोलेर कति कष्टपूर्ण यात्रा गरिन् ?
यद्यपि, जसोतसो उनी मतदान केन्द्रमा पुगिन् । घिस्रिँदै–घिस्रिँदै मतपत्र लिन र छाप हाल्न गइन् ।
थोत्रो लुंगी लगाएकी, उस्तै बर्को ओढेकी उनको यो मर्मस्पर्शी भिडियो कसैले सामाजिक सञ्जालमा राखिदियो । क्याप्सनमा लेखिएको थियो, ‘निकै कहालीलाग्दो दृश्य छ यहाँ। उहाँहरूको अमूल्य मतको दुरुपयोग गर्न कसैलाई छुट छैन ।’
सो भिडियो रोल्पाको थवाङस्थित तत्कालीन गाविस भवन मतदान केन्द्रमा खिचिएको उल्लेख छ ।
यति कष्ट खेपेर पनि भोट हाल्न आएकी यी बृद्ध मतदाताप्रति धेरैले सहानुभूति देखाएका छन् । एक प्रयोगकर्ताले लेखे, ‘पाप लाग्छ नेताहरूलाई, जितेर पनि जनताको मर्म बमोजिम काम नगरे।’
अर्की प्रयोगकर्ताले लेखेकी छिन्, ‘विचरी आमा, यस्तो अवस्थामा पनि यिनी नेतालाई जिताउन यस्तो दुःख गर्नुभएको छ ।’ धेरैले नेतालाई गाली गरेका छन् र कष्ट झेलेरै भए पनि मतदान गर्नेप्रति सहानुभूति पोखेका छन् ।
‘आमाको लागि ह्वीलचियरको व्यवस्था गर्नुपर्ने । सबै हाँसेर बसिरहेका छन् । हाम्रो देश र समाज कता गइरहेको छ ?, ‘ एक प्रयोगकर्ताले प्रश्न गरेका छन् ।
‘यिनको मतको अपमान गर्ने नेता नेता हुनेछैन । यिनको मतको सम्मान गरी जनताको समस्यामा मलमपट्टी लगाउनेछन् विजयी भएका नेताहरूले ।’ एक प्रयोगकर्ताले लेखेका छन् ।
यसरी भोट दिएको सही मूल्यांकन होस्, डिजिटल भोटिङ लागू गर, यस्तो बहुमूल्य भोटको कदर गर्लान् ? भन्दै थुप्रैले ती मतदाताप्रति सहानुभूति राख्दै नेतालाई भोटको मूल्य बुझ्न सावधान गराएका छन् ।
स्रोत : गोवीन सहयात्रीको फेसबुकबाट
प्रतिक्रिया 4